‘एलडिसीबाट स्तरोन्नतिपछि आउने चुनौतीका लागि तयार हुँदै सरकार’



काठमाडौं

परराष्ट्र सचिव सेवा लम्सालले सन् २०२६ मा अति कम विकसित मुलुक (एलडिसी)बाट स्तरोन्नति हुँदै गर्दा नेपालले सामना गर्नुपर्ने थुप्रै चुनौतीहरुका लागि सरकारले तयारी गरिरहेको बताएकी छन् ।

सेन्टर फर डिप्लोमेसी एन्ड डेभलपमेन्ट (सीडीडी) को छैठौं वार्षिकोत्सवको अवसरमा सोमबार ललितपुरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा परराष्ट्र सचिव लम्सालले एलडिसीबाट स्तरोन्नति भएपछि नेपालले हाल अमेरिका, युरोप र अन्य मुलुकहरुमा पाइरहेको भन्साररहित र कोटासहितको निर्यातको अवसरहरु गुमाउने जिकिर गर्दै भनिन्–‘चुनौतीहरु थुप्रै छन् तर सरकारले यसको सामना गर्ने तयारी गरिरहेको छ । यसै सिलसिलामा सरकारले आगामी वैशाखमा तेस्रो लगानी सम्मेलन गर्ने निर्णय पनि गरिसकेको छ । नेपाल सहश्राब्दी २०३० को लक्ष्य हासिल गर्न पनि प्रतिबद्ध छ ।’

उनले दिगो आर्थिक विकास र वातावरण संरक्षणका लागि सरकारले व्यापार सहजीकरण, आर्थिक कूटनीति र जलवायु परिवर्तनका मुद्दाहरूमा काम गरिरहेको पनि बताइन् । उनले हालै मात्र संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनले नेपालका हिमालहरु पग्लिरेहेको र यसले जनजीवनमा पारिरहेको असरबारे विश्वको ध्यानाकर्षित गर्दै त्यसको न्यूनीकरणका लागि चाल्नुपर्ने कदमहरुका बारेमा प्रधानमन्त्रीले प्रस्तुत गरेको नेपालको धारणाले सकारात्मक प्रभाव पारेका बताइन् ।

कार्यक्रममा पूर्व वाणिज्य सचिव चन्द्र घिमिरेले एलडीसीबाट स्तरोन्नति भएपछि मुलुकले भोग्न पर्ने सम्भावित कठिनाइबारे जानकारी दिंदै त्यसको सामना गर्न र दिगो आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा थप लगानी गर्न सुझाव दिए । उनले नेपालको अर्थतन्त्रलाई दरो बनाउन कृषि क्षेत्रमा पर्याप्त वार्षिक बजेट विनियोजन गर्नुपर्नेमा समेत जोड दिए ।

वन मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले दुबई सम्मेलनले पर्वतीय मुलुकको विषयलाई पहिचान दिएको र भविष्यमा पनि छलफलको विषय बनाएको जानकारी दिंदै नेपालको लागि यो हालसम्मकै ठूलो उपलब्धि भएको बताए । उनले अब नेपालले अन्य हिमाली मुलुकहरुसँग संवाद र सहकार्य गरी जलवायु परिवर्तनसम्बन्धी हरेक अन्तर्राष्ट्रिय मञ्चमा हिमाली अर्थतन्त्रलाई मूल मुद्दाको रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सीडीडीका संस्थापक अध्यक्ष राजदूत मोहनकृष्ण श्रेष्ठले जलवायु परिवर्तनको असरबाट नेपालले भोग्नुपरेको क्षति न्यूनीकरण र एलडीसीबाट स्तरोन्नति हुँदै नेपाल विकसिल राष्ट्रको श्रेणीमा चढ्न लागेको सन्दर्भमा सामना गर्नुपर्ने चुनौतीका विषयमा सरकारका साथै सम्बन्धित विज्ञ तथा सरोकारवालाहरु गम्भीरताका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा उद्यमी भवानी राणाका साथै सीडीडीका सदस्य शान्तिलक्ष्मी शाक्यले पनि एलडीसी स्तरोन्नति र जलवायु परिवर्तनका सम्बन्धमा आआफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्