सन्दर्भ : विश्व क्यान्सर दिवस

क्यान्सर नियन्त्रण गर्न राष्ट्रिय नीति आवश्यक



काठमाडौं ।

नेपालमा वर्षेनी अर्बुद रोग अर्थात् क्यान्सरका २० हजार नयाँ बिरामी थपिने गरेको र १३ हजारको हाराहारीले मृत्युवरण गर्ने गरेको अनुमान गरिएको छ।

क्यान्सरले यति भयावह रूप लिइरहेको अवस्थामा पनि सरकारले अझै यससम्बन्धी राष्ट्रिय नीति बनाउनेतर्फ विशेष ध्यान नदिएको सरोकारवालाहरूको गुनासो छ।

नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरका अध्यक्ष डा.सुदीप श्रेष्ठले स्पष्ट सरकारी नीतिको अभावमा क्यान्सरका बिरामीले समयमा औषधि नपाएर मृत्युवरण गर्न बाध्य भइरहेको बताउनुभयो।

उहाँले क्यान्सर नियन्त्रण कार्यक्रम तथा अनुसन्धानसम्बन्धी राष्ट्रिय नीति नबनेसम्म क्यान्सर नियन्त्रण सम्भव नभएको जिकिर गर्दै भन्नुभयो– ‘नेपालमा क्यान्सरको नयाँ नयाँ औषधि दर्ता नै छैन। नयाँ औषधि भित्र्याउन दर्ता प्रक्रिया अत्यन्तै जटिल बनाइएको छ। जसले गर्दा उपचारमा निकै बाधा अड्चनको सामना गर्नुपरिरहेको छ।’

हालको व्यवस्थाअनुसार अस्पतालले क्यान्सरका बिरामीको अवस्थाअनुसार बजारमा आएको नयाँ औषधि मगाउन सरकारसँग अनुमति लिनुपर्ने हुन्छ। यसरी प्रक्रियामा गएपछि अस्पतालले एक पटकलाई अनुमति त पाउँछ तर फेरि थप औषधि मगाउन भने त्यति सहज छैन।

त्यसैले गर्दा क्यान्सरविरुद्धको औषधिको कालोबजारी मौलाएको छ, जसले गर्दा सर्वसाधारणलाई औषधिमा पहुँच पाउन निकै कठिन छ। केवल पहुँचवालाले मात्र विविध बाटो अपनाई औषधि खरिद गरिरहेका छन्।

एकातिर सरकारी नीतिमै समस्या छ भने अर्कोतिर नेपालमा भएका क्यान्सर उपचार केन्द्रमा आवश्यकता अनुसार जनशक्ति, उपकरण, औषधिलगायतका समस्या कायमै छ।

यद्यपि, समयमै उपचार गरे वयष्कमा हुने ५० प्रतिशत क्यान्सर निको हुन्छ, यसका लागि विदेश धाउनु पर्दैन । तर, नेपाल सरकारको ध्यान नेपालमै उपचार गराउनेतर्फ गएकै छैन। नेपालको झन्झटिलो प्रक्रियाले गर्दा उपचारका लागि विदेसिन प्रोत्साहित गर्नेको संख्या बढ्दै गइरहेको डा. श्रेष्ठले बताउनुभयो ।

क्यान्सर रोग बढ्नुको प्रमुख कारणमा खानपान, रहनसहन, सुर्तीजन्य पदार्थ, मादक पदार्थ, रातो मासु, बोसोलगायत चिल्लो पदार्थ बढी खाने र व्यायाम नगर्ने जस्ता बानी नै हुन्।

बाल्य अवस्थादेखि नै खानपान सुधार्ने हो भने क्यान्सर रोग लाग्नबाट बच्न सकिने सम्भावना ५० प्रतिशत रहने चिकित्सकहरूको भनाइ छ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा बीपी क्यान्सर अस्पतालका पूर्व निर्देशक डा. प्रकाशराज न्यौपानेले अहिले प्रत्येकजसो पालिकाको वडा कार्यालयमा दैनिक १ जनाजसो क्यान्सर बिरामी सिफारिसका लागि जाने गरेको बताउनुभयो।

उहाँले आफू बस्ने मध्यपुर थिमिको ३ नं वडाबाट गत वर्ष २० जनाले मात्रै सिफारिस लिएकोमा यो वर्ष सिफारिस लिनेको संख्या २ सय पुगिसकेको बताउनुभयो।

विश्व क्यान्सर दिवसरका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेका एक कार्यक्रममा नेपालमा कुल मृत्युको ११ दशमलव ११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको जानकारी दिइयो। मन्त्रालयले नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्युदर ४० प्रतिशतले बढिरहेको पनि जनाएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले बढी मृत्यु हुने गरेको बताउनुभयो। उहाँका अनुसार सन् २०२० मा क्यान्सरकै कारणले नेपालमा १६ हजार ६ सय २९ जनाको मृत्यु भएको थियो।

स्वास्थ्यकर्मीका अनुसार नेपालमा फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सर बढी देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्