भारतमा मन्दिरको उद्घाटन, नेपालमा माछामासु बिक्रीमा कडाइ 

0
Shares

वीरगन्ज। 

मित्र राष्ट्र भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटन हुने दिन नजिकिँदै गर्दा मध्य तराईका जिल्लाहरुमा भने माछा मासु बिक्रीमा रोक लगाइएको छ ।उद्घाटन हुने  दिन माघ ८ गते वीरगन्जका माछा–मासु र मदिराको पसल तथा होटलहरु बन्द गर्न वीरगन्ज महानगरपालिकाले निर्देशन दिई नै सकेको छ ।

 अयोध्याको राम मन्दिरको उद्घाटनकै दिन माघ ८ गते वीरगञ्ज १० घडिअर्वास्थित पुर्ननिर्मित रामजानकी मन्दिरमा पन भगवान् राम र माता सिताको मूर्ति स्थापना र प्राण प्रतिष्ठा गरिने भएकाले त्यस दिन वीरगन्जमा माछा–मासु र मदिराका पसल बन्द गर्न महानगरपालिकाले निर्देशन दिएको हो।

महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जारी गरेको सूचनामा भनिएको छ ‘अयोध्याको नवनिर्मित राम मन्दिरको उद्घाटनकै अवसर पारेर वीरगन्जको रामजानकी मन्दिरमापनि माघ ८ गते भगवान् राम र माता सिताको मूर्ति स्थापना र प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेकाले उक्त दिन कुनैपनि पशु वा पक्षीको बध, माछा–मासुको बिक्री वितरण लगायतका कार्य नगरिदिनुहुन सरोकारवाला व्यवसायीहरुलाई सूचित गरिन्छ।’

महानगरको यो सूचनालाई अटेर गरेको पाइएमा सम्बन्धी व्याक्तीलाई नियमानुसार कारबाही गरिने चेतावनीसमेत महानगरपालिकाले सूचनामार्फत दिएको छ।

 यस्तै,पर्साका अन्य स्थानीय पालिकाहरुले पनि सो दिन माछामासु बिक्री वितरण नगरिदिन आग्रह गरिसकेका छन् भने छिमेकी जिल्ला बाराको जीतपुर सिमरा,कलैया लगायतका पालिकाहरुले पनि माघ ८ गते माछामासु बिक्री वितरण नगरिदिन ब्यवसायीहरुलाई भनिसकेका छन् ।

 नेपाल र भारतबीचको सम्बन्ध निकै पुरानो रहेको र भगवान् रामका कारण पनि सम्बन्ध झनै बलियो रहेकाले पनि त्यस दिन नेपालमा पनि विभिन्न कार्यक्रम रहेकाले माछा मासु बिक्रीमा रोक लगाइएको हिन्दुवादीहरुले बताएका छन् ।