विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसियाका लागि क्षेत्रीय निर्देशकमा साइमा वाजेद नियुक्त



काठमाडौं  ।

स्विट्जरल्याण्डको जेनेभास्थित विश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्डले सुश्री साइमा वाजेदलाई दक्षिण–पूर्वी एसियाका लागि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकको रूपमा नियुक्त गरेको विश्व स्वास्थ्य संगठनले जनाएकोछ ।

नवनियुक्त क्षेत्रीय निर्देशकको रूपमा शपथ ग्रहण गर्दै वाजेदले बोर्ड समक्ष आफ्नो मन्तव्यमा भनिन्, “सदस्य राष्ट्रहरूले म माथि राखेको विश्वासका लागि धन्यवाद दिन चाहन्छु। धेरै काम गर्न अझै बाँकी छ, र तपाईहरू सबैसँग यो यात्रा सुरु गर्न पाउँदा म धेरै खुसी छु । आउँदा वर्षहरूमा हामीलेमिलेर पुरा गर्नुपर्ने र गर्नसक्ने सबै कुराका लागि म उत्साहित छु ।”वाजेदले फेब्रुअरी १, २०२४ देखि पाँच वर्षे कार्यकाल सुरु गर्नेछिन् ।

उनी बङ्गलादेशबाट पहिलो र विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रका लागि दोस्रो महिला क्षेत्रीय निर्देशक हुन् । गत नोभेम्बर १, २०२३ मा भारतको नयाँ दिल्लीस्थित दक्षिण–पूर्वी एसियाका लागि क्षेत्रीय समितिले उनलाई अर्को क्षेत्रीय निर्देशकको रूपमा मनोनीत गरेको थियो । आफ्नो प्राथमिकताहरुमा जोड दिँदै, नवनियुक्त क्षेत्रीय निर्देशकले भनिन्, “सर्वप्रथम लामो समयदेखि उपेक्षित क्षेत्र मानसिक स्वास्थ्यमा ध्यान दिनु पर्नेछ । जीवनको हरेक पक्षलाई असर गर्ने तर सुषुप्तरुपमा रहेको मानसिक स्वास्थ्यसम्बन्धी रोगलाई न्यूनीकरण गर्ने समय हो । म हाम्रो स्वास्थ्य सेवा प्रणाली मार्फत शारीरिक र मानसिक सु–स्वास्थ्य सुनिश्चित गर्न काम गर्नेछु ।”

त्यसैसरि दोस्रोमा गर्भवती महिलासहित सबै महिला तथा बालबालिकाहरिका लागि विशेष पहलको सुरुवात र कार्यान्वयन गर्न म सधैँ अग्रसर रहने छु । यी पहलहरू शिक्षा, सशक्तीकरण, र रोकथामलाई ध्यानमा राखेर निर्माण गरिनेछन् । उनले भनिन्, “यसका लागि आरोग्यताका साथै स्वास्थ्य परीक्षण, खोप तथा पोषण कार्यक्रमहरू, शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन, र उत्थानशीलता जस्ता विषय समावेश रहनेछन् ।” यस क्षेत्रमा हामीले प्राप्त गर्ने कुनै पनि सफलताको प्रभाव र फाइदा हामी पछिका धेरै पुस्तासम्म रहनेछ । यस क्षेत्रमा भएका सफलताहरूले समाजको माध्यमबाट समुदायको सामाजिक र आर्थिक स्वास्थ्यमा सुधार गर्ने बताइन् ।

तेस्रोमा प्रविधिको प्रयोग सम्बन्धमा हो । विगत केही दशकहरूमा यसले हाम्रो जीवनमा जनस्वास्थ्यका विभिन्न क्षेत्रहरूमा नवीनताको अनगिन्ती सम्भावनाहरूलाई प्रस्फुटन गराएको छ । स्वास्थ्य क्षेत्रमा डिजिटल क्रान्तिको प्रभाव ठुलो रहेको छ जसमा टेलिमेडिसिन र दुरदराजका बिरामीको निगरानीदेखि लिएर तथ्यांकमा आधारित निदान र व्यक्ति केन्द्रित उपचार योजना सम्म समावेश रहेको उनले बताइन् । पारदर्शी, दिगो र लगानीमा पर्याप्त प्रतिफल प्रदान गर्ने साझेदारी, सहकार्य र वित्तीय सहयोगमा वाजेदले जोड दिइन् ।

उनका अन्य प्राथमिकताकहरुमा निम्न क्षेत्रहरू समावेश छन् स्वास्थ्यमा सर्वव्यापी पहुँच – प्राथमिक स्वास्थ्य हेरचाह अवधारणामा आधारित स्वास्थ्य प्रणालीहरूको सुदृढीकरण विपन्न जनसङ्ख्याको पहिचानका लागि स्वास्थ्य असमानताहरूको अनुगमन गर्नेछ । समतामूलक अवधारणाहरू निर्माण गर्न प्रमाण र तथ्याङ्कहरूमा केन्द्रित गर्ने र सबैलाई समान आधारमा गुणस्तरीय सेवाहरूमा पहुँच सुनिश्चित होस भन्नका लागि सबै समूहहरूको आवश्यकतालाई सम्बोधन गर्ने । महामारी विरुद्धको पूर्व तयारी तथा आपत्कालीन प्रतिकार्य –महामारी विरुद्धको प्रभावकारी पूर्व तयारी र प्रतिकार्यको लागि सम्पूर्ण समुदायलाई संलग्न हुन राष्ट्रहरूलाई प्रोत्साहन गर्ने ।

विशेष गरी, स्वास्थ्य प्रणालीको सुदृढीकरणसँग पनि जोडिएको महामारी पूर्वतयारतकका लागि बहु–स्तरीय योजना निर्माण गर्ने । क्षेत्रीय र बहु–पक्षीय साझेदारी तथा सहकार्य: सदस्य राष्ट्रहरूको समग्र स्वास्थ्य योजना भित्र शिक्षा, आर्थिक, सामाजिक, गरिबी निवारण तथा विकास र विभिन्न नियामक क्षेत्रहरूको सक्रिय संलग्नताको प्रवर्द्धन गर्ने । स्वास्थ्यका सबै निर्धारकहरूलाई सम्बोधन गर्न बहुक्षेत्रसँग साझेदारी गर्ने । अनुगमन र प्रगति प्रतिवेदन – रणनीतिहरूको कार्यान्वयन मापन गर्न र निर्णय प्रक्रिया सुधार गर्न नवीनतम र सान्दर्भिक तथ्यांक र प्रतिवेदन प्रणालीहरूको निर्माण गर्ने ।

द्वन्द्व, आर्थिक र वातावरणीय संकटबाट विस्थापित आदिवासी जनजाति, शरणार्थी र आप्रवासी जनसङ्ख्याले सामना गरिरहेका लैङ्गिक असमानता, सामाजिक तथा आर्थिक चुनौती र विशेष मुद्दाहरूमा तथ्याङ्क सङ्कलन गर्ने । जलवायु परिवर्तन – राष्ट्रिय नीति, रणनीति र योजनामा जलवायु परिवर्तनका उपायहरूलाई एकीकृत गरी रोकथाम र न्यूनीकरणका लागि संयन्त्रको विकास गर्ने । जलवायु र वातावरणीय परिवर्तनका कारण स्वास्थ्यमा परेको प्रभावहरूको अनुगमन गर्ने र स्वास्थ्य क्षेत्रको उत्थानशिलतालाई प्राथमिकता दिने ।

सीमान्तकृत र जोखिममा परेका समूहहरूमा ध्यान केन्द्रित गर्ने – स्वास्थ्य पूर्वाधार योजना निर्माणमा उनीहरूको आवश्यकताहरूलाई प्राथमिकता दिई प्रतिकारात्मक र उपचारात्मक सेवाहरू प्रदान गर्न, सबैको सहभागिता सुनिश्चित गर्ने । नवनियुक्त क्षेत्रीय निर्देशक वाजेदले संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित ब्यारी युनिभर्सिटीबाट स्नातक र चिकित्सा मनोविज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरेकी छिन् ।

उनी सोही विश्वविद्यालयबाट संगठनात्मक नेतृत्वमा विद्यावारधीका लागि उम्मेद्दावर हुन् । सन् २०१९ देखि उनी मानसिक स्वास्थ्य तथा अटिजम सम्बन्धी विश्व स्वास्थ्य संगठनका महानिर्देशकको सल्लाहकार र सन् २०१४ देखि मानसिक स्वास्थ्यमा विश्व स्वास्थ्य संगठनको विशेषज्ञ सल्लाहकार समूहको सदस्यको रुपमा कार्यरत थिइन् । सन् २०१७ मा वाजेदलाई विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसियामा अटिजमका लागि सद्भावना दूत नियुक्त गरिएको थियो ।

उनले सोही वर्ष विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रको अटिजम स्पेक्ट्रम डिसअर्डर रणनीतिको सह–लेखन गरेकी थिइन् । उनी संयुक्त राज्यको ग्लोबल हेल्थ प्रोग्राम चथम हाउसमा एसोसिएट फेलो, अटिजम र नसर्ने रोगका लागि बंगलादेशको राष्ट्रिय सल्लाहकार समितिकी अध्यक्ष र शुचोना फाउन्डेशन, बंगलादेश, ढाकाकी अध्यक्ष हुन् ।

वाजेदलाई अटिजम र न्यूरोडेवलपमेन्ट डिसअर्डरका विषयमा काम गरेकोमा विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयले सन् २०१४ मा एक्सिलेन्स इन पब्लिक हेल्थ पुरस्कार र सन् २०१६ मा डा इब्राहिम मेमोरियल काउन्सिल, बंगलादेशद्वारा इब्राहिम मेमोरियल गोल्ड मेडल प्रदान गरेको थियो ।

२०१७ मा, वाजेदले दक्षिण–पूर्वी एसियामा अटिजमका क्षेत्रमा काम गरेकोमा अमेरिकी संस्था शेमा कोलाईनुबाट अन्तर्राष्टिर्य च्याम्पियन अवार्ड प्राप्त गरिन् । सन् २०१९ मा उनलाई ग्लोबल मेन्टल हेल्थ प्रोग्राम्स, कोलम्बिया युनिभर्सिटी, संयुक्त राज्य अमेरिकाद्वारा इनोभेटिभ वुमन लिडर्स इन ग्लोबल मेन्टल हेल्थ अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्