सम्पदा पुनर्निर्माण गर्न ६ अर्ब लाग्ने

28
Shares

काठमाडौं ।

पुरातत्व विभागले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त १ सय ४६ सम्पदा र गुम्बा पुनर्निर्माण गर्न करिब ६ अर्ब रुपियाँ लाग्ने अनुमान गरेको छ।

भूकम्प गएको आठ वर्षमा ७ सय ७४ सम्पदा पुनर्निर्माण सम्पन्न गरिसकेको विभागले थप सम्पदा पुनर्निर्माण गर्न उक्त रकम लाग्ने अनुमान गरेको हो।

विभागले चालु आर्थिक वर्षको यो महिनासम्म थप १४ वटा सम्पदा पुनर्निर्माण सम्पन्न गरी ७ सय ७४ पुर्‍याएको छ। विभागले पुनर्निर्माणको काम निरन्तर भइरहेको जनाएको छ। भूकम्पले क्षतिग्रस्त र ध्वस्त सम्पदामध्ये ७ सय ४८ सरकारले र बाँकी विभिन्न निकायले पुनर्निर्माण जारी राखेका छन्।

विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले भूकम्पले ध्वस्त र क्षतिग्रस्त सम्पदाहरू पुनर्निर्माण गर्न करिब ६ अर्ब लाग्ने जानकारी दिनुभयो । उहाँका अनुसार रकम अभावको कारण सम्पदा पुनर्निर्माण गर्न कठिन भएको छ।

विभागको तथ्याङ्कअनुसार २०७२ साल वैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पका कारण मुलुकभर ९ सय २० वटा सम्पदा क्षतिग्रस्त भएको थियो।

हाल उपत्यकाबाहेक देशभर ७४ जिल्लामा करिब २ हजार सम्पदा छन्। तीमध्ये राष्ट्रिय महत्वका ७ सय ५० रहेका छन्।

काठमाडौं उपत्यकाको तीन जिल्लामा मात्रै ३ हजार ५ सय सम्पदा छन्। सय वर्ष नाघेका देवालय, शिवालय र गुम्बा, विहार र स्तुपलाई पुरातात्विक सम्पदामा विभाजन गरिएको छ।

भूकम्पबाट ध्वस्त र क्षतिग्रस्त सम्पदाहरू पुनर्निर्माण गर्ने क्रममा हालसम्म करिब ६ अर्ब रुपियाँ खर्च भइसकेको छ । सबै सम्पदा पुनर्निर्माण गर्न थप ६ अर्ब रुपियाँ लाग्ने अनुमान गरेको छ।

विभागले भूकम्प गएको करिब चार वर्षपछि भूकम्पले क्षतिग्रस्त सम्पदा पुनर्निर्माण गर्न करिब १० अर्ब रुपियाँ लाग्ने अनुमान गरेको थियो।

अहिले महँगी बढिसकेका कारण करिब १२ अर्ब रुपियाँ लाग्ने अनुमान छ । विभागका महानिर्देशक प्रधानाङ्गले थप ६ अर्ब रुपियाँ उपलब्ध भए सबै सम्पदा पुनर्निर्माण हुने जानकारी दिनुभयो।

विभागले सबै सम्पदा पुनर्निर्माण सम्पन्न गर्न अझै ५ वर्ष लाग्ने अनुमान गरेको छ। बजेट अभावका कारण पुनर्निर्माणको काम सुस्त भइरहेको छ।

विभागले चालु आवमा हालसम्म १४ वटा थप गरेको छ, यो आवमा ४१ वटाको सूचना प्रकाशन भएर निरन्तर पुनर्निर्माणको चरणमा रहेको महानिर्देशक प्रधानाङ्गको भनाइ छ।

विभागले हालसम्म झन्डै ८५ प्रतिशत सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको छ । तथ्याङ्कअनुसार हालसम्म सय वर्ष पुराना ५ वटा गुम्बा र अन्य ९ वटा गरी १५ वटा सम्पन्न भएको छ।

देशभर सय वर्ष पुरानो २ सय १५ गुम्बामध्ये २६ वटा मात्र पुनर्निर्माणको काम भइरहेको छ। सरकारले चालु आवमा सम्पदा पुनर्निर्माण गर्न करिब ८० करोड ८९ लाख रुपियाँ विनियोजन गरेको थियो। उक्त रकमबाट करिब ५० सम्पदा पुनर्निर्माण जारी छ।

महानिर्देशक प्रधानाङ्गले बजेट अभाव भएका कारण सोचेअनुसार पुनर्निर्माण गर्न नसकिएको बताउनुभयो।

आवश्यकताअनुसार बजेट प्राप्त नहुने र बहुवर्षीय खरिद योजना स्वीकृत नहुँदा एउटै योजनालाई प्रत्येक वर्ष खरिद प्रक्रियामा जाँदा फरकफरक निर्माण व्यवसायीको सहभागिता हुने भएकाले संरक्षणमा एकरूपता हुन नसकेको विभागको भनाइ छ।

विभागले यो वर्षको हालसम्म ७९ दशमलव ९१ प्रतिशत भौतिक प्रगति भएको जनाएको छ।