वासिंगटन डिसी ।
अमेरिकाले इराक र सिरियामा ब्यापक हवाइ हमला सुरु गरेको छ ।
गत आइतवारको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिक मारिएको बदलामा अमेरिकाले हवाइ हमला सुरु गरेको हो ।
अन्तराष्ट्रिय समाचार संस्थाहरूका अनुसार अमेरिकाले शुक्रबार रातीबाट सिरिया र इराकका ८५ वटा लक्ष्यमा आक्रमण गरेको छ ।
अमेरिकी सेन्टकमले इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प कुड्स फोर्स र सम्बद्ध मिलिशिया समूहहरू विरुद्ध हवाई आक्रमण गरेको जानकारी दिएको छ ।
‘हाम्रो प्रतिक्रिया आज सुरु भयो। यो हाम्रो रोजाइको समयमा र स्थानहरूमा जारी रहनेछ,’ राष्ट्रपति बिडेनले शुक्रबार एक विज्ञप्तिमा भनेका थिए ।
गत साता टावर २२ नामक अमेरिकी आधार शिविरमा भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु हुनुका साथै ४० भन्दा बढी सैनिक घाइते भएका थिए ।
सो घटनामा ह्वाइट हाउसले इरानलाई दोष दिदैँ धेरै परिणामात्मक प्रतिक्रिया दिने यसअघि नै जनाइसकेको थियो ।
इरानले संलग्नतालाई अस्वीकार गर्दै अमेरिकी आरोपहरू ‘निराधार’ भएको जनाएको छ । उसका अनुसार प्रतिरोधी समूहहरूको निर्णयमा इरानको संलग्नता नभएको जनाएको छ ।
प्रतिक्रिया