यातायात क्षेत्रमा मौलाउँदो विकृति



काठमाडौं ।

सवारी चालक अनुमति पत्र(लाइसेन्स) वितरणमा व्यापक अनियमितता भएको खुलासासँगै अनियमितता गर्नेहरूको सातो जान थालेको छ।

पछिल्ला केही वर्षयता १ लाख लाइसेन्स शंकाको घेरामा परेका छन् भने ३५ हजार लाइसेन्स नक्कली नै भएको पुष्टि भइसकेको छ । यसरी नक्कली भएको पुष्टि हुँदा पनि विभागले ती लाइसेन्स तत्काल खारेज गर्न सकेको छैन।

नक्कली लाइसेन्सहरू तत्काल खारेज हुनुपर्छ। तर, विभागले त्यस्ता लाइसेन्सहरूलाई खारेजी गर्न किन रोकिरहेको छ भन्ने विषय आफैंमा रहस्यमय छ।

यातायात क्षेत्रमा देखिएका विकृतिहरू नयाँ भने होइनन्। लाइसेन्स वितरणमा अनियमितता ओपन सेक्रेटकै विषय हो। तर, पछिल्ला दिनमा भएका विभिन्न अनुसन्धान र छानबिनले भने यो क्षेत्र माफियाहरूको नियन्त्रणमा गइसकेको सजिलै देख्न सकिन्छ।

विगत ६ –७ वर्षमा मात्रै १ लाखभन्दा बढी लाइसेन्स शंकास्पद देखिनु आफैंमा सामान्य विषय होइन। यातायात व्यवस्था विभाग र विभिन्न यातायात कार्यालयहरूले सेटिङ गरी लिखित परीक्षा र ट्रायलबिना नै ठूलो परिमाणमा रकम लिएर लाइसेन्स बिक्री गर्ने गरेको विषयलाई सामान्य रूपमा लिनु हुँदैन।

विभागले बनाएको छानबिन समितिको प्रतिवेदनमा पनि धेरै अनियमितताका विषय उजागर भएका छन्। यो सकारात्मक छ तर विभागको छानबिन समितिले समेत केही तथ्यहरू लुकाएको विषयसमेत आइरहेका छन्।

यदि, त्यसो हो भने तथ्य लुकाउनेहरूमाथि समेत छानबिन हुन जरुरी छ। यद्यपि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी सबै विषयमा छानबिन थालेकाले यसको वास्तविकता ढिलोचाँडो उद्घाटित नै हुनेछ।

अहिले यातायात क्षेत्रमा देखिएको विकृतिको पर्दाफास भएसँगै अब यो क्षेत्रमा केही सुधार आउने विश्वास गर्न सकिन्छ। यातायात व्यवस्था विभाग र यातायात कार्यालयका उच्च पदस्थ अधिकारी तथा कर्मचारीहरू अब संवेदनशील बनेर अनियमितता रोक्ने कार्यमा लाग्नु पर्छ।

यदि, उच्च पदस्थ र कर्मचारीहरू इमान्दार भइदिने हो भने यातायात क्षेत्रमा भएका यस प्रकारका विकृतिहरू सहजै रोकिन सक्छन्। उनीहरूले हिजोका गल्तीहरू अब किमार्थ पनि दोहोर्‍याउनु हुँदैन।

अख्तियारले पनि छिटोभन्दा छिटो छानबिनलाई टुंगोमा पुर्‍याएर दोषीलाई कानुनी कठघरामा ल्याउन ढिलाइ गर्नुहुँदैन। यो प्रकरणमा यदि, अख्तियारले हिजोका दिनमा अनियमितता गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन सकेन भने आगामी दिनमा यातायात क्षेत्रमा विकृतिहरू अझै मौलाउन पुग्ने भय देखिन्छ।

त्यसैले पनि ककसले लाइसेन्स बिक्रीमा भूमिका खेल्यो ? त्यसका बारेमा एक एक खोजतलास गरी अपराधीलाई नांगेझार पार्नुपर्छ।

लाइसेन्स बिक्री गर्दा एक त राज्यकोषमा आउनुपर्ने राजस्वमा समेत क्षति पुग्ने र अर्कोतर्फ जस्ता पायो उस्तै व्यक्तिलाई लाइसेन्स दिँदा दुर्घटनासमेत बढ्ने अवस्था आउँछ।

सिकारुले लाइसेन्स पाउँदा पछिल्ला दिनमा गाडी दुर्घटना हुने क्रमसमेत बढेको छ। जसका कारण निर्दोष नागरिकहरू अनाहकमा मृत्युवरण गर्न बाध्य भइरहेका छन्।

त्यसैले आगामी दिनमा यस प्रकारका विकृतिहरूको जुनसुकै हालतमा पनि समाधान खोजिनु पर्छ। यसका लागि सरकारले समेत विकृति रोक्न विशेष पहलकदमी लिन अत्यावश्यक छ।

प्रतिक्रिया दिनुहोस्