सर्भेमा दक्ष जनशक्ति उत्पादन गर्दै भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र

फिल्डमै प्रयोगात्मक प्रशिक्षण पाउँदा प्रशिक्षार्थी उत्साही

56
Shares

लुम्सालबेसी,काभ्रे । 
सर्भे क्षेत्रमा दक्ष जनशत्ति उत्पादन गर्ने उत्कृष्ट संस्थाको रूपमा परिचित भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलमा सिनियर र जुनियर तहको प्रशिक्षक लिइरहेका प्रशिक्षर्थिहरु अहिले तेमाल गाउँपालिका वडा नम्बर ८ मा प्रयोगात्मक प्रशिक्षण लिइरहेका छन् ।

एक वर्षे तालिममा तीन महिना फिल्डमै बसेर परम्परागत देखि अत्याधुनिक उपकरण मार्फत प्रयोगात्मक प्रशिक्षण लिन पाउँदा प्रशिक्षार्थी उत्साही भएका छन् । नाप नक्सामा प्रयोग हुने पुरानो प्रविधि टेप, प्लेन टेबल, चेन मात्र हैन आधुनिक प्रविधि टोटल स्टेशन, जिपिएस, जिपिएस तथा अत्याधुनिक प्रविधि ड्रोन अनम्याण्ड एरियल भेहिकल जस्ता उपकरण प्रयोग गरी प्रशिक्षर्थिहरुले सर्भेको ज्ञान हासिल गरिरहेका छन् ।

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलमा हरेक वर्ष जुनियर तालिम तर्फ खुला तर्फ विज्ञान विषय लिई प्लस टु पास गरेका २४ जना र आन्तरिक तर्फ अमिन तथा सर्वेक्षकमा जागिर खाइरहेका २४ जनालाई तालिम दिन्छ भने सिनियर सर्भे कोर्ष तर्फ १७ जनालाई तालिम दिन्छ । सिनियर सर्भे कोर्ष गर्न विएस्सि वा भूगोल विषय लिई स्नातकोत्तर गरेको वा जुनियर कोर्ष लिएर कम्तीमा ५ वर्ष सेवा गरेको हुनुपर्ने छ ।

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रबाट जुनियर सर्भे कोर्ष गरेका प्रशिक्षार्थी लोकसेवा आयोगले लिने परीक्षामा सुब्बा सरह तहमा वा सर्वेक्षक पदमा प्रतिस्पर्धा गर्न पाउने छन् भने सिनियर सर्भे कोर्ष गरेका प्रशिक्षार्थी अधिकृत स्तरको प्रतिस्पर्धामा भाग लिन योग्य मानिनेछन् । परम्परागत देखि अत्याधुनिक सम्मको उपकरणको प्रयोग गरी  फिल्डमा आएर प्रशिक्षण लिँदा सिकाई निकै प्रभावकारी हुने अनुभव भएको पनौती कुशादेवीकी सविता सापकोटा बताउछिन । जुनियर सर्भे कोर्ष गरिरहेकी सापकोटाले प्लस टु पास हुदासाथ सर्भे प्रशिक्षण लिन आएको बताइन् ।

पुरानो प्रविधिबाट नाप नक्सा गर्दा समय, जनशक्ति, सर्च बढी लाग्नुका साथै शुद्धता समेत कम हुने बताउँदै नापी विभागबाट प्रशिक्षण लिन आएकी रेणुका गिरि भन्छिन्– नयाँ प्रविधिले डाँडा सुरक्षा, शुद्धताका साथै समयको समय बचत हुने गर्छ । यस्तो तालिमले आफ्नो वृत्ति विकासमा सहयोग पुग्ने बताउँदै नापी कार्यालय सिन्धुलीबाट प्रशिक्षण लिन आएका हरिकृष्ण लामिछाने भन्छन्– नयाँ प्रविधिको सिकाई भएकोले अब आम जनतालाई लिने सेवामा समेत सकारात्मक प्रभाव पार्न सकिन्छ ।

सर्भे प्रशिक्षणमा फिल्डमै प्रभावकारी सिकाई पाएपछि नापी विभागमा कार्यरत डोल्मा तामाङ पनि अब नयाँ प्रविधिको प्रयोगबाट सेवाग्राहीलाई प्रभावकारी सेवा दिन सकिने बताउँछिन् । यस वर्ष भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलमा सिनियर र जुनियर कोर्सको तालिम लिइरहेका प्रशिक्षर्थिहरुलाई तीन महिना  तालिम दिन तिमाल गाउँपालिका ८ लुम्सालवेशीमा क्याम्प नै खडा गरेर फिल्डमै प्रशिक्षण दिइरहेको बताउँदै केन्द्रका कार्यकारी निर्देशक सहसचिव जनकराज जोशी भन्छन्–

प्रत्येक वर्ष प्रशिक्षर्थिहरुलाई यसै गरी फिल्डमै ल्याएर   तीन महिने सर्भे क्याम्प सञ्चालन गछौ । यसो गर्दा प्रशिक्षर्थिहरुलाई प्रयोगात्मक ज्ञान बढ्नुका साथै परम्परागत प्रविधि देखि अत्याधुनिक प्रविधिबाट नाम नक्सा गर्न सक्षम हुने उनको भनाई थियो । भूमि नापजाँच तथा सर्भेको विभिन्न किसिम हुने भएकोले विकास निर्माण होस वा अन्य कामको लागि अनिवार्य विषय वनेको नाप नक्सामा दक्ष जनशक्ति उत्पादन गर्दै आएको भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रले जिल्ला न्यायाधीश, स्थानीय पालिकाका प्रमुख उपप्रमुखहरूलाई समेत बेला बेला प्रशिक्षण दिँदै आएको  छ ।

अहिले लुम्सालबेसीमा सञ्चालन भइरहेको क्याम्पमा प्लेनटेवल जस्ता परम्परागत यन्त्र उपकरण देखि स्याटलाइट, ड्रोन, जिपिएस जस्ता अत्याधुनिक यन्त्र तथा उपकरणबाट सर्भे र नक्साङ्कन गर्न सिकाइ रहेको बताउँदै केन्द्रका निर्देशक उपसचिव रामकुमार सापकोटा भन्छन्– कुनैपनि विकास निर्माणको लागि गरिने पहिलो कार्य नै नाप, नक्सा, सर्भे हो । यो तीन महिनाको अवधिमा प्रशिक्षार्थिहरुले सर्भे गर्ने आधारभुत कुरा  देखि उच्चस्तरको प्रविधि प्रयोगमा समेत प्रयोगात्मक रूपमा सबल सापकोटाको भनाई छ  ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत विभाग स्तरीय कार्यालयको रूपमा रहेको भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेल अन्तर्राष्ट्रिय स्तरको संस्था हो । नाप, नक्सा र भूमि व्यवस्थापन सम्बन्धी देशलाई आवश्यक पर्ने करिब ९० प्रतिशत जनशक्ति यही बाट उत्पादन भएका छन् । निर्देशक सापकोटाले जानकारी दिए अनुसार व्यक्तिको जग्गाको सामान्य नाप नक्सा गर्ने कित्ताकाट गर्ने मात्र नभै भूमिको हरेक किसिमले पुरै व्यवस्थापन सम्मको कार्य गर्न सक्षम जनशक्ति उत्पादनमा प्रशिक्षण केन्द्रको योगदान रहेको छ ।

पहिले नापी तालिम केन्द्रको रूपमा रहेका भूमि प्रशिक्षण केन्द्रले काठमाडौँ विश्वविद्यालय सँगको सहकार्यमा सन २००९ देखि जियोमाट्रिक इन्जिनियर समेत उत्पादन गर्दै आएको छ । यो कोर्सको लागि सरकारले ४ जनालाई पुरा र २१ जनालाई ३५ प्रतिशत छात्रवृत्ति दिएको छ । यहाँबाट अहिले सरदर ४० जना जियोमाट्रिक ईन्जिनियर उत्पादन भइरहेका छन् ।

केन्द्रका निर्देशक सापकोटाले जानकारी दिए अनुसार देशभरको कित्ता नापी, भूमि लगत लिन दक्ष जनशक्ति उत्पादन गर्न २०२५ सालमा स्थापना भएको यो केन्द्र  अहिले सम्म आइपुग्दा  विश्वका  जुनसुकै देशमा समग्र भूमि व्यवस्थापन सम्बन्धी कार्य गर्ने प्राविधिक उत्पादन हुने केन्द्रको रूपमा विकसित भएको छ ।