भाटभटेनीको धार्मिक आस्था तथा सांस्कृतिक अवस्था



काठमाडौं  ।

काठमाडौं उपत्यकामा विविध धर्मसंस्कृतिको मिश्रण पाइन्छ। यसै मिश्रणयुक्त विविध धर्म र संस्कृतिको अवलोकन गर्न नेपाली मात्र नभएर विदेशी पर्यटक पनि आउने गरेका छन्।

अनेकन मन्दिरहरूको गृहमा भाटभटेनी मन्दिर पनि एक विशेष धर्म संस्कृति बोकेको मन्दिरको रूपमा परिचित छ। काठमाडौं महानगरपालिका वडानम्बर ६ मा अवस्थित मन्दिरमा बच्चाहरू बिरामी हुँदा होस् वा मानिसलाई मनोकामना पूरा गर्न पनि भक्तहरूको भीड लाग्ने गरको छ । भाटभटेनी मन्दिर धार्मिक परम्परा झल्काउने मन्दिर हो।

यस मन्दिरमा मानिसहरू थुप्रै आस्था र विश्वास लिएर आउने गर्छन् । हिन्दू धर्मावलम्बी तथा बौद्ध धर्मावलम्बीहरूका लागि यस मन्दिरले विशेष स्थान लिएको छ। यो एउटा अनौठो मन्दिर हो।

जहाँ रहेका देवताहरूको मूर्ति पश्चिम दिशातर्फ फर्काएर जमिनबाट १२/२ को उचाइमा झुण्डिएको अवस्थामा रहेको छ। त्यसैले यो मन्दिरलाई धेरै पहिला कसैकसैले झुण्डिएको देवता भनेर पनि भन्ने गरेको जनश्रुति रहेको छ । उपत्यकाबाहिर यो मन्दिरलाई नेपाल देवी पनि भन्ने गरेको पाइन्छ।

जमिन छोडेर रहेको भगवानका मूर्तिहरू भएकोले यसलाई आकाशे देवी पनि भनिएको पाइन्छ । प्यागोडा शैलीमा निर्माण भएको यो मन्दिरको वरिपरि लिच्छविकालको शिलालेख भोटिएको छ । यो मन्दिर लिच्छविकालभन्दा अगाडि निर्माण भएको हुनसक्ने अनुमान गरिएको छ । यो मन्दिरका मूर्तिहरू पश्चिम फर्केको अवस्थामा छन् । जुन आश्चर्यजनक विषयका रूपमा हेरिने गरेको छ।

भाटभटेनी देवतालाई हाँडीगाउँ देवता, झुन्ड्याइएको देवता, हमोपताःदधो, नेपाल देवी, आकाश चरी आदि नामले चिनिन्छ। यस देवताको नाम किन यस्तो ? यसको उत्तर अझै पनि रहस्य नै छ। तर, भाटभटेनी देवताको विषयमा थरीथरीका कथा वा किंवदन्तीहरू प्रचलित छन्।

भाटभटेनी देवता अरू देवताभन्दा भिन्न छन् । अरू मूर्तिलाई काठ, माटो, ढुङ्गा, धातुबाट निर्माण गरी आसनमा आसीन गराइए पनि भाटभटेनी मन्दिर केबाट बनेको भन्ने विषय अझै बाहिरिएको छैन।

पुजारी र स्थानीयका अनुसार नेपाली कागजबाट बनाइएको भनिए पनि आधिकारिक खोजी हुन सकेको देखिँदैन। तर, भाट र भटेनीलाई दुई तले मन्दिरभित्र पश्चिमतर्फ फर्काएर जमिनबाट अन्दाजी १.५ फुटमाथि दलिनमा फलामे सिक्रीको मद्दतले झुन्ड्याएर राखिएको छ।

दक्षिणतिरको कुनामा भाट र भटेनीको छोरा भनी चिनिने बालगोपाललाई गरुडले गाँजेको अवस्थामा जमिनबाट माथि झुन्ड्याइएको छ।

नेपालीहरू परापूर्वकालदेखि नै भगवानप्रति आस्था राख्ने गर्छन्। मानिसहरूलाई पृथ्वीमा अवस्थित अलौकिक शक्तिमा विश्वास हुने भएकाले नै भगवानप्रति आस्था राख्छन्। अहिलेको समयमा मानिसहरूको मन अशान्त भएको हुनाले धर्मप्रति मानिसको आस्था र विश्वास अझ गाढा हुँदै भएको हो ।

भाटभटेनी मन्दिरले विशेषतः बालबच्चाको रोगव्याधि निको पार्ने कुरामा मानिसहरूको विश्वास छ। यस मन्दिरमा काठमाडौं उपत्यकालगायत बाहिरबाट आएकाले खासगरी आफ्ना बालबच्चालाई अन्तरिक्ष चारीयक्ष, पिचास भूत–प्रेत, अथवा बालग्रही दुष्ट जीवहरूले पिरोलेको विश्वास भएमा रोगव्याधि निको पार्ने देवताको रूपमा बालगोपालको पूजा अर्चना गर्दछन्।

भाकल गर्ने दर्शनार्थीले भाटभटेनीमा कुखुरा, हाँस, बोका, भेडा, च्यांग्राको बलि पनि चढाउने गरेका छन् यसमध्ये बोका र हाँसको बलि मन्दिरभित्र र अरू बाहिर भैरवस्थानमा दिइने गरेको छ। यस मन्दिरमा परेवा र मलेवाको बलि भने दिइने प्रचलन छैन।

भाटभटेनी मन्दिरको भाटमूर्ति, भटेनीमूर्ति र बाल मूर्तिलाई नन्दी ब्राह्मण, उनकी स्त्री र छोराको स्वरूप मानिन्छ। भाटभटेनी बालगोपालका पुजारी केदारप्रसाद र रामप्रसाद कर्माचार्यका अनुसार भाटभटेनीका पुजारीलाई पहिलेका गुरुले दीक्षा दिएर मात्र मन्दिरमा पूजा गर्ने अधिकार प्राप्त हुन्छ।

टुँडालदेवीकी छोरी भाटभटेनी भएको वर्णन पाइएको हुनाले ती दुवै देवीका सम्बन्धमा खोजी गर्दा भाटभटेनीको माइतीघर टुँडालदेवीलाई मानिएको छ। वर्षको एकपटक ती भाटभटेनीलाई माइतीघर टुँडालदेवीमा पुर्‍याएर ल्याउने चलन रहेको छ।

केटाकेटी लामो समयसम्म बिरामी परेर दीर्घरोग भएमा त्यसको निदानको लागि अक्षता उठाई भाकलहरू गरेर एकैदिनमा स्वयम्भूस्थित हारतीमाता, ज्ञानेश्वर नन्दीमहादेव र भाटभटेनी देवताहरू तीनवटै देवताहरूलाई मन्दिरमा पूजाआजा गरेमा सञ्चो हुन्छ भन्ने विश्वास पनि गरिन्छ।

साथै, उपत्यका बाहिरका मानिसहरू जो भाटभटेनी धाएर पूजा गर्न सक्तदैनन् उनीहरू जात्राको दिन पारेर तीनओटा ढुङ्गालाई एकैसाथ राखी आ–आफ्नो कूलधर्मअनुसार बलि दिँदै पूजाअर्चना गर्दछन् । यसरी यी तिनै ढुङ्गाको त्रिकोणलाई ‘आकाशदेवी’ वा ‘नेपालदेवी’ भनिने गरिएको छ।

त्यसै गरी भाटभटेनी मन्दिरको छानामा भाँडाकुँडाहरू ठोकेर राखिएको छ । यो कुरा पनि धर्मसँगै सम्बन्धित छ भनिए पनि वास्तविकता के हो भन्ने कुरा अझै खुलेको छैन । स्थानीयका अनुसार भाँडाकुँडाहरू मानिसहरूले भाकलकै रूपमा चढाइएको हो भन्ने मानेका छन् ।

त्यसै गरी भाटभटेनीको नित्यपूजा कर्माचार्यबाट हुन्छ । यहाँ नित्यपूजा बिहान र बेलुका गरिन्छ । यस मन्दिरमा दुई प्रकारले पूजाआजा गरिन्छ वैदिक पूजा विधि र तान्त्रिक विधि । तान्त्रिक विधिअनुसार ‘पञ्चमकार’अर्थात् पाँचवटा ‘म’ अक्षरबाट शुरू भएको तत्त्वद्वारा गरिन्छ भने वेदको धर्म यज्ञ उपासना र कर्मकाण्डसँग सम्बन्धित पूजा वैदिक पूजा विधिअन्तर्गत पर्छ ।

धर्मसँगै संस्कृति पनि जोडिएको हुन्छ । संस्कृति चलिआएको परम्परा, रितिरिवाजअन्तर्गत पर्छ । यस मन्दिरसँग जात्राको संस्कृति जोडिएको छ । भनिन्छ नेपालमा जात्राको चलन धेरै पहिलेदेखि नै चलिआएको हो काठमाडौंका विभिन्न महत्त्वपूर्ण र जात्रामध्ये भाटभटेनी जात्रा पनि एक हो ।

यसलाई हाँडीगाउँ जात्रा, टुँडालदेवी जात्रा, र गहना खोज्ने जात्रा भनेर पनि चिनिन्छ । यो जात्रा हरेक वर्ष चैत्र शुक्लचतुर्दशीबाट शुरू हुन्छ । यही जात्रामा भाटभटेनी देवतालाई रङरोगन गर्न मन्दिरबाट बाहिर निकालिन्छ । यो जात्रामा टुँडालदेवीको हराएको गहना खोजिन्छ ।

यो जात्रा कसरी शुरू भयो भन्ने विषयमा एउटा रोचक कथा प्रचलित छ। धेरै वर्ष पहिले चण्डोलको टुँडालदेवी, नक्सालको महालक्ष्मी, बालाजुको मनमैँजु, नुवाकोटी देवी नुहाउन भनी ठूलो तालमा गएछन्। जहाँ अहिले गहनापोखरी अवस्थित छ।

त्यहाँ नुहाउँदा नुहाउँदै टुँडालदेवी र मनमैँजु टाढा पुग्नुपर्ने भएकोले चाँडै गएछन्। उनीहरूले महालक्ष्मीलाई हेर्नु र खोजी सकिएपछि हामीलाई खबर पठाउनु भनी त्यहाँबाट गए। यसरी त्यही कुरा पुनः दोहोर्‍याउने कोसिस नै भाटभटेनी जात्रा हो।

जसमा टुँडालदेवीको रथलाई गहना खोज्न पानीमा डुबाइन्छ। महालक्ष्मीलाई पोखरी वरिपरि घुमाइन्छ। अनि खोजी सकिएपछि नुवाकोटी र मनमैँजुलाई खबरको रूपमा फूल र प्रसाद पठाइन्छ। भाटभटेनी जात्रा मुख्यतः चार दिन मनाइन्छ।

पहिलो दिनमा भाट देवता, भटेनी देवता, र गोपालजीको मूर्तिलाई बिहान मन्दिरबाट निकालेर रङ्गरोगन गरी बेलुकीपख टुँडालदेवी लगिन्छ र पश्चिमतिरको पार्टीको अग्रभागमा झुन्ड्याइन्छ । त्यसपछि दोस्रो दिन दिनभर टुँडालदेवीमै राखेर पूजाआजा गरिन्छ।

रातिपख विशेष विधिका साथ देवतालाई माहायात्रामा गरेजस्तो घोप्ट्याएर भाटभटेनीमै फर्काएर ल्याइन्छ । त्यसै गरी तेस्रो दिनमा भाटभटेनीको दक्षिणपूर्वमा रहेको गहना पोखरीमा गहना खोज्ने जात्रा मनाइन्छ । त्यसपछि चौथो दिन यस जात्राको अन्तिम जात्रा हो।

यस दिनमा मध्यरात टुँडालदेवीलाई खटमा भाटभटेनी ल्याएपछि अत्यन्त जोशिलो पारामा चर्को बाजागाजासहित मन्दिरको परिक्रमा गरिन्छ र विशेष विधिद्वारा पूजाआजा गरी हवन गर्ने काम गरेर जात्रा समाप्त गरिन्छ र देवतालाई बिहान उज्यालो हुनुअगावै विशेष विधिसहित शान्ति स्वस्ति गर्दै आफ्नै मन्दिरभित्र प्रतिस्थापना गर्ने चलन छ।

नेपालको विधिव धर्म संस्कृतिमा भाटभटेनीको स्थान पनि अग्र पंक्तिमा आउने गरेको छ। मानिसले आस्था र विश्वासका साथ पूजा गरिने गरिएको छ। तर, पनि जति भाटभटेनीको विषयमा खोजी हुनु पर्ने थियो, त्यो भएको छैन। धर्म र संस्कृति हाम्रो सम्पत्ति भएको हुनाले यसलाई संरक्षण गर्नुपर्दछ।

अहिले पनि पुरातत्व विभागमा भाटभटेनीलगायत मठमन्दिरलगायत ठाउँको बारेमा अधिकारी सामग्री राखिएको छैन। यसमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक देखिन्छ।

(लेखिका मन्दिरको वास्तुकला तथा सम्पदासम्बन्धी अनुसन्धानकर्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्