एमाले रौतहट अध्यक्षमा साह निर्वाचित

252
Shares

काठमाडौं ।

नयाँ नेतृत्वको लागि भएको नेकपा एमाले रौतहटको अधिवेशनबाट अध्यक्षमा सचिदानन्द साह निर्वाचित भएका छन्। साह १९३ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी अखिलेश्वर चौधरी १७५ मत पाए। यस्तै उपाध्यक्ष पदमा रुपेश कुमार पटेल निर्वाचित भएका छन्। उपाध्यक्ष पदमा ६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

पटेलका निकटतम प्रतिद्वन्द्वी सुरेश राई यादवले ८९ मत ल्याएर पराजित भए। मनिलाल सहनीले ४४, चन्दन कुमार कुशवाहाले ३७, उपेन्द्र राई यादवले ३१, राम अशिष साह तेलीले १२ मत प्राप्त गरे। यस्तै सचिव पदमा बाबुराम दाहाल निर्वाचित भएका छन्। दाहाल २०२ मत ल्याएर सचिव पदमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी शिवप्रसाद आचार्य १४७ मत ल्याए। यस्तै उपसचिव पदमा अवधेशकुमार यादव निर्वाचित भएका छन्। उपसचिव पदमा पाँच जनाको उम्मेदवारी रहेको थियो।

यादव १२९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी अशोक कुमार पहाडीले ७५ मत प्राप्त गरे। फेजल अहमद ६८ मत, कमलेश कुमार मिश्र ३७ मत र सोविन्द्र चौधरी ३३ मत मात्र ल्याए।

एमाले रौतहटको दसौँ जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको हो।

सोमबार पार्टी कार्यालय गरुडामा बिहान १० बजेबाट दिउँसो २ बजेसम्म मतदान भएको थियो। निर्वाचनमा कुल ४ सय २६ मतदाता मध्ये ३९१ मत मात्र खसेको थियो।