भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४

विश्वव्यापी साझेदारी र नवप्रवर्तनसहितको भावी मार्गचित्र



जनवरी १० देखि १२ सम्म सम्पन्न भएको भाइबे्रन्ट गुजरात ग्लोबल समिट (भीजीजीएस)को दशौं संस्करणले विश्वव्यापी व्यापार फोरमहरूमा नयाँ बेन्चमार्क सेट गर्न सफल भयो । ‘गेटवे टु द फ्युचर’ भन्ने नारासहितको शिखर सम्मेलनमा २८ भन्दा बढी देश र १४ संस्थाको सहभागिता रहेको थियो ।

यस विश्वव्यापी शिखर सम्मेलनमा अस्ट्रेलिया, बंगलादेश, चेक गणतन्त्र, इजिप्ट, इस्टोनिया, फिनल्यान्ड, जर्मनी, इन्डोनेसिया, जापान, केन्या, मलेसिया, माल्टा, मोरक्को सहभागी थिए । यसै गरी मोजाम्बिक, नेपाल, नेदरल्यान्ड, नर्बे, पोल्यान्ड, गणतान्त्रिक कोरिया, रुवान्डा, सिंगापुर, तान्जानिया, थाइल्यान्ड, युएई, बेलायत, उरुग्वे, घाना र भियतनाम सहभागी थिए । यो स्तरको व्यापक सहभागिताले भीजीजीएसलाई विश्वव्यापी रूपमा एउटा नयाँ उचाइ दिएको छ ।

सो समिटमा ती देशहरूका अतिरिक्त, अमेरिकन चेम्बर अफ कमर्स इन इन्डिया, इन्डो अमेरिकन च्याम्बर अफ कमर्स, इन्डो–अफ्रिकन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, इन्टरनेसनल सोलार गठवन्धन, जापान बाह्य व्यापार संगठन र कोरिया व्यापार र लगानी एजेन्सी पनि सहभागी थिए । यी संस्थाहरूको सक्रिय संलग्नताले अन्तर्राष्ट्रिय व्यापार र लगानीलाई बढावा दिने प्लेटफर्मको रूपमा भीजीजीएसको भूमिकालाई थप प्रभावकारी बनाएको थियो ।

समिटको अघिल्ला नौ संस्करणहरूमा, साझेदार देशहरू र संस्थाहरूले शिखर सम्मेलनको लागि उच्च–प्रोफाइलसहितको प्रतिनिधित्व र प्रतिक्रियामा महत्वपूर्ण योगदान दिएका थिए । सामाजिक–आर्थिक र सांस्कृतिक सहयोगलाई सहजीकरण गर्दै गुजरात राज्य सरकारले द्विपक्षीय सम्बन्ध सुदृढ गर्न र भीजीजीएसको सफलतामा योगदान दिन प्रत्येक साझेदार देश र संगठनको महत्वपूर्ण भूमिकालाई मान्यता दियो । तिनीहरूको सक्रिय सहभागिताले शिखर सम्मेलनलाई विभिन्न प्लेटफर्महरूमा प्रवद्र्धन गर्न मात्र नभई सहयोग, व्यापार र लगानीका अवसरहरू बढाउन पनि महत्वपूर्ण भूमिका खेलेको थियो ।

दुई दशकको प्रगतिशील विकासलाई झल्काउने यस वर्षको शिखर सम्मेलन अभूतपूर्व रहेको थियो । यसले गुजरातको विकास यात्रालाई उजागर गर्नुका साथै राज्यको सामाजिक–आर्थिक उन्नतिको प्रतिबद्धता र प्रधानमन्त्री नरेन्द्र मोदीको भारतलाई सन् २०४७ सम्म आत्मनिर्भर र विकसित बनाउने दूरगामी सोचलाई समेत आत्मसात गर्न सफल भयो । यो सम्मेलन समावेशी र दिगो विकासको लागि व्यापार सञ्जाल, ज्ञान आदानप्रदान, र रणनीतिक साझेदारीजस्ता उदीयमान क्षेत्रलाई बढावा दिने एक प्रमुख प्लेटफर्मको रूपमा विकसित भएको छ । यो समिट सेमीकन्डक्टरहरू, हरियो हाइड्रोजन, ई–मोबिलिटी, नवीकरणीय ऊर्जा, र फिन टेकलगायतका उदियमान क्षेत्रमा लगानी आकर्षित गर्न प्रभावकारी प्लेटफर्म बनेको छ ।

भाइबे्रन्ट गुजरात ग्लोबल ट्रेड सो यो शिखर सम्मेलनको ‘फोकल प्वाइन्ट’ थियो । २ लाख वर्ग मिटरभन्दा बढी फैलिएको, यो संसारको सबैभन्दा ठूलो व्यापार सोमध्ये एक थियो । यो सो टेकहेड र गतिशील टेक्नोलोजीहरू’ मा केन्द्रित थियो । यसले च्याम्पियन सेवा क्षेत्रलाई जोड दिँदै डिजिटल भारत पहलहरू, भारत स्टक र उद्योग तथा विकसित हँुदै गरेको प्रविधि तथा अन्य उपयोगी सेवा क्षेत्रलाई विशेष प्राथमिकता दिएको थियो ।

शिखर सम्मेलनमा खाद्य सुरक्षा, उन्नत प्रविधि, स्टार्टअप र इनोभेसन, हेल्थकेयर, जीवन विज्ञान र दिगोपन जस्ता महत्वपूर्ण मुद्दाहरूमा केन्द्रित भै थुप्रै विषयगत सेमिनारहरू सञ्चालन भएका थिए । भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ ले गुजरातका लागि मात्र नभई भारतका लागि पनि व्यापारिक अवसर र रणनीतिक विकासको नयाँ युगको सुरुवातको संकेत गरेको छ । यो सम्मेलन भारतको विश्वव्यापी नेतृत्वको नयाँ यात्रामा एउटा महत्वपूर्ण माइलस्टोनको रूपमा रहेको छ ।
(एजेन्सीबाट)

प्रतिक्रिया दिनुहोस्