५४२ किलो गाँजासहित २ जना पक्राउ, २ ट्रक प्रहरीको नियन्त्रणमा

4.2k
Shares

चितवन  ।

 चितवनमा ५४२ किलो गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिँदै दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा ना ३ ख ७२४० नं. डिब्बा ट्रक चालक धनकुटा छथर जोरपाटे गाउँपालिका वडा नं. ३ बस्ने ३२ वर्षीय  रमेशनाथ दाहाल र ना ३ ख ६१२२ नं. को ट्रकमा सवार कपिलवस्तु बुद्धभुमी नगरपालिका वडा नं. ४ बस्ने २५ वर्षीय  खुशिराम थारु रहेका छन् ।

  इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक श्याममणी पोखरेलको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाँदा सोमबार बिहान ८ बजे राप्ती नगरपालिका वडा नं. ३ झुरझुरे स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डको छेउमा ना ३ ख ६१२२ नं. को ट्रक र ना ३ ख ७२४० नं. डिब्बा ट्रक सामान पल्टी गरी शंकास्पद अवस्थामा रोकी राखेकोले उक्त दुईवटा ट्रकलाई चेकजाँच गर्ने क्रममा ना ३ ख ७२४० नं. डिब्बा ट्रकमा लुकाई छिपाई राखेको अवस्थामा ३९ वटा पोकामा ५४२ किलो लागुऔषध गाँजा फेला परेको र प्रारम्भिक अनुसन्धान गर्दा सो गाँजा धादिङको मलेखुबाट ना ३ ख ६१२२ नं. को ट्रकमा लोड गरी उक्त स्थानमा ल्याई ना ३ ख ७२४० नं. डिब्बा ट्रकमा पल्टी गरेको जिल्ला प्रहरी कार्यालय चितवले जनाएको छ ।