अज्ञान दर्शन र विज्ञान



काठमाडौं ।

दर्शन भनेको ज्ञानसँगको प्रेम हो भन्ने कुरा फिलोस र सोफी भन्ने ग्रिक शब्दले बताएको छ। यो लेखकले बुझेअनुसार ज्ञान अथवा प्रज्ञाको अन्तिम बिन्दु विज्ञान हो र जिज्ञासा विज्ञानसम्म पुग्न नसकेको अवस्था खुल्दुली, खोज र चिन्तनरूपी त्यो मार्ग प्रक्रियालाई दर्शन भनिन्छ।

कुनै कुरा शतप्रतिशत सत्य हो भने विज्ञान हो शतप्रतिशत अप्रमाणित छ भने बेकार हो झुट हो। यही केही सत्य अर्थात् अप्रमाणित सत्य दर्शन हो। दर्शन शब्द दृश् धातुबाट अएको हो जो जिज्ञासु छ दर्शनको खोजीमा छ त्यसलाई दिव्य चक्षु, प्रज्ञा चक्षु, ज्ञान चक्षु भएको मानिस भनिन्छ।

सबै ज्ञान शतप्रतिशत विज्ञानमा परिणत हुँदैन त्यसैले दर्शनको अस्तित्व हुन्छ । वेदले ईश्वरलाई सत्य मान्छ र यसमा बहुईश्वरको परिकल्पना गरिएको छ । त्यसपछि विकसित धर्महरू जस्तै यहुदी, क्रिश्चियन, फारसी, मुस्लिम, शिख आदिले एक ईश्वरको परिकल्पना गरेका छन् ती धर्मको ग्रन्थ पनि एक एक मात्र छ । शंकराचार्यले अद्वैतवादको व्याख्या गरेर यो जगत् नै मिथ्या हो भनेका छन् ।

ब्रह्मसत्य जगत् मिथ्था भन्ने दर्शन शंकराचार्यले लेखेपछि सम्पूर्ण भौतिकतावादलाई झुटो प्रमाणित भएको महसुस भयो । जगत् मिथ्याको सत्यता पनि आफैं कम वजनदार छैन। मानौं धरहरा दिउँसोमा देख्दा त सत्य हो भौतिक हो।

त्यही धरहरा राति सपनामा देखियो भने त्यो के हो । सत्य हो, मिथ्या हो, भौतिक हो वा अभौतिक । यस्तै, तर्क दिएर जगत्लाई मिथ्या मानिन्छ। परन्तु विज्ञानले जगत्लाई भौतिकवादको रूपमा व्याख्या गर्छ। त्यसबाहेक हिन्दु धर्मकै अन्य ग्रन्थ जस्तै उपनिषद्, गीता र ब्रह्मसूत्रले पनि जगत मिथ्या भन्ने शब्दलाई अस्वीकार गरेको छ। जहाँनेरबाट जगत् सत्य हुन्छ त्यहाँबाट दर्शनको अर्थ रहन्छ । अन्यथा त यो लेख पनि मिथ्या बन्छ ।

महिला पुरुष संसर्गबाट मानिस जन्मिन्छ तर यो मानिस जहाँ छ त्यो बसेको पृथ्वी, सौर्यमण्डल लगायत यो ब्रह्माण्ड कसले बनायो? यिनै प्रश्नभित्र हजारौं दर्शन छन्।

केही वैज्ञानिकहरूले महाविष्फोटबाट ब्रह्माण्ड बन्यो भन्छन्, हिन्दु दर्शन सजिलो उत्तर दिन्छ ब्रह्माण्ड भगवानले बनायो, सांख्य दर्शन वा जैन धर्मले ब्रह्माण्ड भगवानले बनाएको भन्ने कुरालाई अस्वीकार गर्दै यो प्रकृतिको नियमअनुसार बनेको हो भन्छ । यी सबै दर्शनका विषय हुन् अन्तिम सत्य होइनन्।

एकमा एक जोड्दा दुई हुन्छ । गणितले यसलाई अन्तिम सत्य मान्छ, परन्तु दर्शनले, धर्मशास्त्रले, यो मान्न सक्दैन । बिल गेट्स एक र कुनै भिखारी एक दुई त भयो तर के अर्थमा २ । मानवरूपी भौतिक थुप्रोमा २ हो गणितीय रूपमा सत्य पनि हो । अब ती २ को सोच, काम गराई, जिम्मेवारी आदिलाई हेर्दा कसरी २ ।

चीन पनि देश नेपाल पनि देश २ देश तर भूगोल, जनसंख्या विकास, पूर्वाधार आदिबाट यी दुईबीचको अन्तरले २ लाई कहाँनेर सत्य मान्ने, किन असत्य नमान्ने भन्ने जिज्ञासा जन्माउँछ । घरका पर्खाल जोड्नका लागि ढुंगा बोक्नु पनि काम हो विश्व जोड्ने इन्टरनेटमा सुधार गर्न क्वान्टम फिजिक्समा अनेक प्रयास भइरहेको छ त्यो पनि काम हो । वास्तवमा यी दुई काम विज्ञानको नजरमा काम नै हुन् परन्तु दर्शनशास्त्रले यी २ कामको बीचमा भिन्नता खोज्ने प्रयास गर्छ । यिनै जिज्ञासाभित्रबाट अनेक दर्शनको जन्म हुन्छ ।

यसरी हेर्दा दर्शन सधैं जिज्ञासा र प्रश्न हो भने विज्ञान उत्तर हो भन्न सकिन्छ । विज्ञान पनि अन्तिम सत्य होइन यसमा पनि नयाँ आविष्कार र खोज भइरहेका छन् । यद्यपि, विज्ञानलाई निरपेक्ष गलत मान्न सकिँदैन त्यसका केही सूत्रहरू र प्रयोगहरू केही समयको अन्तरालमा गलत भए तापनि विज्ञानको आयाम अर्थात् क्षेत्र पूर्णरूपमा गलत हुन कठिन छ ।

सबै मानिस वैज्ञानिक हुँदैनन तर सबै मानिस कुनै न कुनै रूपमा दार्शनिक हुन् । यस्तो किन हुन्छ भने उनीहरूसँग सोच्ने दिमाग छ। दिमाग प्रत्येक जनावरको हुन्छ सोच्ने र जिज्ञासा राख्ने काम पूर्णतया मानिसमा मात्र केन्द्रित छ।

मानिस सोच्न सक्ने कसरी भयो भन्ने कुरा आफैंमा रहस्यमय छ । दिमाग भएका कारणले उसले सोच्यो भन्ने हो भने पनि अनेक जनावरको मानिसको भन्दा ठूलो दिमाग हुन्छ जस्तै हात्ती, घोडा, डल्फिन, बाख्रो आदि सबैको तर ती कसैले सोच्न प्रश्न राख्न सक्दैनन् । मानिसमा सोच्ने प्रश्न गर्ने जिज्ञासा निकाल्न सक्ने क्षमता भएका कारणले दर्शन अस्तित्वमा आएको हो ।

यो ब्रह्माण्ड कत्रो छ, सौर्यमण्डल कत्रो छ त्यसको सानो अंश पृथ्वीमा एक ट्रिकलियन अर्थात् एक लाख करोड जिवजन्तु भएको अनुमान गरिएको छ, धर्मशास्त्रले ८४ लाख जीवजन्तु भएको परिकल्पना गरेको छ।

त्यसमध्ये १८ लाख जतिको नाम त वैज्ञानिकहरूले पहिचान गरेका छन् । यी सबैमध्ये मानिस एक हो जसमा जिज्ञासाप्रेमी दिमाग भएकोले दर्शन अस्तिवमा आएको हो । मानिस कसरी बन्यो भन्नेबारेमा उद्बिकासको सिद्धान्त नकार्न सकिँदैन परन्तु अझै खोज गर्नबाट पछि हट्न हुँदैन ।

यो ब्रह्माण्डका अगाडि, पृथ्वी, तारामण्डल, सूर्यका अगाडि जीवन नै ज्यादै कान्छो छोटो यथार्थ हो। त्यसमध्ये पनि दर्शन र विज्ञानको आयु त धेरै कान्छो छ बढीमा ३हजारदेखि ३५सय वर्ष । पृथ्वीको आयु लगभग साढे ४ करोड वर्ष मानिएको छ।

त्यसमध्ये आजभन्दा १ करोड वर्ष अगाडि पृथ्वीमा ज्यादै विचित्र घटना घट्यो जहाँ एक जाति प्राइभेट अस्त्तिवमा आयो । यही प्राइभेट २ भागमा बाँडिए एक एपहरू थिए जस्तै चिम्पान्जी, ओराङ ओटाङ, गोरिल्ला आदि। यी रूखमा बस्थे मान्छेजस्ता देखिनेबाट बिस्तारै अर्को प्रजाति बन्यो जो रूखबाट जमिनमा आयो ४ खुट्टाको ठाउँमा २ खुट्टाले हिँड्न थाल्यो।

यिनीहरूको दिमागको अंश बढ्न थाल्यो । ४ खुट्टे जनावर २ खुट्टामा हिँड्ने गरी परिणत हुनु नै मानव बन्ने पहिलो आधार मानिन्छ। किनकि, यसले उसका २ हातलाई काम गर्नका लागि खुल्ला छोडेको अवस्था थियो ।यसलाई बाइपेडालिजम भनिन्छ जुन मानव क्रान्तिको प्रमुख आधार थियो।

२ खुट्टाले हिँड्न सके पनि मानिस धर्तिको कमजोर प्राणी थियो । अन्य जनावर योभन्दा निकै बलिया थिए । तिनबाट बाँच्नका लागि यो मानव पुर्खाले सोच्न बाध्य भयो जसले उसका दिमागीय न्यूरोनहरू सक्रिय भए र ऊ जिज्ञासु विवेकशील बन्न थाल्यो । यस्तै, तरिकाले मानिस वैज्ञानिक र दार्शनिक बनेको हो ।

दुई खुट्टेको विकास क्रमलाई हेर्दा पहिलो अस्टेलोपिसाका जन्म भएको थियो यो ३० लाख वर्ष सम्म पृथ्वीमा रह्यो, बिस्तारै यो लोप भएर त्यस्तैको विकसित रूप नियन्डरथलको सुरुवात भयो । यो त्यतिबेलासम्मको सबैभन्दा ठूलो दिमाग( ब्रेन) भएको प्राणी थियो।

त्यो पनि विलुप्त भएर आजभन्दा २५ लाख वर्ष अगाडि होमो हेबिलिसको युग आयो मानिससँग मिल्दोजुल्दो यो प्राणी आजका मानिसको जिजु चिजु केही हुनुपर्छ । यसको अनेक नवसंकरण हुँदै आजभन्दा ३ लाख वर्ष अगाडि होमोसेपिन्सको जन्म भयो। मानिसको लगभग मिल्दो पुर्खा यो नै हो । यसअर्थमा मानव इतिहास ३ लाख वर्षभन्दा पुरानो छैन ।

होमो सेपिन्सको पनि लगभग २ लाख ९७ हजार वर्षको अन्तरालमा यसले पृथ्वीका १ लाख करोड जीवजन्तुमाथि कब्जा गर्‍यो। यो कसरी भने होमो सेपिन्सले दिमाग चलाउन थाल्यो। के किन भइ रहेको छ भन्ने प्रश्नको उत्तर खोज्न थाल्यो । यस्तै तरिकाबाट दर्शन र विकास भएको हो । अहिले पृथ्वीमा जिज्ञासा, खोज, दर्शन र विज्ञानको लडाई छ ।

यो अद्वितीय समय हो आज हरेक देशमा दिमागको कसरत हरेक क्षेत्रमा भइ रहेको छ । युद्धमा शारीरिक बल होइन मानसिक बलको प्रयोग भएको छ। यसैकारणले हामी कुनै न कुनै रूपमा दार्शनिक भएका छौं र वैज्ञानिकताको माध्यमबाट थप माथि पुग्न प्रयासरत छौं। अबका दिनमा शारीरिक बलले मात्र विकसित हुन सक्दैन ।

हरेक क्रियाकलापमा ज्ञान, दर्शन र विज्ञानको प्रतिस्पर्धात्मक संलग्नता हुन जरुरी छ। यसरी बितेको ३ हजार वर्षले मानवलाई, विभिन्न धर्म, साहित्य, औषधि, हतियार, तेरो मेरो सानो ठूलो, इन्टरनेट, जहाज, एटम बम दिएको हो।

मानिसको आयु कतिसम्म लम्बिने हो थाहा छैन। एउटा पुच्छे«ताराको धक्काले संसार खरानी नहोला भन्न सकिँदैन तैपनि आज ब्रह्माण्डमा राज अज्ञान विज्ञान र दर्शन कै छ।

प्रतिक्रिया दिनुहोस्