मेसी नखेलेपछि फ्यानले मागे टिकटको पैसा फिर्ता  



काठमाडौं ।

अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसी आइतबार इन्टर मियामीका लागि भएको मैत्रीपूर्ण खेलमा मैदान नउत्रिएपछि हङकङका हजारौँ फुटबल फ्यानहरू निराश बनेका छन्।

इन्टर मियामी र हङकङ एघार बिचको मैत्रीपूर्ण खेलका लागि ४० हजार टिकट बिक्री गरिएको थियो। गत डिसेम्बरमा नै ११३ देखि ६२४ डलरसम्मका टिकट बिक्री गरिएको थियो।

सो खेलमा इन्टर मियामीले हङकङ-११ लाई ४-१ ले पराजित गरेको थियो। तर यस खेलमा मेसी नखेलेपछि मैदानमा उपस्थित फ्यानहरुले विरोध गर्दै आफ्नो टिकटको पैसा फिर्ता मागेका थिए।

फ्यानहरूको विरोध र असन्तुष्टिपछि आयोजकले फ्यानहरूलाई स्पष्टीकरण दिनुपर्ने माग भइरहेको छ। यस खेलमा अर्का खेलाडी लुइस स्वरेज समेत खेलेका थिएनन्। जोर्डी अल्बा र सर्जियो बुस्केट्स दोस्रो हाफदेखि मात्र खेलेका थिए।

आयोजकले भने मेसी र स्वरेज नखेलेको बारे आफुलाई पूर्व जानकारी नभएको बताएको छ। यसले आयोजक र फ्यानहरू दुवैलाई निराश बनाएको जनाएको छ।

यता इन्टर मियामीका प्रशिक्षक जेरार्ड़ो मार्टिनोले भने अन्तिम समयमा मेडिकल स्टाफको सुझावमा मेसी र स्वरेजलाई नखेलाएको बताएका छन्।

मेसी यसअघि अल नासरविरूद्धको खेलमा पनि अन्तिम समयमा मैदानमा आएका थिए । सो खेलमा इन्टर मियामी ६-० ले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्