‘शान्ति प्रयास’ को चौथो संस्करण सञ्चालनको तयारी पूरा   

532
Shares

काठमाडौँ। 

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरुमा सहभागी हुने फौजको पेसागत दक्षता, आपसी समन्वयात्मक क्षमता अभिवृद्धि तथा(  टीसीसीएस) बिच अन्तरक्रियाशीलता सुनिश्चित गर्ने उद्देश्यले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा यही फागुन ८ गतेबाट २१ गतेसम्म सञ्चालन हुने अभ्यास शान्ति प्रयासको चौथो संस्करण सञ्चालनको तयारी पूरा भएको छ ।

संयुक्त राज्य अमेरिकी सरकारको ग्लोबल पीस अपरेशन इनिसिएटिभको सहयोग एवं नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको सहकार्यमा अभ्यास सञ्चालन हुन लागेको हो ।

नेपालमा सन् २००० मा पहिलो पटक अभ्यास शान्ति प्रयास सञ्चालन भएको थियो । यस्तै, सन् २०१३ र सन् २०१७ मा यस अभ्यासका दोस्रो तथा तेस्रो संस्करण सञ्चालन भई सकेका सेनाले जनाएको छ।

फाल्गुण ०८ गतेबाट सञ्चालन हुन लागेको अभ्यास शान्ति प्रयासमा नेपालसहित १९ राष्ट्रका सैनिकहरूको सहभागिता रहने छ । जस अन्तरगत (एफटीइ)  मा नेपाली सेनाका दुई तथा अन्यदेशका १० गरी जम्मा १२ प्लाटुनका ६८९ जना, कर्मचारी तालिम कार्यक्रम (एसटीइ) मा नेपाली सेनाका ३१ र विदेशी सेनाका ७९ गरी जम्मा ११० जना र क्रिटिकल एनेबलर र क्षमता वृद्धिमा नेपाली सेनाका २६९ र विदेशी सेनाका ५७ गरी जम्मा ३२६ जना गरी कुल ११२५ जना सहभागी हुनेछन् ।

यस प्रकारको अभ्यासबाट शान्ति स्थापना कार्यमा देखा परेका चुनौतीहरूको बारेमा सहभागी राष्ट्रका सैनिकहरु अवगत हुनुको साथै ती चुनौतीहरु सामना गर्न आवश्यक क्षमता एवं समान व्यवसायिक कार्यशैली विकास गर्न मद्दत पुग्ने विश्वास नेपाली सेनाले  लिइएको छ ।