जलवायु परिवर्तनको असर : माघमै फुल्यो लालीगुराँस

168
Shares

मुगु। 

मुगुसहित कर्णालीका हिमाली तथा उच्च पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुलेका छन् । केही वर्ष पहिले चैतपछि मात्र फुल्ने लालीगुराँस माघमै फुलेको छ । गुराँस फुल्ने मौसम फागुन अन्तिमदेखि चैत, वैशाख भए पनि माघ पहिलो सातादेखि वनभरि ढकमक्क फुलेपछि स्थानीय अचम्मित भएका छन् ।

पहिले पहिले चैत वैशाखमा फुल्ने गुराँस पछिल्ला केही वर्ष यता माघमै फुल्ने गरेको सोरु गाउँ पालिका– ९ का स्थानीय टेकबहादुर शाहीले बताए ।


गुराँस जस्तै अन्य बोटबिरुवामा पनि दुई महिना अगावै नयाँ पालुवा लाग्न थालेको स्थानीयहरु बताउँछन् । चैतमा फुल्ने स्याउ पुसमा नै फुलेका र स–साना दानासमेत लागेकाले जलवायु परिवर्तनको असर भएको स्थानीयहरुको भनाइ छ । यस वर्ष हिमपात पनि समयमै परेको छैन ।

पहिलाका वर्षहरुमा मंसिर पुसमा हिमपात हुने गरेको भए पनि यो वर्ष छिटफुट हिमपात भए पनि खासै हिमपात भएको छैन । जलवायु परिर्वतनसँगै तराइमा हुने लामखुट्टे यतिबेला हिमालतिर देखिन थालेकाले यसको बारेमा अध्ययन गर्नु आवश्यक रहेको स्थानीयको भनाइ छ ।