जुम्ल्याहा बच्चासहित सुत्केरीको मृत्यु

स्वास्थ्य चौकी छ, गर्भजाँच गर्ने छैनन्



बाजुरा।

जगन्नाथ गाउँपालिका–२ लुमाकी २८ वर्षीया सुकिली सार्कीको जुम्ल्याह छोराछोरी जन्माएको एक दिनपछि मृत्यु भएको छ । बच्चाको अवस्था ठीकै भएकाले लगत्तै राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो ।

सार्कीको सुर्खेतको कालागाउँ क्षेत्रीय अस्पतालमा शनिबार जुम्ल्याहा छोरा र छोरी जन्म दिएको एक दिनपछि मृत्यु भएको हो । छोरा र छोरीलाई जन्माएपछि उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । सार्कीको सुर्खेतको कालागाउँ क्षेत्रीय अस्पतालमा आइतबार मृत्यु भएको मृतक सुकिलीका ससुरा गोरख सार्कीले बताए । सार्कीको मस्तिकको नशा फुटेर टाउकोभित्र रगत जमेकाले कोल्टी स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन सम्भव नभएपछि शनिबार रिफर गरिएको डाक्टर प्रतीक न्यौपानेले बताएका छन् ।

जुम्ल्याह बच्चा पनि डाक्टरले शल्यक्रिया गरी मृत अवस्थामा नै निकालिएको सुकिलीका कान्छा ससुरा रत्नचन्द सार्की बताउछन् । सुकिलीलाई पेट दुख्ने, टाउको दुख्ने लगायतका जटिल समस्या रहेको अस्पताल स्रोतले बताएको छ ।

रक्तचाप उच्च भएका कारण ब्रेनह्याम्रेज भएको कोल्टी स्वास्थ्य केन्द्रका डाक्टर रञ्जित साहको भनाइ छ । ‘उनको टाउकोमा रगत जमिसकेको थियो । यस्तो अवस्थामा कोल्टीमा उपचार सम्भव थिएन । यथाशक्य छिटो सविधा सम्पन्न अस्पतालमा हवाई उद्धार गरी रिफर गरेका थियौं । समयमा उपचार सम्भव नभएर उनको मृत्यु भएको हुन सक्छ ।’ –उनको भनाइ छ ।

गर्भवती भएदेखि एकपटक पनि गर्भजाँच नगराएकी सुकिलीलाई शुक्रबार राति एक्कासि च्यापेपछि राति नै कोल्टी स्वास्थ्य केन्द्रमा प¥याएको सुकिलीका ससुरा गोरख सार्कीको भनाइ छ । जगन्नाथ गाउँपालिकाका प्रायःजसो सुत्केरीले गर्भजाँच नै गराउने गरेका छैनन् । सुकिलीको घरबाट करिब दश मिनेटको पैदल दूरीमा लुमा स्वास्थ्य चौकी रहे पनि उनी कहिलै त्यहाँ नपुगेको उनका आफन्तले बताएका छन् ।

‘उनको घरमै गएर तिम्रो पेटमा दुुईटा बच्चा छड्के बसेका छन् । छिटोभन्दा छिटो सुविधायुक्त ठाउँमा जानू भनेका थियौं’, जगन्नाथ गाउँपालिका स्वास्थ्य शाखा संयोज फूलमाया उपाध्याय भन्छन् – ‘अन्तिम अवस्थामा मात्र कोल्टी स्वास्थ्य केन्द्रमा लगेछन् । स्वयं सुकिली र परिवारकै हेल्चक्रयाईंले जुम्ल्याहा बच्चासहित उनको ज्यान गयो ।’

गाउँमा अनमी, स्वास्थ्य स्वंसेविका, आमा समूह छन् । तर, सुकिलीको हकमा दुुईपटक गर्भपतन पनि गराइसकेकीले शारीरिकरूपमा कमजोर थिइन् । यहाँका महिलाले गर्भजाँच तथा स्वास्थ्य परीक्षण गर्न नमान्ने उनको कथन छ । पेटमा छोरी देखिन्छ कि भन्ने अन्धविश्वासले कतिपय गर्भेणी परीक्षण गराउन नमानने गरेको उपाध्यायको भनाइ छ ।

कडा परिश्रम, जनचेतना अभाव, धेरै बच्चा जन्माउनु, कम उमेरमा बच्चा जन्माउनु, स्वास्थ्य सेवा पहुँचबाट विमुख हुनु जस्ता कारणले हवाई उद्धार कार्यक्रम पनि प्रभावकारी हुन सकेको छैन । माघ महिनामा मात्र चार जना सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्