वसन्त पञ्चमीलाई सकारात्मकता भर्ने तिथिका रूपमा मनाऔँ: उपराष्ट्रपति

140
Shares

काठमाडौं ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले वसन्त श्रवण र सरस्वती पूजाले सिङ्गो मानव जीवनमा सधैँ ऊर्जाशील र नयाँ खोज गर्न प्रेरित गर्न सकोस् भनी कामना गरेका छन्।

वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस दिनले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाई देशलाई समृद्धितर्फ उन्मुख गराउन सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना गरेका हुन्।

उपराष्ट्रपति यादवले सन्देशमा देशमा सामाजिक तथा धार्मिक एकता एवं सहिष्णुता, परस्पर विश्वास, सहयोग, मैत्रीभाव, मेलमिलाप, आदर, सम्मान र सद्भाव कायम गर्दै मुलुकलाई एकताको सूत्रमा बाँध्दै लगेको उल्लेख गरेका छन्।

वसन्त पञ्चमीलाई सबै पुण्य कार्यका लागि शुभ मानिने जनाउँदै उनले यस शुभ अवसरलाई सबैले आ–आफ्नो नकारात्मक सोच र मानसिकता परित्याग गर्दै आफूभित्र सकारात्मकता भर्ने महत्वपूर्ण तिथिका रुपमा मनाउन सक्नुपर्ने बताएका छन्।