आलमको मुद्दामा साक्षी झिकाउने आदेश

1.2k
Shares

रौतहट ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमलगायतका विरुद्ध दायर मुद्दामा बकपत्रका लागि सरकारी साक्षी झिकाउने आदेश भएको छ।

जिल्ला अदालत गौरका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले सरकारी साक्षी राजीवबहादुर बस्नेत, रामबहादुर प्रसाद, इन्द्र सुवेदी, उदयनारायण साह, गेनालाल साह कानु, असगर अलि खा, सराजुल मियालगायतका सरकारी साक्षी झिकाउने आदेश भएको हो।

साथै जाहेरवाला शंकर भनिने गौरीशंकर रामको फोरेन्सिक मेडिसिन विभाग महाराजगन्जबाट शारीरिक परीक्षण प्रतिवेदन मगाउने आदेश भएको हो।

चार वर्ष पुरानो मुद्दाको अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकिएपछि फैसला हुने अपेक्षा गरिए पनि अदालतले अन्ततः सरकारी साक्षी झिकाउने आदेश गरेको हो।

नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलम उनका भाइ मोहम्मद महफताब आलमसहितलाई जिल्ला अदालत गौरमा २०७६ कात्तिक १८ गते विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसुरको मुद्दाको पटकपटक पेशी तोकिए पनि फैसला हुन सकेको छैन।

गत कात्तिक २२ गते न्यायाधीश बाबुकाजी बानियाँको इजलासले बहस नोट माग गर्ने आदेश माग गरेपछि मंसिर २४ गतेभित्रै वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस नोट बुझाएपछि आइतबार पेशी तोकिएको थियो।

२०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा साविक राजपुर फरहदवा गाविस वडानम्बर ४ मा रहेको नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका मोहमद अफताब आलमको काका शेख इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते भएका पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप आलममाथि लगाइएको छ।