नवीकरणीय ऊर्जा प्रविधि सम्बद्ध संस्थाहरुको परिचयात्मक कार्यक्रम सम्पन्न 

0
Shares

काठमाडौँ ।

नेपाल नवीकरणीय ऊर्जा परिसंघले  प्रविधि सम्बद्ध संघ संस्थाहरुको नेतृत्व वर्गसँग  परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।  शुक्रबार एक कार्यक्रमकाबीच  आफ्ना साझेदार संस्थाहरुमा निर्वाचित नयाँ अध्यक्षहरु तथा  पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै नवीकरणीय ऊर्जा क्षेत्रमा क्रियाशील निजी कम्पनीहरु र फर्महरुको एकताको महत्त्व र यसबाट प्राप्त गर्न सकिने लाभका विषयमा छलफल भएको परिसंघले जनाएको छ।

परिसंघका अध्यक्ष गुणराज ढकालको सभापतित्वमा सम्पन्न  कार्यक्रममा परिसंघको आगामी कार्यक्रमहरु अन्तर्गत विभिन्न राष्ट्रिय स्तरका तथा अन्तर्राष्ट्रिय निकायहरु, विश्वविद्यालयहरु, उद्योग वाणिज्य संस्थाहरुका साथ सहकार्य गर्ने, निजी क्षेत्र मैत्री लगानी वातावरण निर्माण गर्ने, प्रविधि विकास गर्ने, जनशक्ति प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो । यस्तै लगानीका लागि सहज वातावरण बनाउन नवीकरणीय ऊर्जा लगानी कम्पनी आवश्यक भएको सन्दर्भमा पनि छलफल भएको परिसंघले जनाएको छ।

मूलतः सरकारको योजना र कार्यक्रमहरुले नवीकरणीय ऊर्जा प्रविधि विकास र प्रवद्र्धनका लागि सकारात्मक देखिए पनि नीति र कार्यान्वयन पक्ष निजी क्षेत्र मैत्री हुन नसकेको विद्यमान अवस्थामा परिसंघ र साझेदार छाता संस्थाहरु एकजुट भै नीति निर्माण तथा कार्यान्वयन प्रक्रियामा प्रभावकारी भूमिका निर्वाह गर्नु आवश्यक भएको बारे वक्ताहरुले प्रकाश परेका थिए ।

 उक्त  अवसरमा नवीकरणीय ऊर्जा विद विश्व भूष्ण अमात्य, प्रा. डा. रमेश कुमार मास्के, ग्रामीण विकास विद प्रा डा. प्रेम शर्माले  भनाइ राखेका थिए  । त्यसैगरी, शेखर अर्याल, के आर खनाल, तेजनाराण ठाकुर, कृष्ण प्रसाद पराजुली, उपेन्द्र रिमाल, यब बहादुर थापा, अर्चना सिं, सञ्जीव पोखरेल, कालिदास न्यौपाने लगायतले नवीकरणीय ऊर्जा क्षेत्र विकासमा निजी क्षेत्रको अवसर अभिवृद्धि गर्न परिसंघले सशक्त भूमिका निर्वाह आवश्यक भएको र  सोको लागि एक आपसमा समन्वय  र सहयोग अपरिहार्य भएकोमा जोड दिएका थिए ।