काठमाडौँ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमति पत्र (लाइसेन्स) कुरेर बसेका सेवाग्राहीलाई तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् ।
आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित विषयमा भएको एकीकृत छलफलमा प्रधानमन्त्रीले १४ लाख सेवाग्राहीलाई तत्काल लाइसेन्स उपलब्ध गराउन निर्देशन दिए ।
सवारी चालक अनुमतिपत्र फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरिसक्दा पनि लाइसेन्स नपाउनु गम्भीर विषय भएको बताउँदै यातायात व्यवस्था विभागलई तत्काल लाइसेन्स उपलब्ध गराउन प्रधानमन्त्रीले सचेत गराए । प्रधानमन्त्रीले भने, “अहिलेको समयमा सूचना–प्रविधि महत्वपूर्ण छ । हामीले इन्टिग्रिटेड प्रविधिमा केन्द्रित भएर परिणाम दिनसक्नुपर्छ । त्यसका लागि राज्यका संयन्त्रबीच समन्वय जरुरी छ ।”
प्रधानमन्त्री आफूले सेवा प्रदायक कार्यालयमा लाग्ने गरेको लामो लाइन हटाउन प्रतिबद्धता गरेको स्मरण गर्दै एक वर्षमा देखिने गरी सुधार भए पनि पूरै सुधार नभएको बताए । उनले त्यसलाई गम्भीर रूपमा ध्यान दिन र सेवाप्रदायक कार्यालयको कार्यक्षमता बढाउन निर्देशन दिए ।
“सोर्सकोड हाम्रो आफ्नै कहिलेदेखि हुन्छ भन्ने विषयमा सबैले गम्भीर भएर सोचौँ”, प्रधानमन्त्रीले भने, “स–साना प्राविधिक समस्या सुल्झाउन पनि विदेशीहरू नै बोलाउनुपर्ने स्थिति छ । रातरात सबै कुरा परिवर्तन सकिँदैन, योजनावद्ध काम गर्दा क्रमशः बदल्न सकिन्छ ।” यसका लागि दक्षजनशक्ति आफै उत्पादन गर्न सकिने उनको भनाइ थियो ।











प्रतिक्रिया