स्वास्थ्य शिक्षामा प्रधानमन्त्री दाहालको चासो

0
Shares

काठमाडौँ।

 जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण भएको छ । उनले  चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या प्याकेजमै सम्बोधन गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । यता स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य शिक्षाको मर्मलाई व्यवास्ता गर्दै बिना आधार चिकित्सा शिक्षालाई कमजोर बनाउँने अभिव्यक्ति दिदै आईरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य शिक्षाको मर्म अनुरुप प्याकेजमै अघि बढ्न निर्देशन दिनुले उनको ध्यानाकर्षण भएको प्रस्टिन्छ ।

छलफलमा प्रधानमन्त्रीले भने, “नर्सिङ शिक्षाको कुरा गरिरहँदा नर्सिङ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)को क्षेत्राधिकार बाझिने गरेको अवस्था पनि छ । त्यसलाई हामीले स्पष्ट पार्नुपर्छ ।”

चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या सम्बोधनका निम्ति छिट्टै चिकित्सा शिक्षा आयोगको बैठक बस्ने प्रधानमन्त्रीले जानकारी दिए । प्रधानमन्त्रीले भने, “चिकित्सा शिक्षा आयोगको बैठक हामी छिट्टै बस्छौँ । स्वास्थ्य क्षेत्रका समस्या के हुन्, नर्सिङ क्षेत्रका समस्या के हुन्, त्यसबारे बृहत् छलफलमार्फत एउटा निष्कर्षमा पुग्नुपर्छ । आयोगको बैठक बसेर अध्ययन समिति नै बनाएर व्यवस्थित काम गरौँ । समितिमा राष्ट्रिय योजना आयोगलाई पनि समावेश गरेर जाऔँ ।”

“ऐनले जति कुराको बाटो खोलिदिएको छ, त्यसको सम्बोधनका लागि हामीले नै तत्परता देखाउनुपर्छ”, प्रधानमन्त्रीले भने, “ऐनमा भएको व्यवस्था लागू गर्न हामी चुक्नु भएन । अहिले भएको साधन स्रोतका आधारमा गर्न सकिने काम कार्यतालिका बनाएर काम गरौँ ।”

बैठकमा प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, नर्सिङ काउन्सिलका रजिष्ट्रार शुक्ला खनाल लगायतको उपस्थिति रहेको प्रधानमन्त्री कार्यालयले जानकारी गरायो ।