नेपालमा महिलाको राजनीतिक सहभागिता युरोपको भन्दा राम्राे : शंकर पोखरेल 

98
Shares

काठमाडौँ ।

 नेकपा एमालेका महासचिव शंकर पोखरेलले महिला र पुरुषलाई समान हैसियतमा पुर्‍याउन आवश्यक रहेको बताएका छन् ।
विश्व सामाजिक फोरम : विश्व महिला सम्मेलनको सन्दर्भमा अखिल नेपाल महिला संघले आइतबार आयोजना गरेको उत्प्रेरित राजनीति : महिला प्रतिनिधि विषयक कार्यक्रमलाई राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै पोखरेलले राजनीतिक सहभागिताले मात्र महिलाको सामाजिक स्तर माथि उठ्न नसक्ने बताए ।

राजनीतिक सहभागिताको हिसाबले नेपालका महिला सहभागिता युरोपको भन्दा माथि उठेको भए पनि आर्थिक, सामाजिक क्षेत्रमा त्यो विकास हुन नसकेको उनले बताए । ‘नेपालको परिप्रेक्षमा हामीले, आर्थिक सामाजिक मुद्दालाई अझ प्राथमिकताका साथ, महत्वका साथ उठाउन आवश्यक छ’, उनले भने ।
नेपालको मौलिक परम्परागत संस्कृतिमा जातिभेद र लिङ्ग भेद नभएको उनले बताए । तर जब ब्रह्मा, विष्णु, महेश्वरको नाममा पूजा गर्ने पितृ सत्ता सुरु भयो तब महिलाहरू माथि विभेद भएको उनको भनाइ छ ।

अहिले पनि हिन्दु महिलाहरूको तिनै कुरामा आशक्ति भएको पोखरेलले बताए । ‘जुन संस्कृतिले महिलालाई पछाडि पार्‍यो त्यो संस्कृति प्रतिको आशक्तता जबसम्म रहन्छ, सांस्कृतिक रूपमा महिला परिवर्तनको प्रक्रिया कमजोर हुन्छ’, उनले भने ।

नेपालको महिला आन्दोलनले जबसम्म यो आशक्ति बदल्न सक्दैन सामाजिक र सांस्कृतिक रूपमा महिलाको अवस्था कमजोर हुने पोखरेलको भनाइ छ । ‘हाम्रो धरातलको कमजोरी के हो भन्ने कुरा हामीले बुझ्नु पर्दछ’, उनले भने ।

नयाँ विश्वको परिकल्पना गर्दा धनी राष्ट्रका पक्षको विश्व व्यवस्था मानव अधिकार मैत्री नरहेको उनले बताए । मानव अधिकार संस्थाहरू नै धनी राष्ट्रकाे छाया बन्दै गएका पोखरेलको भनाइ छ ।

पोखरेलले प्रविधि र विज्ञानको विकास सँगसँगै धनी र गरिब बिचको खाडल झन् झनै बढ्दै गएको बताए । त्यसलाई बदल्न कस्तो नीति अपनाइन्छ भन्ने कुरा प्रमुख विषय भएको पोखरेलको भनाइ छ । नयाँ विश्व निर्माणको लागि बलियो राजनीतिक आन्दोलन आवश्यक रहेको पोखरेलले प्रस्ट पारे ।