तारागाउँ र हरिसिद्धि इँटा टायल कारखानाको जग्गामा पनि अनुसन्धान

4k
Shares

काठमाडौं ।

बौद्धको तारागाउँ विकास समितिको जग्गा र ललितपुरको हरिसिद्धि इँटा तथा टायल कारखानाको जग्गामा पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एकसाथ अनुसन्धान अघि बढाएको छ।

सीआईबीले छुट्टाछुट्टै अनुसन्धान अधिकृतको नेतृत्वमा ती ठाउँमा भएका जग्गा अनियमितताका बारेमा छानबिन थालेको हो।

त्यहाँ पनि जग्गा सम्झौता गर्दा भएका अनियमिता पत्त लगाउन आवश्यक कागजात झिकाएर अध्ययन गर्ने, सम्बन्धित निकाय तथा जानकारहरूसँग सोधपुछ गर्ने तथा डकुमेन्ट जम्मा गर्ने काम भइरहेको सीआईब स्रोतले जानकारी दिएको छ।

पर्यटन क्षेत्रको विकास गर्न पर्यटन मन्त्रालय मातहत रहने गरी २०३४ सालमा तारागाउँ विकास समिति स्थापना गरिएको थियो।

त्यतिबेला बौद्धमा स्थानीयहरूलाई विस्थापित गरेर सांस्कृतिक केन्द्र स्थापना गर्ने भन्दै ३ सय ४ रोपनी जग्गा सरकारले अधिग्रहण गरेको थियो।

सो जग्गा विभिन्न प्रपञ्च गरी अनियमित किसिमले प्रयोग हुँदै आइरहेको छ। सो जग्गा सरकारले तारागाउँ विकास समितिलाई दिए पनि त्यसपछि विभिन्न बहानामा जग्गा अनियमित किसिमले वितरण गर्ने क्रम बढेको थियो।

कानुनी छिद्र खोजेर तारागाउँ विकास समितिले आफ्नो नाममा रहेको ३ सय ४ रोपनी जग्गामध्ये १ सय ५० रोपनी जग्गा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडलाई स्वामित्व हस्तान्तरण गरेको थियो।

यस क्रममा व्यापक अनियमितता भएको हुन सक्ने सीआईबीको आशंका छ । सोही जग्गामा अहिले ह्यात रेजेन्सी होटल सञ्चालनमा छ।

त्यसै गरी ललितपुरको हरिसिद्धिस्थित इँटा टायल कारखाना प्रकरण बारेमा छानबिन थालेको सीआईबीले सबै पुराना सम्झौता अध्ययन गरिरहेको जनाइएको छ।

सरकारले २०२१ फागुन २५ मा जग्गा प्राप्ति ऐन २०१८ अनुसार हरिसिद्धिको जग्गा अधिग्रहण गरेको थियो। सो जग्गा विभिन्न समयमा कौडीको भाउमा बिक्री वितरण भएको विषयमा सीआईबीले अनुसन्धान थालेको हो।