राजविराजमा जनमत र प्रहरीबीच झडप, शिक्षामन्त्री र ३ सांसद घाइते

0
Shares

सप्तरी ।

सप्तरीको राजविराजमा जनमत पार्टी र प्रहरीबीच सामान्य झडप भएको छ । राजविराज नगरपालिका- १३ स्थित मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।

सो क्रममा मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएको जनमतका सचिव विपी साहले बताए । उनका अनुसार उनीहरुलाई प्रहरीको लाठी लागेको छ ।

भवन शिलान्यास कार्यक्रममा अवरोध गर्न खोजेपछि जनमतका नेता कार्यकर्तामाथि सामान्य बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

जनमत पार्टीको विरोधकाबीच राजविराजमा मधेश कृषि विश्वविद्यालयको जसपा अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गरेका छन् । राजविराज नगरपालिका- १३ मा करिब १२ विघा जग्गामा विश्वविद्यालयको आफ्नै भवन निर्माणको लागि शिलान्यास गरिएको हो ।