जाजरकोट ।
गत कात्तिक १७ गते राति गएको भूकम्पका कारण क्षति पुगेको जाजरकोट भेरी नगरपालिका २ पोख्राका बासिन्दालाई जाडोबाट जोगिन न्यानो डस्ना, व्याल्केट, सिरानी सहितका सामान प्रारम्भ नेपाल नामक सामाजिक संस्थाले हस्तान्तरण गरेको छ।
स्थानीय भेरि नगरपालिका वडा २ का बासिन्दालाई सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि तथा प्रारम्भ नेपालका अध्यक्ष कल्पना क्षेत्री, नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिना, जाजरकोट पत्रकार महासङ्घका पूर्व अध्यक्ष जनक केसी, स्थानीय जनप्रतिनिधिहरूले न्यानो सिरक, डस्ना, सिरानी हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष क्षेत्रीले भने, ‘जाजरकोट पुग्दा हामीले सोच्नै नसकेको समस्या देखियो। स्थानीय बासिन्दाहरूको आँखामा देखिएको खुशीको आँसु देख्दा सही व्यक्ति र स्थान छनोट भएछ। २ नं वडाका ३ सय ५० घरपरिवारका साथै जेष्ठ नागरिक, सुत्केरी, अपाङ्गता भएका व्यक्तिहरूको खुशीको सिमानै थिएन।’
यहाँका बासिन्दाको पिडा देखेर सुत्केरी, अपाङ्गता भएका केही व्यक्तिलाई व्यक्तिगत रूपमै आर्थिक सहयोग समेत गरेको उनले बताए।
नेपालगंजबाट पश्चिममा अवस्थित जाजरकोटमा भूकम्प गएको ३ महिना पुरा भइसक्दा पनि यहाँका बासिन्दामा त्रास कायमै छ र घरवास भूकम्पले क्षति पुगेका व्यक्तिहरू अहिले पनि खुल्ला आकाश मुनी बस्न बाध्य छन्।
कतिपयले पाल मुनी बसेर जीवन बिताइरहेका छन्। भूकम्पले भत्काएको घरहरूको भग्नावशेष अझै जस्ताको तस्तै देख्न सकिन्छ। नेपाल सरकारको ध्यान जाजरकोटमा समयमै केन्द्रित होस भन्ने स्थानीय बासिन्दाहरूको भनाई छ।
जाजरकोटमा नेपालस्थित अमेरिकी राजदूत डिना आर थोमसनले समेत जाजरकोट भिजिटगरि यहाँको अवस्थाको अवलोकन गरेर गत हप्ता मात्र फर्किएको स्थानीय बासिन्दाहरू बताउँछन्।



विभिन्न सहयोगी संस्थाहरूको सहयोग प्राप्त भएपनि स्थायी रूपमा गाँस, बासको व्यवस्था, स्वास्थ्य सेवा भने अझै पर्याप्त नभएको स्थानीय वीर बहादुर बिक बताउँछन्।
सन् २०१२ मा सामाजिक कामकै लागि स्थापना भएको संस्थाले २०७२ को भूकम्पदेखि, बाढी-पहिरो, कोभिड १९ लगायत विभिन्न दैवी प्रकोपका बेला नागरिकको बास, गाँस, कपास, स्वास्थ्य, शिक्षा लगायतको समस्यामा साथ सहयोग गर्दै आएको प्रारम्भ नेपालले जाजरकोटमा गएको भूकम्प पीडितको पिडामा साथ दिँदै न्यानो ओछ्यान, व्याल्केट, सिरानी लगायतका सामग्री उपलब्ध गराएको अध्यक्ष क्षेत्रीले जानकारी गराए। जाजरकोटका ४ सय भन्दा भन्दा बढी परिवारलाई उक्त सामग्री उपलब्ध गराएको उनले जानकारी दिए।
स्थानिय सिता शाह भन्छिन् : भुकम्पको बेला भाग्दा भाग्दै कान्छी छोरीको पेटमा चोट लाग्यो काठमाडौंमा लगेर उपचार गरेर भर्खर घर ल्याएकोछु । घरमा गर्ने मान्छे कोही छैन्। श्रीमान बित्नुभएको एक बर्ष भयो। कान्छो छोराको पनि भुकम्पमा भादा भाग्दै लडेर हात भाच्चियो । घर चर्केकोछ त्यसमै बसेका छौ । बालबालिकालाई रेखदेख, पालनपोषण सबै आफैले गर्नुपर्छ।
त्यस्तै ८० बर्षिया जैसरा शाह भन्नुहुन्छः १२ बर्ष अघि कतार गएको छोरा उतै बित्यो । कान्छो छोराको छोरा ८ कक्षामा पढ्छ। बुहारी अर्को विवाह गरेर गईन । ६ वटी छोरीहरुको विवाह भैसक्यो । जेठो र माईलो छोरा भिन्नै बस्छन् । भुकम्प जाँदा जेठो छोराको घरमा थिए । दुई महिना सम्म भागेर घर बाहिरै पालमा बस्यौ । चिसो बढ्यो बाच्नका लागि फेरि त्यहि चर्केको घरभित्र बस्न थाल्यौ । यो संस्थाले मात्र प्रत्येक घरलाई पुग्नेगरी न्यानो ओढ्ने ओछ्याउँने दिएकोमा मुरी मुरी धन्यवाद दिन्छौं।’
भेरी नगरपालिका वडा नं २ स्थित पोख्रा र आसपासमा त्यस्तो समस्या कम भएपनि दलित, जनजाति लगायएको बाहुल्यता भएको स्थानमा जिविकोपार्जनमा समेत निकै समस्या रहेको छ।
‘पहिला पहिला केही संस्थाहरुले राहत ल्याउँदा साँझमा, राति ल्याएर केही व्यक्तिलाई दिने, कोही सुत्केरीका लागि भन्दै आउँने, कोही अपागंता भएका व्यक्तिलाई मात्र भन्दै आउँथे। प्रारम्भ नेपालले प्रत्येक घरलाई पुग्ने गरि जाजरकोट भुकम्प प्रभावितका लागि न्यानो राहत बितरण गर्दा ठूलो राहत पुग्यो’ जनता प्रा.विका शिक्षिका माया मगरले बताइन् ।














प्रतिक्रिया