बालिका छोरीसँग एउटै कोठामा भेटेपछि हत्या

56.5k
Shares

दोलखा ।

झन्डै डेढ महिनाअघि मृत फेला परेका दोलखा शैलुङ गाउँपालिका–४ मागापौवाका १८ वर्षीय युवकको हत्या मृतकको प्रेमिकाको परिवारले गरेको खुलेको छ।

गाउँकै एउटा मेलामा चिनजान भएको १६ वर्षीय दलित बालिकासँग मृतक १८ वर्षीय भीष्म भण्डारीको प्रेम सम्बन्ध बनेको थियो।

भण्डारीलाई आफ्नो छोरीसँग एउटै कोठामा भेटेपछि बालिकाको बुबा पुष्कर नेपाली, काका ईश्वर दर्जी र नेपाली सेनामा कार्यरत दाजु विशाल नेपालीले धारिलो हतियार प्रहार गरी बीभत्स हत्या गरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताउनुभयो ।

गत पुस ११ गते हत्या गरिएको मृतक भीष्म भण्डारीको बीभत्स शव पुस १६ गते भेटिएको थियो । मृतकको टाउको छुट्टाइएको, नाक काटेको, औंला छिनेको अवस्थामा शव फेला परेको थियो।

पुस १६ गते शव भेटिएपछि दोलखा प्रहरीले वागमती प्रदेश प्रहरी र सीआईबीको समेत सहयोगमा अनुसन्धान शुरू गरेको थियो। सो क्रममा माघको पहिलो साता बालिकाको बुबा, काका, दाजुलगायतलाई पक्राउ गरी सोधपुछ गरेको थियो ।

भीष्म भण्डारीलाई बालिका छोरीसँग एउटै कोठामा भेटेपछि बुबालगायतले उनलाई घरबाट निकालेर छोरीलाई घरभित्रै चुक्कुल लगाई थुनेका थिए।

सो क्रममा मृतक भण्डारीले प्रेमिकाको बुबा पुष्कर र काका ईश्वरसँग विवाद गरेपछि काका ईश्वरले घरबाट धारिलो हतियार ल्याई भीष्ममाथि प्रहार गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

धारिलो हतियारको प्रहारबाट घाइते भएका भीष्मलाई केही पर धारामा लगेर बालिकाका बुबा पुष्कर र ईश्वरले टाउको गिँडेका थिए।

त्यसरी भण्डारीको बीभत्स हत्या गरेपछि बालिकाका बुबा र काकाले बालिकाको दाजु विशालको समेत सहयोगमा शव नजिकको बजिनीको खोल्सामा फालिदिएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो।

टाउको गिँडेपछि बालिकाका बुबा पुष्करले मृतकको शरीर बोकेको र काका ईश्वरले टाउको बोकेर विशालसमेतको सहयोगमा बजिनीको खोल्सामा लगेर फालेका थिए।

आइतबार दोलखा प्रहरीले हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरेको छ। उनीहरूलाई सोमबार अदालतमा पेस गर्ने तयारी रहेको प्रहरीले जनाएको छ।