जंगलमा धराप थाप्ने तीन जना पक्राउ

518
Shares

धनगढी ।

कैलालीको घोडाघोडी नगरपालिकाको जङ्गलमा विद्युतीय धराप थाप्ने तीन जना सोमबार पक्राउ परेका छन्।

पक्राउ पर्नेमा घोडाघोडी-४ बस्ने ४९ वर्षीय जितबहादुर चौधरी, वर्ष ३८ का सुधराम चौधरी र पालिकाको वडा नम्बर ५ बस्ने ४० वर्षीय राजकुमार चौधरी रहेका छन्।

उनीहरूले जंगली जनावरको सिकार गर्न गत माघ १० गते स्थानीय तुलसीपुर सामुदायिक वनमा थापेको धरापमा परि घोडाघोडी-१० का धनबहादुर शाहीको ज्यान गएको थियो भने मोहन्याल गाउँपालिका-३ का दुर्गा खत्री घाइते भएका थिए। घटनामा संलग्न घोडाघोडी-४ का मनीराम चौधरीलाई सुखड प्रहरीले यस अघि नै पक्राउ गरेको थियो।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको बताएका छन्।