अग्रअनुहार प्रकाशन गरी पत्रकार महासंघलाई थप विवादित नबनाउन माग

602
Shares

काठमाडौं ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) २००८ साल जेठमा नेपाल पत्रकार संघ स्थापना गरी त्यसको नेतृत्व गर्नुहुने स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठको जीवनी र भूमिकालाई समावेश नगरी ‘अग्र अनुहार’ पुस्तक प्रकाशन गर्ने निर्णयप्रति आपत्ति प्रकट गरेको छ ।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति काठमाडौंले महासंघका अध्यक्षहरुको जीवनी समेटिएर आईतबार पुस्तक लोकार्पण गर्न लागेको सन्दर्भमा फोनिजले शनिबार राति एक विज्ञप्ती प्रकाशित गरी सो आपत्ति प्रकट गरेको हो । सो पुस्तकले नेपालका पत्रकारहरुलाई पहिलो पटक संगठित गर्ने स्वर्गीय श्रेष्ठको इतिहास र भूमिकालाई नामेट पार्न खोजेको फोनिजको जिकिर रहेको छ । सो पुस्तक प्रकाशन हुँदा पत्रकार महासङ्घको इतिहास र गरिमामा गम्भीर प्रश्न उठ्ने उल्लेख गर्दै विज्ञप्तीमा प्रतिष्ठान प्रदेशको सो प्रकाशन तत्काल रोक्न माग गरिएको छ ।

फोृनिजका महासचिव मिलन लिम्बुद्वारा हस्ताक्षरित विज्ञप्तीमा इतिहासलाई नामेट पारेर नेपाल पत्रकार महासङ्घ नेपाली पत्रकारहरुको साझा र नेतृत्व संस्था नहुने जिकिर पनि गरिएको छ । देशभरका आदिवासी जनजातिहरुको एक मात्र साझा र प्रतिनिनिधिमूलक संगठन फोनिजले सो विषयमा नेपाल पत्रकार महासङ्घलाई पटक पटक अवगत गराइसक्दा पनि महासङ्घले स्थापना दिन र संस्थापक सम्बन्धी तथ्यलाई नजरअन्दाज गर्दै आएको छ ।

‘महासङ्घको सबै संरचनाहरुमार्फत इतिहास सच्याउन र आगामी दिनमा संस्थापकको विषय टुङ्गो नलागेसम्म यस सम्बन्धि कुनै पनि गतिविधि नगर्न आग्रह गरेको थियो । तर, सोही गलत तथ्यलाई नै स्थापित गर्ने गलत मनसायका साथ पुस्तक प्रकाशन गर्ने लगायतका गतिविधि अगाडि बढाएकोमा फोनिजको गम्भीर ध्यानाकर्षण भएको छ । ’ विज्ञप्तीमा भनिएको छ ।

‘ संस्थापक अध्यक्षको विषय यथाशीघ्र टुङ्गो लगाई गलत इतिहास सच्याइयोस् । यदि, अब पनि गलत इतिहासलाई नै प्रश्रय दिने कार्य भएमा फोनिज महासङ्घको यस्तो गलत दुस्साहसविरुद्ध देशव्यापी आन्दोलनमा जान वाध्य हुनेछ । विज्ञप्तीमा भनिएको ।

यसैबीच नेवाः पत्रकार राष्ट्रिय दबूले पनि पत्रकार महासंघको स्थापनाको विवादको छिनोफानो नभएसम्म पुस्तक प्रकाशन गर्न कार्य तत्काल रोक्न माग गरेको । पत्रकार राष्ट्रिय दबूकातर्फबाट सचिव राजु नापितद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘ पुस्तकले विगतको इतिहासलाई सच्याउनुको साटो विगतकै गल्ती पुनरावृत गर्न खोजेको देखिन्छ । गल्ती शुरूमा गर्ने भन्दा त्यसलाई दोह¥याउने झन् मुर्खता हुनेछ । के महासंघ सम्बद्व पक्ष भोलिको कदमलाई मूर्खता साबित गराउन खोजेको हो ? के महासंघ ईतिहासको तथ्यलाई स्वीकार गर्न नचाहेको हो ? पत्रकार महासंघलाई पत्रकारको संगठन बनाउन नचाहेको हो ? यहि प्रश्नका साथ गलत तथ्यलाई नै निरन्तरता दिने महासङ्घको कदमप्रति नेवाः पत्रकार राष्ट्रिय दबूको गम्भीर ध्यानाकर्षण भएको छ ।’