सडक दुर्घटना न्यूनीकरणमा ध्यान देऊ

56
Shares

काठमाडौं

सडक दुर्घटना कुनै गाउँ वा ठाउँको मात्र नभई देशकै ठूलो व्यथा हो, जुन व्यथा हरेक दिन कहीँ न कतै बल्झिने गर्दछ। हरेक दिनझैँ हुने सडक दुर्घटनाले युवाहरूको सपना र भविष्य खोसिँदैछ।

ऊर्जाशील मानिने युवा उमेर समूहले सडक दुर्घटनामा ज्यान गुमाइरहेको आँकडाले हामीलाई पनि झस्काएको छ। युवा नै सडकमा बढी चलायमान हुने उमेर समूह भएकाले दुर्घटनामा पनि युवाहरू नै बढी परिरहेका छन्।

गतिशील र अर्थतन्त्रलाई चलायमान बनाउने युवावर्गले अकालमै मृत्युवरण गर्ने गरेकोले यसले परिवारलाई गहिरो रूपमा आहत बनाउनुका साथै समाजलाई ठूलै क्षति पुर्‍याएको छ। यो सामान्य स्थिति हुँदै होइन।

आखिर यति धेरै दुर्घटनालाई रोक्न सबैतिरबाट पहलकदमी हुन जरुरी रहेको छ। सवारी दुर्घटनाको कारण एउटा मात्र हुँदैन। योसँग थुप्रै पाटा र नियमन निकायहरू जोडिएका हुन्छन्।

ट्राफिक प्रहरीसँगै, सडक पूर्वाधार,यातायात व्यवस्थापन, सवारी साधनको प्राविधिक चेकजाँचका विषयलगायत कुराहरू जोडिन्छन्।

यसले गर्दा सडक दुर्घटनाको कारणहरूको गहिरो अध्ययन गरी दुर्घटनाको न्यूनीकरणका लागि सबैको प्रभावकारी भूमिका हुनुपर्ने खाँचो रहेको छ।

सडक दुर्घटनाका समाचारले हाम्रो यात्रा अत्यन्त जोखिमपूर्ण छ भन्ने संकेत गरिरहेका छन्। प्रहरीको तथ्यांकअनुसार पछिल्लो साढे तीन वर्षमा मात्रै देशभर सडक दुर्घटनामा ८ हजार ६ सय ७८ जनाको ज्यान गएको थियो।

दुर्घटनामा परेर ८८ हजार ३ सय १ जना अंगभंग र घाइते भएका थिए। २०७९ सालमा यातायात क्षेत्रका समस्या समाधानका लागि सुझाव दिन गठित कार्यदलले एक साताअघि निकालेको प्रतिवेदनअनुसार प्रत्येक दिन औसतमा ८ जनाको मृत्यु दुर्घटनाबाट हुने गर्छ।

सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७२ प्रतिशत पैदलयात्री, मोटरसाइकल र साइकल चालक जस्ता संवेदनशील समूह छन् । यसमा पनि आर्थिक रूपमा सक्रिय समूहका पुरुषहरूको हिस्सा ७७ प्रतिशत जति छ।

दुर्घटनामा सवारी साधनमा मोटरसाइकलको हिस्सा सबैभन्दा धेरै ५० दशमलव ७२ प्रतिशत छ। आखिर यति धेरै दुर्घटना के कारणले हुन्छ ? यसका जिम्मेवार को–को हुन् ? यस्ता घटना किन हरेक वर्ष दोहोरिइरहन्छन् ?

नेपालमा भएका सडक दुर्घटनामा खासै कारण खोजिन्न र खोजिएका कारणमा पनि शंका छ। सरकारसँग भएको तथ्यांकअनुसार सबैभन्दा ठूलो दुर्घटनाको कारण चालकको लापरबाही देखिन्छ।

दुर्घटनाको प्रकृतिअनुसार विवरण हेर्दा तीन कारणले दुर्घटना बढी हुने गरेका छन् । पहिलो चालकको लापरबाही, दोस्रो सडक पूर्वाधार र तेस्रो यान्त्रिक कारण हो।

यस्तै, सवारी चालक चेकजा“च नगरिएको, चालक निदाएको, जथाभावी ढोका खोलेको, ट्राफिक नियम उल्लंघन गरेको, मादक पदार्थ सेवन गरेको, ओभरटेक गरेको र सवारी चलाउँदा मोबाइल फोन प्रयोग गरेका कारण पनि दुर्घटना भएका छन् ।

ट्राफिक प्रहरीले मुख्यतः दुर्घटनाका कारणलाई ५ भागमा विभाजन गरेर व्याख्या गरेको छ। पहिलो चालकका कारण, दोस्रो सवारी साधनका कारण, तेस्रो यात्रुका कारण, चौथो सडकको पूर्वाधार र पा“चौं मौसमका कारण दुर्घटना हुने गरेका छन्।

अब पनि सडक सुरक्षा सुधारका लागि जनचेतना र सडकको अवस्था सुधारमा तत्काल बृहत्तर पहल नगरे आगामी वर्षहरू थप विकराल हुनेसक्ने अवस्था रहेको छ।

यसले गर्दा दुर्घटना रोकथाम गर्न सबैतिरबाट प्रभावकारी पहल हुनुपर्ने खाँचो छ। आकस्मिक यान्त्रिक खराबीका कारण सडक दुर्घटना हुनसक्छ तर धेरै दुर्घटना बाटो र गाडीको अवस्था र मानवीय त्रुटिका कारण हुने गरेका छन्।

आकस्मिक रूपमा आएको यान्त्रिक गडबडीका कारण हुने दुर्घटनालाई रोक्न नसकिएला तर मानवीय त्रुटिलाई न्यून गर्न सकियो भने सडक दुर्घटनालाई धेरै मात्रामा कम गर्न सकिन्छ।

अर्थात्, मानिसले सतर्कता अपनाउने, सचेतना बढाउने र नियमहरूको पालना गर्ने गरेमा दुर्घटना कम हुनेछ।