ओखलढुंगा ।
नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा नेपाल सरकारका पूर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौलाले बृहत् शान्ति सझौताका बेला भएका सझौताहरु अक्षरशः कार्यान्वयनका लागि राष्ट्रिय सभामा आफूले अनिवार्य जित्नु पर्ने परिस्थिति रहेको बताएका छन् ।
यही माग ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि मतदाताहरुसंग भोट माग्दै ओखलढुंगा पुगेका पूर्व महामन्त्री सिटौलाले गठबन्धनका कार्यकर्ताहरुका माझ उक्त कुरा बताएका हुन । नेपाली कांग्रेस ओखलढुंगाको कार्यलयमा भेला भएका कार्यकर्ताहरुको माझमा नेता सिटौलाले बृहत् शान्ति सम्झौतामा भएका बुँदाहरू अझै सम्म पूर्ण कार्यान्वयन नभएकाले सङ्घीयताको पूर्ण कार्यान्वयनमा निक्कै समस्या भएको समेत बताएका छन् ।
नेता सिटौलाले अझै सम्म राज्य सञ्चालनका लागी चाहीने मूल कानुनहरूको निर्माण हुन नसकेको र आवश्यक कानुन नबन्दा राज्य सञ्चालनमा निक्कै चुनौती थपिएको बताएका छन् । तत्कालीन कांग्रस सभापति गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको बृहत् शान्ति सम्झौताको साक्षी आफू रहेको र आफूले राष्ट्रिय सभामा जितेको खण्डमा बृहत् शान्ति सम्झौता ताका भएका सम्पूर्ण बुँदाहरू कार्यान्वयनका लागी सक्दो पहल गर्ने बताएका छन् ।
सम्बोधनकै क्रममा नेता सिटौलाले बृहत् शान्ति सम्झौताका बेला निर्णय गर्ने सबै नेताहरु अहिलेको गठबन्धनमा रहेकोले देश निर्माणका लागी यो गठबन्धन निक्कै फलदायी हुने बताएका छन् । राष्ट्रिय सभाको मतदाताहरुलाई सम्बोधन गर्दै नेता सिटौलाले मुलुकमा सङ्घीयताको पूर्ण कार्यान्वयन र दिगो विकासका लागि गठबन्धनका उमेदारलाई भोट हाल्न आग्रह गरेका छन्।
कार्यक्रममा नेता सिटौलासँगै कांग्रेस केन्द्रीय सदस्यहरु प्रदीप पौडयौल, प्रदीप कुमार सुनुवार, रामहरि खतिवडा, कुन्दन राज काफ्ले र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा महिला सदस्यका उमेदार चम्पा कार्की ( आशा ) को समेत उपस्थिति रहेको थियो । सबै नेताहरुले बृहत शान्ति सम्झौता कार्यान्वयनका लागि गठबन्धनका उमेदवारहरुलाई भोट दिनु पर्ने कुरामा जोड दिएका छन् ।
यसैगरी गठबन्धनका अर्का उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य आशा कार्की ( चम्पा ) ले विगत द्धन्दको बखत भएका सबै घटनालाई बिर्सेर आफूलाई राष्ट्रिय सभाको सदस्यमा निर्वाचित गराउन आग्रह गरेका छन् । गठबन्धनका मतदाताहरुलाई सम्बोधनका क्रममा उम्मेदवार कार्कीले विगतमा भएका विभिन्न निर्वाचनमा आफूले पनि इमानदारिताका साथ निर्वाह गरेकाले अहिले आफूलाई पनि सबै मतदाताले ईमान्दारीताका साथ मत दिन आग्रह गरेका छन् ।

नेकपा एमाले जिम्मेवार हुन्थ्यो भने सिटौलालाई समर्थन गर्नु पर्थ्यो- प्रदीप पौडयौल
गठबन्धनका उम्मेदवारलाई भोट माग्दै ओखलढुंगा पुगेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडयौलले यदि एमाले जिम्मेवार पार्टी भएको भए बृहत् शान्ति सम्झौताका दूत कृष्ण प्रसाद सिटौलालाई समर्थन गर्नु पर्ने धारणा राखेका छन् । सशत्रद्वन्द्वका बेला माओवादी पार्टी र तत्कालीन सरकारका बिच मध्यस्त कर्ताको भूमिका निर्वाह गरेर सिटौलाले मुलुकमा शान्ति स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले नेकपा एमाले पार्टीले समेत नेता कृष्ण प्रसाद सिटौलालाई समर्थन गर्नु पर्ने बताएका छन् ।

विगत लाई भुलेर गठबन्धनका उम्मेदवार लाई भोट हाल्नु पर्छ- प्रदीप कुमार सुनुवार
नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य प्रदीप कुमार सुनुवारले जनयुद्धको बेलाको घाउलाई बिर्सेर गठबन्धनका सबै मतदाताहरुले गठबन्धनका उमेदवाहरुलाई मत दिनु पर्ने बताएका छन् । द्वन्द्वका बेला काँग्रेसका प्राय जसो नेता कार्यकर्ताहरुले पिडा खेप्नु परेको भएता पनि मुलुक परिवर्तन र सङ्घीयता कार्यान्वयनका लागी गठबन्धनका उम्मेदवार लाई भोट हाल्न अपिल गरेका छन् ।

गठबन्धनका उमेदवारहरुको जित सुनिश्चित भई सक्यो- रामहरि खतिवडा
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा राज्या व्यवस्थापन तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गठबन्धनका उमेदवारहरुको जित सुनिश्चित भई सकेको बताएका छन् । मत भारमा प्रतिस्पर्धीहरुका भन्दा निक्कै माथि भएकाले जितको सुनिश्चितता भएकाले बधाई समेत ज्ञापन गरेका थिए ।

हामीमाथि उठेका प्रश्नको जवाफका लागि गठबन्धनका उम्मेदवारलाई भोट दिनु पर्छ- कुन्दन राज काफ्ले
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभाका सदस्य कुन्दनराज काफ्लेले हाल जनताको धेरै प्रश्न गठबन्धनमा रहेका पाटीहरु प्रति रहेकाले जनताका प्रश्नको जवाफका लागी पनि गठबन्धनका उम्मेदवार जित्नु पर्ने दाबी गरेका छन् । हामीले धेरै आन्दोलन ग¥यौ लडाईहरु लड्यौ त्यो आन्दोलन र लडाई मुलुकको परिवर्तन र दिगो विकासका लागि भएको र हाल सम्म आन्दोलनको मर्म अनुसारको परिवर्तनहरु नदेखिएकाले राष्ट्रिय सभामा जित निकाल्दै मुलुकको विकासका लागी गठबन्धनका उम्मेदवारलाई भोट दिनु पर्ने कुरामा जोड दिएका थिए ।











प्रतिक्रिया