चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक कारवाहीबाट ७९ करोड ७२ लाख रूपैयाँ राजश्व संकलन

224
Shares

काठमाडौं

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म देशभर ट्राफिक कारवाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ रूपैयाँ राजश्व संकलन भएको छ । सो अवधिमा १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरूलाई कारवाही गरी उक्त राजश्व संकलन गरिएको हो ।

उक्त राजश्वमध्ये काठमाडौं उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट ७ करोड ८७ लाख २ हजार ९४३, मधेश प्रदेशबाट १० करोड ५ लाख ५८ हजार ९०१, बागमती प्रदेशबाट ७ करोड ८८ लाख ४० हजार, गण्डकी प्रदेशबाट ८ करोड १८ लाख ७६ हजार ६, लुम्बिनी प्रदेशबाट ९ करोड ३८ लाख ६४ हजार २, कर्णाली प्रदेशबाट १ करोड ५६ लाख ४५ हजार र सुदूरपश्चिम प्रदेशबाट २ करोड ४२ लाख ८८ हजार रूपैयाँ संकलन भएको हो । यसैगरी ट्रकरट्याङकरबाट १५ करोड १९ लाख ९५ हजार ४००, बसरमिनिबसबाट ९ करोड २० लाख ५००, काररजिपरभ्यानबाट १८ करोड ९० लाख ७६ हजार ८०६, ट्याक्टरबाट २ करोड ८८ लाख १६ हजार, मोटरसाइकलबाट ३१ करोड १७ लाख ३४ हजार ५४६ र टेम्पो तथा अन्यबाट २ करोड ५३ लाख २१ हजार ६०० रूपैयाँ राजश्व संकलन भएको हो । राजश्व रकममध्ये सबै भन्दा बढी काठमाडौं उपत्यकामा र सबै भन्दा कम कर्णाली प्रदेशमा रहेको छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमता भन्दा बढी राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएका लगायतका कारवाही गरेबापत उक्त रकम राजश्व संकलन गरिएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “प्रहरीले जरिवाना मात्र गर्दैन । सकभर कारवाही नहोस् भन्ने चाहन्छ । यसका लागि सचेतना अभियान, सवारी नियम उल्लंघन गर्नेलाई नियमित अनिवार्य कक्षा संचालन लगायतका जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम गर्दै आएका छौं । सुरक्षित र मर्यादित सडकको प्रयोग गर्दै सवारी आवागमनलाई व्यवस्थित गर्न विभिन्न प्रविधिहरूको समेत प्रयोग गर्ने गरिएको छ ।”

सो अवधिमा कारवाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये ट्रकरट्याङकर १ लाख ७० हजार ८४२ वटा, बसरमिनिबस १ लाख ९ हजार ३७७ वटा, काररजिपरभ्यान २ लाख ६१ हजार ६३६ वटा, ट्याक्टर ४१ हजार ६४१ वटा, मोटरसाइकल ४ लाख ३२ हजार ९८ वटा र टेम्पो तथा अन्य ३६ हजार ४६१ वटा रहेका छन् ।

कारवाहीमा परेका सवारी साधनमध्ये सबै भन्दा बढी मोटरसाइकल रहेको तथ्याङ्कले देखाउँछ । ट्राफिक व्यवस्थापनलाई चुस्त पार्दै दुर्घटना कम गराउन ट्राफिक प्रहरीले दक्ष जनशक्ति र साधनस्रोतको उचित प्रयोग गर्दै काम गरिरहेको छ । प्रचलित कानून तथा संगठनिक नीति अनुरूप प्रहरीले सरोकारवाला निकाय सँग समन्वय गर्दै सुरक्षित यात्राका लागि प्रभावकारी अभियान संचालन गर्दै आइरहेको छ । तथापि दैनिक रूपमा सवारी नियम उल्लंघनमा सवारी चालकहरू फेला पर्ने गरेका छन् ।

सवारी चेकजाँचको क्रममा सवारी नियम उल्लंघन गर्नेलाई कारवाही तथा जरिवानाबाट राजश्व संकलन हुने गर्छ । प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “कानून कार्यान्वयनमा कठोरतापूर्वक लागेका छौं । सडक सुरक्षालाई प्राथमिकता राखेका छौं । प्रहरीको आचरण र व्यवहारमा शिष्टता कायम गर्न तल्लीन छौं ।

नेपाल प्रहरीले ट्राफिकबाट मात्र नभई राज्यको कानून कार्यान्वयनको क्रममा फैसला कार्यान्वयनबाट पक्राउ, अवैध भन्सार छलि लगायतका कार्यहरूबाट समेत राजश्व संकलन गरी वार्षिक रूपमा ठूलो परिमाणमा राजश्व संकलन गर्दै आएको छ ।” सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ बमोजिम कसूर अनुसार ५०० रूपैयाँदेखि ट्राफिक प्रहरीले कारबाही गर्न सक्ने व्यवस्था रहेको छ ।