राष्ट्रपति पौडेलद्धारा नातिकाजी सम्मान र पुरस्कार प्रदान



काठमाडौं ।

संगीत महर्षि नातिकाजीको ९९औं जन्मजयन्तीको अवसर पारेर गत पुस ३ गते उनको नाममा घोषणा गरिएको पुरस्कार तथा सम्मान सोमबार प्रदान गरिएको छ।

नातिकाजी स्मृति समाजले सोमबार महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा एक समारोह आयोजना गरी राष्ट्रपति रामचन्द्र पौडेलबाट संगीत साधक नातिकाजीको नाममा स्थापित विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरेका हुन्।

सो अवसरमा २०७९ सालका लागि नेपाली गीत–संगीत तथा पत्रकारिताको क्षेत्रबाट योगदान पुर्‍याउने संगीतकर्मी र पत्रकारलाई विभिन्न सम्मान र पुरस्कार प्रदान गरिएको हो।

गीत–संगीत प्रस्तुतिका साथ सञ्चारकर्मी, अभिनेता तथा फिल्म निर्देशक दिनेश डिसीद्वारा सञ्चालित कार्यक्रममा यस वर्षको नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान गीतकार आनन्द अधिकारी, सुनील थापा, भूषण खरेल, राम भट्टराई र वसन्त वित्यासी थापा, वाद्यवादक केशव सुनाम, कुमार सिंह र सुवर्ण लिम्बू, परम्परागत संगीतकार धर्म मुनिकार र गायक सुदेश शर्मालाई प्रदान गरियो।

त्यसैगरी, नातिकाजी राष्ट्रिय संगीत पुरस्कारबाट गीतकार विजय शिवाकोटी, गायक शिशिर योगी र गायिका बानिका प्रधान तथा संगीतकार राजनराज शिवाकोटी पुरस्कृत भए।

त्यस्तै, नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कारबाट गायक सञ्जय तुम्रोक, गायिका रचना रिमाल, संगीतकार शशी विक्रम थापा र रेकर्डिस्ट प्रकाश मिश्र पुरस्कृत भएका छन् भने नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार लोकगायक अमृत खातीलाई प्रदान गरिएको छ।

त्यसैगरी, नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय शान्तिप्रिय र कृष्ण भट्टराईलाई पुरस्कृत गरिएको छ। सबै सम्मान र पुरस्कारको राशी जनही ११ हजार एक सय ११ रुपियाँ रहेको थियो।

संस्कृतिविद् एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले नातिकाजीको संगीत रहेको गीत प्रस्तुत गर्ने गायक–गायिकालाई धन्यवाद दिँदै संगीत जगत्मा नातिकाजीको योगदानको चर्चा गरे।

‘स्रष्टा तथा कलाकारको योगदानले राष्ट्रको पहिचान बन्छ। संगीतको इतिहासमा अग्रणी व्यक्ति नातिकाजीको अतुलनीय योगदान रहेको छ। उहाँको गीत संगीतको उच्च मूल्यांकन नेपाली जनताले गर्दै आएका छन् भने राज्यको तर्फबाट पनि उचित मूल्यांकन गर्दै जानुपर्छ र स्रष्टाहरूलाई सम्मानित र पुरस्कृत गर्दै जानुपर्छ’ कार्यक्रममा राष्ट्रपति पौडेलले भने ‘नेपाल भौगोलिक र सांस्कृतिक विधिततामा विश्वकै नमुना देश हो। हाम्रो लोक गीत संग प्रसिद्ध छन्। यसको विकास विस्तार, संरक्षण र प्रर्वद्धन गर्दैै जानुपर्छ। कलाकारको सिर्जनाले राष्ट्रको पहिचान निर्माण गरेको हुन्छ। कलाकर्मीलाई सम्माननित र पुरस्कृत गर्ने नातिकाजी स्मृति समाजको काम प्रशंसनीय र प्रेरणादायी छ।’

समारोहमा सम्मानित व्यक्तिको तर्फबाट बोल्दै गीतकार आनन्द अधिकारीले नेपाली गीत संगीतको थालनीको क्रममा माटो सुहाउँदो संगीत सिर्जनामार्फत नेपाललाई बाह्य संगीतको प्रभावबाट रोकी नातिकाजीले संगीतका माध्यमबाट नेपालीलाई जोडेको चर्चा गरे।

समारोहमा बोल्दै कार्यक्रमका सभापति, नातिकाजी स्मृति समाजका अध्यक्ष तथा लोकप्रिय संगीकार, गीतकार तथा गायक शम्भुजित बासकोटाले संगीत क्षेत्रको विकास र स्रष्टाको सम्मानमा राज्यको ध्यान जान जरुरी रहेको बताए।

‘राष्ट्रपतिज्यूबाट स्रष्टा र सर्जकको विषयमा बेला–बेलामा चासो राख्दै आएको पाइन्छ। उहाँबाट कलाकारलाई हौसला प्राप्त भइरहने गरेको छ।

हाल नातिकाजीको नाममा प्रदान गरिने सम्मान उहाँको पारिवारिक तर्फबाट प्रदान गरिँदै आएको छ। तर, अब उहा“को नाममा राज्य स्तरबाटै पुरस्कार गठन हुनेछ भन्ने आशा र त्यसको लागि सार्थक प्रयासको लागि अनुरोध गर्दछु’ बासकोटाले भने। बास्कोटाले स्रष्टाले रोयल्टी नपाएकोले त्यसको लागि उचित व्यवस्था गर्र्नुपर्ने पनि बताए।

‘‘हामीले वर्षैपिच्छे स्रष्टालाई गुमाइरहेका हुन्छौं। अस्ति मात्र योगश वैद्यलाई गुमायौँ। स्रष्टाको कामहरू सरकारबाट संरक्षित होस् र सहज रूपमा रोयल्टी प्राप्त हुने व्यवस्था होस्’ उनले भने।

समारोहको सुरुवातमा गायक सञ्जय तुम्रोकले नातिकाजीको संगीत रहेको नेपाली हामी रहौंला कँहा नेपालै नरहे, शिशिर योगीले आज र राती के देखेँ सपना, सुदेश शर्माले सपना भुलाई सारा, गायिका बानिका प्रधानले उकाली ओरालीहरूमा र गायिका रचना रिमालले फूलको थुँगा बहेर गयो बोलको गीत प्रस्तुत गरेका थिए।

आफ्नो स्वरमा लगभग दुई सय जति गीत रेकर्ड गराएका नातिकाजी २०१६/०१७ सालपछि गाउन छाडेर संगीत सिर्जनातर्फ मात्र केन्द्रित भएका थिए।

नेपाली संगीतका लागि स्वर्णिम युग मानिएको २०२० सालदेखि २०४० सम्मको समयका महत्वपूर्ण धरोहर रहेका नातिकाजीले आधुनिक, फिल्मी, नेवारी, राष्ट्रिय, लोक, भजन गरी सबै विधाका गीतमा संगीत भरेका छन्।

२२ वटा जति गीति नाटकका लागि संगीत सिर्जना गरेका नातिकाजीका करिब चार हजार गीतमा संगीत दिएका छन्। नातिकाजीको २०६० साल कार्तिक १६ गते ७७ वर्षको उमेरमा निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्