राष्ट्रिय सडक सञ्जालमा जोडिएको १२ वर्ष बित्ता पनि भएन सडक कालोपत्रे

0
Shares

मुगु।

जिल्लामा सडक धेरै खनिए तर अहिलेसम्म सडक कालोपत्र भएको छैन । २०६९ साल पुस १ गते मुगु जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो । राष्ट्रिय सडक सञ्जालमा जोडिएको १२ वर्ष बिते पनि जिल्लामा एक मिटर सडक कालोपत्र भएको छैन ।

स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारले जिल्लादेखि गाउँसम्म डोजर लगाएर सडक खन्न होडबाजी गरेको भएपनि कालोपत्रेको लागि कुनै पहल भएको छैन । ‘मुगुमा अहिलेसम्म एक मिटर सडक पनि कालोपत्र छैन,’ जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख पदमप्रसाद देवकोटाले भने । पूर्वाधार विकास कार्यालयले ग्रामीण सडक निर्माण र सडकस्तर उन्नतिको काम गरिरहेको र बनेका सडक कालोपत्रे गर्ने काम नभएको उनको भनाइ छ ।

यहाँ अहिलेसम्म कुनै पनि सडक कालोपत्र नहुँदा सास्ती खेप्नु परेको जिल्ला समन्वय समितिका अध्यक्ष मन्जन कार्की बताउँछन् ।

सडक कालोपत्रे नहुँदा जोखिम मोलेर सवारीसाधन चलाउन र चढ्न बाध्य छन् । मुगुमा निर्माण भएका कच्ची सडकमा सवारीसाधन दुर्घटना हुँदा ४५ जनाले ज्यान गुमाइसकेका छन् भने दुई दर्जन भन्दा बढी सवारीसाधन दुर्घटनामा परेर काम नलाग्ने भएका छन् । बर्खामा हिलाम्य र हिउँदमा धूलाम्य हुँदा यात्रुलाई आउजाउ गर्न सास्ती भएको छ ।

गमगढीदेखि कालिकोट नाग्मासम्म ९४ किलोमिटर सडक निर्माण भएको १२ वर्ष भएपनि कालोपत्र नहुँदा जोखिम मोलेरै सवारीसाधन गुड्ने गरेका छन् ।
मुगु विमानस्थल ताल्चा जोडने गमगढी ताल्चासम्मको ९ किलोमिटर सडक पनि कालोपत्र छैन । पर्यटकदेखि कर्मचारी, सर्वसाधारण बढी आवतजावत गर्ने उक्त सडक कच्ची हुँदा धुलो उडाउँदै सवारी चल्ने गरेका छन् ।

गमगढी-तारापानी-सोरुकोटसम्मको ४१ किलोमिटर सडक निर्माण भएको ८ वर्षसम्म कालोपत्र भएको छैन ।

गमगढीदेखि छाइलसम्मको १८ किमी सडकको अवस्था पनि बिजोक छ । त्यसैगरी गमगढीदेखि बालैपिना सडक र खत्याड गम्थादेखि कालाकाँडा हुँदै जुम्ला गाठीज्यूला जोडने ३५ किलोमिटर सडक पनि निर्माण भएको एक दशक बितेपनि कालोपत्र नहुँदा यात्रुले हैरानी खेप्नु परेको छ ।