सहकारीको रकम ठगी गर्नेले नै पीडितको समस्या समाधान गर्नुपर्छ : आरजु राणा

0
Shares

काठमाडौँ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले सहकारीको रकम ठगी गर्नेले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्ने बताएकी छन्।

आइतबार समितिको बैठकमा बोल्दै सभापति राणाले सहकारी पीडितहरूको समस्या राज्यले समाधान गर्नुपर्ने कुराहरू बाहिर आइरहेको भन्दै राज्यले नभएर सहकारीमार्फत् पीडितहरूको रकम अपचलन गर्नेहरूले गर्नुपर्ने बताएकी हुन्।

उनले राज्यले सबै पीडितहरूको समस्या समाधान गर्न नसक्ने भन्दै ठगी गर्नेहरूबाट रकम फिर्ता गराएर समाधान गर्नुपर्ने बताइन्। उनले सहकारी ठगी गर्ने समूहलाई सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न लगाउने तर फिर्ता नगरे कानूनबमोजिम कारबाही गर्न आवश्यक रहेको पनि बताइन्।

उनले सहकारी पीडितको समस्या समाधान राज्यले गर्छ भनेर बस्न नहुने उल्लेख गर्दै सहकारी समस्या समाधानको लागि नीतिगत सुधारको लागि प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र लेख्ने बताइन्।

उनले प्रधानमन्त्री तहबाट नै सहकारी समस्या समाधानको उपाय निकाल्न सक्ने अवस्था रहेको बताइन्।

उनले सहकारी ठगी र बचतकर्ताको रकम अपचलन बचतकर्ताहरूको जीवनसँग जोडिएकाले सरकारले गम्भीर भएर दोषीलाई कानूनबमोजिम कारबाही गर्नुपर्ने बताइन्।

उनले २०७४ सालको सहकारी ऐनले बचत तथा ऋणको कारोबार पाउने गरी आएको ऐनलाई टेकेर सहकारीमा भएका ठगीहरू रोक्न कानूनलाई सच्याउन आवश्यक रहेको बताइन्।