काठमाडौँ।
महानगर अनुसन्धान शोधवृत्ति (मेट्रोपोलिटन रिसर्च फेलोसिप — एमआरएफ) को जानकारीमूलक सत्र सम्पन्न भएको छ । सत्रमा शोध कार्यका लागि इच्छुक १८ जना व्यक्ति भौतिक रुपमा उपस्थित भएका थिए । यस्तै २२ जनाले अनलाइनमार्फत सहभागिता जनाएका थिए ।
सत्रमा कार्यक्रम सञ्चालनको उद्देश्यमाथि चर्चा गर्दै आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले, तथ्य र आवश्यकतामा आधारित नीति निर्माणमा गर्नमा शोध कार्यबाट महत्त्वपूर्ण दस्ताबेज प्राप्त हुने अपेक्षा रहेको बताए । ‘महानगरपालिकाले प्राथमिकतामा राखेका गौरव र स्वर्णिम योजना छन् । यी कार्यक्रम कार्यान्वयनमा सघाउ पुग्ने प्रस्ताव हुन सक्छन् । महानगरपालिकाले अहिलेसम्म नदेखेका र नलेखेका तर, समाजका लागि चाहिएका कुरा हुन सक्छन् । त्यस्ता विषयमा अनुसन्धान गर्न शोधकर्ताहरुले प्रस्ताव दिन सक्नुहुनेछ ।’
आयोगका सहायक विज्ञ विवेक बास्तोलाका अनुसार आउँदो शनिबार (माघ २७ गते) रातको ११ बजेर ५९ मिनेटसम्म अनलाइनबाट आवेदन दिन सकिनेछ ।
मापदण्डमा तोकिएको अङ्क भारका आधारमा प्रस्ताव मूल्याङ्कन गरिनेछ । प्रस्तावलाई कोडिङ् गरेर मूल्याङ्कनमा पठाइनेछ । नाम गोप्य भएकोले मूल्याङ्कनकर्ताले विषयको गहनताका आधारमा मूल्याङ्कन गर्नेछन् । यसरी छानिएका प्रस्तावकहरुलाई प्रस्तुतीकरणका लागि बोलाइनेछ । प्रस्तुतिकरणपछि १० जना शोधकर्ता छानिनेछन् ।
सत्रमा प्रक्रियाका विषयमा जानकारी दिएपछि सहभागीहरूले अनुसन्धान कार्यसँग सम्बन्धित प्रक्रियाका बारेमा जिज्ञासा राखेका थिए ।
३५ दिनको अवधि राखेर पुस १२ गते महानगरपालिकाले सार्वजनिक सूचनामार्फत अनुसन्धानमूलक शोधका लागि प्रस्ताव आव्हान गरेको थियो । शोधकर्ताहरुबाट थप समयका लागि माग आएकाले १० दिन समय बढाएर २७ गतेसम्म पु¥याइएको हो ।
अनुसन्धान गर्न चाहेको विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र अनुसन्धान, अध्यापन वा विषयगत काममा २ वर्षको अनुभव हुनेले आवेदन दिन सक्नेछन् ।
नेपाली वा अंग्रेजीमध्ये कुनै एक भाषामा पोख्त हुनुपर्नेछ । अध्ययनपछि प्रतिवेदन, लेख र प्रस्तुति यिनै दुईमध्ये एक भाषामा तयार पार्नु पर्नेछ । आवेदकलाई उमेरका हद राखिएको छैन । यसमा १० जना शोधकर्ता छानिनेछन् । उनीहरुले ६ महिनामा शोध कार्य सम्पन्न गर्नुपर्नेछ ।
विविध विकास आयामहरुलाई एकीकृत गर्न तोकिएका विषयमा तथ्यमा आधारित नीतिगत तथा कार्यमूलक अनुसन्धान प्राप्त गर्नु कार्यक्रमको उद्देश्य हो । यसले आयोजनाहरुको पहिचान गर्न सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।
अनुसन्धानमूलक शोध कार्य सम्बन्धी विस्तृत जानकारीका लागि तलको सामग्री अध्ययन गर्नुहोस् ।
अध्ययनका बिषय काठमाडौँ महानगरपालिकासँग प्रत्यक्ष सम्बन्ध राख्ने हुनुपर्नेछ । अनुसन्धानको परिणाम नीतिगत निर्णय, गठन तथा कार्यान्वयनमा उपयोग गर्न सकिने, अनुसन्धानको परिणाम पूर्वाधार तथा सामाजिक विकास आधारित आवश्यकता अनुरुप परियोजनाको पहिचान तथा गठन गर्न सकिने प्रस्तावलाई प्राथमिकता दिइनेछ।
यस वर्षका लागि छानिएका शोधका विषयहरु
चौथो संस्करणका लागि १० वटा क्षेत्र छानिएका छन् । १) इतिहास, कला, संस्कृति, परम्परा २) भाषा, साहित्य ३) सहरी योजना, सहरी डिजाइन, वास्तुकला, यातायात, भौतिक पूर्वाधार ४) जनसांख्यिकीय, समाजशास्त्रीय वा मानवशास्त्रीय अध्ययन ५) शिक्षा, सामाजिक विकास, युवा, सामाजिक अभियान स्वास्थ्य, जीवनस्तर ६) स्थानीय आर्थिक विकास, सहरी वित्त, उद्यमशीलता, मानव संशाधन विकास ७) सहरी अनौपचारिक क्षेत्र, गरिवी, अनधिकृत बसोवास ८) वातावरण, दिगो विकास, विपद् व्यवस्थापन, जलवायु परिवर्तन ९) कानून, शासन र १०) सूचना तथा सञ्चार, नविन सोच यस बर्ष छानिएका अनुसन्धानका क्षेत्र हुन् ।
तेस्रो संस्करण (गएको वर्ष) के भएको थियो
गएको वर्ष शोधवृत्तिको तेस्रो संस्करण चलेको थियो । यस संस्करणमा ‘काठमाडौं महानगरपालिकामा सहरी सडक सुरक्षाको विश्लेषण’, ‘काठमाडौं महानगरपालिकामा भर्टिकल फार्मिङको सम्भावना’, ‘ज्येष्ठ नागरिकहरुको मानसिक स्वास्थ्यका लागि महानगरपालिकाको जिम्मेवारी’, ‘काठमाडौँ महानगरपालिकाका विद्यालयहरूमा स्टीम पेडागोजी लागू गर्ने विश्वास र शिक्षकहरूको तत्परता’, ‘काठमाडौँ महानगरपालिकामा आगलागी सम्भावित क्षेत्र म्यापिङ’, ‘काठमाडौँ महानगरपालिकाका अटिजम भएका बालबालिकाका लागि सूचना प्रविधि (आइसीटी) मा आधारित सिकाइ’, ‘काठमाडौं महानगरपालिकामा अनियमित रूपमा तयार गरिएको कंक्रिटमा मिक्स डिजाइन कंक्रिटको आर्थिक र संरचनात्मक प्रभाव अध्ययन’, ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र चराहरूको लागि वासस्थान र कार्वन लागि स्पन्जको रूपमा सहरी प्याचहरूको अनुसन्धान’, ‘काठमाडौं महानगरपालिकाका विद्यालयहरूमा नेपाल भाषाको शिक्षण र सिकाइ अभ्यासको अध्ययन’ का विषयमा शोध कार्य भएको छ ।
प्रतिक्रिया