छानबिन समितिको प्रतिवेदनको निष्कर्ष : दुई निकायबीच समन्वय र सहकार्यको अभाव

294
Shares

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृह मन्त्रालयअन्तर्गत रहेको दुई निकायबीच कुटाकुट हुनुमा समन्वय र सहकार्य नगर्दाको परिणाम भएको छानबिन प्रतिवेदनले निष्कर्ष निकालेको छ।

यही माघ १२ गते विमानस्थलमा प्रहरी र अध्यागमन अधिकृतबीच भएको कुटाकुटपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो।

समितिले विमानस्थलमा खटिएका प्रहरी, अध्यागमनका अधिकारी र अन्य निकायलाई निर्देशन र नियन्त्रणमा नलिए विमानस्थलमा अझै भयावह घटना हुन सक्ने भएकाले उचित संयन्त्र निर्माण गर्न पनि मन्त्रालयलाई आग्रह गरेको छ।

विमानस्थललाई हेर्नका लागि निर्माण गरिने संयन्त्रलाई अधिकार प्रत्यायोजन गर्न समेत सुझाव दिइएको छ। उक्त घटना हुनुमा प्रहरी कर्मचारीमात्र दोषी नभएकाले अध्यागमनका कर्मचारीलाई समेत नियन्त्रण र नियममा राख्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

विमानस्थलको अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत छायालाल मोक्तानको अटेरीपनले उक्त दुःखद् घटना हुन पुगेकाले उनलाई कारबाही गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

उक्त घटना हुनुमा दुवै निकायको दोष रहेकाले पनि विमानस्थलमा खटिने सबै सरकारी निकायलाई समन्वय गर्ने एउटा संयन्त्रको खाँचो रहेकाले तत्कालै यसतर्फ ध्यान दिन आयोगले मन्त्रालयलाई सिफारिस गरेको छ।

बुधबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा अध्यागमन अधिकृत छायालाल मोक्तानले देखाएको उद्दण्डतालाई प्रहरीले साम्य पार्नुपर्नेमा उल्टै प्रहरीको समूह नै आवेशमा आएर आक्रमण गर्नु प्रहरीको आचारण र नैतिकताविपरीत भएकाले उनीहरूलाई कडा कारबाही गर्न पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

विमानस्थलको संवेदनशीलतालाई मध्यनजर गर्दै सबै सुरक्षाकर्मीलाई समेत जाँच अनिवार्य गर्न पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

एउटा निकायलाई चेक गर्ने अर्को निकायलाई चेक नगर्ने प्रवृत्तिका कारण उक्त घटना भएकाले सबैलाई समान व्यवहार गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

मन्त्रालयले भने प्रतिवेदन बुझाए पनि त्यसलाई अध्ययन गर्नुपर्ने भएकाले अहिले नै सबै कुरा भन्न नमिल्ने बताएको छ। गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रतिवेदन अहिले अध्ययनकै क्रममा रहेकाले त्यसमा के कस्ता कुरा उल्लेख भएका छन् भन्न नमिल्ने जानकारी दिनुभयो।

विमानस्थलमा प्रहरीले संयमित र व्यावसायिक व्यवहार देखाउन नसकेको समेत छानबिन समितिको ठहर छ। अध्यागमन अधिकृत मोक्तान आफ्नै मन्त्रालय मातहतको अधिृकत भएको थाहा हुँदाहुँदै ‘चेन अफ कमान्ड’ उल्लंघन गरी घटना भएको स्थानमा आएर उनीमाथि कुटपिट गर्न नेतृत्व लिने प्रहरी सहायक निरीक्षक सञ्जय तामाङलाई तत्काल निलम्बन गर्न छानबिन समितिले मन्त्रालयलाई सिफारिस गरेको छ।

सोही घटनामा संलग्न प्रहरी जवान रविरञ्जनकुमार गुप्ता र राजकुमार महतोलाई विभागीय कारबाही गर्न समेत समितिले प्रतिवेदनमा सुझाव दिएको छ।

गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका डीआईजी राजेशनाथ बाँस्तोला र गृहका उपसचिव कुलबहादुर जिसी सदस्यको रूपमा रहनुभएको थियो।