पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

1.1k
Shares

काठमाडौँ।

पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन खैरेनी नगरपालिका-२ घर भई हाल भक्तपुरको सुर्यविनायक नगरपालिका- २ बालकोट बस्ने २६ वर्षीय समीर कुमार कर्ण रहेका छन् ।

कर्णले सम्पूर्ण तामाङलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु, त्यसको लागि १६ लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा प्याकिङकाे काम लगाइदिन्छु जहाँ मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी पटक पटक गरी ८ लाख ३० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनको खोजतलास गर्ने क्रममा शुक्रबार बानेश्चर पानीट्याङकीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।