राम जन्मभूमि अयोध्यामा भगवान् रामको मूर्ति अनावरण

0
Shares

अयोध्या ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार अयोध्याको राम जन्मभूमिस्थित मन्दिरमा भगवान् रामको मूर्ति अनावरण गरिएको छ।

मन्दिरको गर्भगृहमा भएको प्राण प्रतिष्ठा समारोहमा प्रधानमन्त्री मोदीले अनुष्ठानको नेतृत्व गर्नुभएको थियो। भगवान् रामको मूर्ति अनावरण हुनेबित्तिकै भारतीय वायु सेना (आईएएफ) का हेलिकप्टरहरूले मन्दिर परिसरमा फूलको वर्षा गरेका थिए भने समारोहमा उपस्थित भक्त तथा अतिथिहरूले ‘जय श्री राम’ को नारा लगाएका थिए।

आठ हजारभन्दा धेरै अतिथि आमन्त्रण गरिएको उक्त समारोहमा राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवत, उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेल र राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थिति थियो।

ऐतिहासिक प्राण प्रतिष्ठा समारोहमा मुलुकका सबै प्रमुख आध्यात्मिक तथा धार्मिक सम्प्रदायका प्रतिनिधिका साथै आदिवासी समुदायका प्रतिनिधिसहित सबै क्षेत्रका मानिसको पनि सहभागिता थियो।

राम जन्मभूमिको निर्माण परम्परागत नगारा शैलीमा गरिएको छ । यसको लम्बाइ (पूर्व–पश्चिम) तीन सय ८० फिट, चौडाइ दुई सय ५० फिट र उचाइ एक सय ६१ फिट रहेको छ। समग्रमा मन्दिरमा कुल तीन सय ९२ स्तम्भ र ४४ ढोका छन्।

मन्दिरको जगलाई कृत्रिम रूप दिने गरी रोलर–कम्प्याक्ट कङ्क्रिट (आरसीसी) को १४ मिटर बाक्लो तहले निर्माण गरिएको छ। मन्दिरमा कतै पनि फलामको प्रयोग गरिएको छैन।

जमिनको चिसोबाट बचाउनका लागि ग्रेनाइटको प्रयोग गरेर २१ फिट अग्लो स्तम्भमुनि चौकी निर्माण गरिएको छ।