प्रधानमन्त्रीको क्षमतामाथि नै प्रश्न

0
Shares

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नै सरकारका मन्त्रीहरूले सोचेजस्तो काम नगरेकाले पटक पटक बर्खास्तीको धम्की दिन छोड्नुभएको छैन।

जति धम्की दिए पनि न मन्त्री सुध्रिएका छन् न जनताको काम तोकिएकै समयमा हुन सकेको छ। आफ्नै मन्त्रीको आलोचना गर्ने प्रधानमन्त्री प्रचण्डको व्याख्यालाई थरीथरीका विश्लेषकहरूले भिन्नभिन्न रूपमा बुझ्ने गरेका छन्।

प्रधानमन्त्रीले राम्रो काम नगर्ने मन्त्रीलाई हटाउने धम्की दिन नछाड्ने तर मन्त्रीहरू मनपरी गर्न पनि नछाड्ने परिपाटीले प्रचण्डको क्षमतामाथि प्रश्न उठ्न थालेको छ।

प्रधामन्त्री प्रचण्डका सारथीमध्ये स्वाथ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, पर्यटन तथा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँती, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, वन तथा वातवरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोलगायतका मन्त्रीहरूको हर्कतका कारण प्रचण्ड सरकार आलोचनाको पात्र बन्दै आएको छ।

मन्त्रीहरूको हर्कतले हैरानीमा परेपछि पटकपटक मन्त्रीहरूलाई सुध्रन चेतावनी दिनुभएका प्रधानमन्त्री प्रचण्डलाई आफ्नै बोली गलपासो बन्दै गएको छ।

जति चेतावनी दिए पनि मन्त्रीहरू सुध्रने अवस्थामा छैनन्। जनतामा निराशा बढ्दो क्रममा छ। मुलुकमा अराजक गतिविधि तीव्र गतिमा बढ्दो अवस्थामा रहेको छ। अनियमतिता र भ्रष्टाचारले सीमा नाघ्ने अवस्थामा पुगेको छ।

पछिल्ला केही दिनयता भ्रष्टाचारमा लिप्त रहेका सरकारी स्वामित्वमा रहेको संस्थालाई प्रयोग गरे ब्रह्मलुट मच्चाउनेहरूले अख्तियारलाई नै चुनौती दिएर खुलेआम हिँड्नुले पनि नेपालमा भ्रष्टहरूलाई कसले संरक्षण गर्ने गरेको छ भन्ने प्रश्न उठेको छ।

नेपाल टेलिकम र सुरक्षण मुद्रण केन्द्रका पूर्व निर्देशकद्वय सुनील पौडेल र विकल पौडेलले सरकारी आडमा गरेको भ्रष्टाचारबाट कमाएको अकुत सम्पत्तिका बारेमा बाहिर आएका तथ्यले उनीहरू कति भ्रष्ट छन् भन्ने पुष्टि हुन्छ।

टेलिकमले खरिद गरेको टेरामक्स प्रणालीको खरिद प्रक्रियामा अनियमितता र नेसनल पेमेन्ट गेट वे खरिद प्रक्रियामा अनियमितता गरेर कमाएको सम्पत्ति अवैध बाटो प्रयोग गरी विदेश पुर्‍याएको र नेपालको सरकारी पदमा बहाली रहँदारहँदै विदेशमा परामर्शदाताको नियुक्ति लिएर काम गरेका कारण उनीहरूले प्रमाण नै लोप गर्न सक्ने भन्दै आयोगले पक्राउ गरेर कानुनी कारबाही अघि बढाएको छ।

नेपालमा राजनीतिक दलको आडमा भ्रष्टाचार गर्नेको संख्या दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको छ। दलका कारण नै यस्ता भ्रष्टहरूले मुलुकलाई लुट्न सफल भएका छन् भने दलप्रति जनताको वितृष्णा बढ्ने क्रममा रहेको छ।

आफूलाई अब्बल भएको सावित गर्ने ती भ्रष्टहरूका बारेमा बाहिर आएको समाचारलाई विश्लेषण गर्ने हो भने दलप्रति जनताले सदाशयता देखाउनुपर्ने अवस्था देखिँदैन।

यस्ता व्यक्तिलाई आजीवन कारवासको सजायले समेत पुग्ने देखिँदैन। त्यसले यस्ता भ्रष्टहरूलाई राज्यले संरक्षण होइन कारबाहीको दायरामा ल्याउनु पर्ने वातावरण बनाउनु पर्दछ।