प्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान


काठमाडौं ।

प्रधान सेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका उपरथी निर्मल कुमार थापालाई आज (मंगलबार) रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

पदोन्नतिसँगै रथी थापा बलाध्यक्ष विभागमा नियुक्त भएका छन् । हाल उनी युनाइटेड नेशन्स डिसेन्गेजमेन्ट अब्जर्भर फोर्स मिशन प्रमुख र फोर्स कमाण्डरको रुपमा कार्यरत छन् । उनी नेपाल सरकार, मन्त्री परिषद्को मिति २०८० माघ २५ गतेको निर्णय बमोजिम पदोन्नति भएका हुन् ।

रथी थापा वि.सं.२०४३ फाल्गुण ०३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी वि.सं. २०४५ जेठ १९मा  नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका हुन् ।

रथी थापाले अनाश्रित गुल्मपति, पदिक गणको गणपति, बाहिनीपति र पृतनापतिका साथै, पि.एस.ओज्.सचिव, सैनिक सचिव, युद्धकार्य विभागको विभागीय प्रमुख, सैनिक इन्टेलिजेन्स महानिर्देशक एवं राष्ट्रिय सुरक्षा परिषद्को सह-संयोजकको जिम्मेवारी सम्हालेका थिए ।

अमेरिका, मलेसिया र रसियामा सञ्चालन भएका विभिन्न तालिम तथा सेमिनारहरूमा सहभागी भएका रथी थापाले बङ्गलादेशबाट NDC तालिम सम्पन्न गरेका छन् । यस्तै, युगोस्लाभिया, इथियोपिया र इरिट्रिया, लेवनन तथा कंगोमा शान्ति सेनामा सहभागी भएका छन् । दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै परिवारजनको उपस्थिति थियो ।