प्रेस चौतारीको स्थापना दिवसमा ६ पत्रकारलाई पुरस्कृत गरिने

14
Shares

काठमाडौं ।

प्रेस चौतारी नेपालले २६ औँ स्थापना दिवसमा ६ जना पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको छ। पत्रकार गोबिन्द पोखरेलको संयोजकत्वमा चौतारीका महासचिव हिरामान लामा र सचिव हरिबल्लभ नेपालको निर्णायक मण्डलले विभिन्न चरणमा बैठक गरी उक्त पुरस्कार छनोट गरेको हो।

यस वर्षको हृदय चन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण दैनिकका सम्पादक अखण्ड भण्डारीलाई प्रदान गरिने भएको छ। त्यस्तै, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार सिन्धुपाल्चोकका पत्रकार माधव नेपाललाई दिने निर्णय भएको छ।

त्यस्तै, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार रुकुमपूर्वका महेश केसीलाई प्रदान गर्ने घोषणा गरिएको छ। रौतहटका फणिदेव महतले वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार पाउने भएका छन्।

सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार काभ्रेकी काजल तामाङलाई प्रदान गरिने छ भने चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार रामेछापकी यसिमा महतलाई प्रदान गरिने छ।

अग्रज पत्रकारको सम्मान र क्रियाशीलको प्रोत्साहनका लागि स्थापित यी पुरस्कार संगठनको २६औं स्थापना दिवसमा माघ २२ गते प्रदान गरिने महासचिव हिरामान लामाले जानकारी दिए।