सवारी दुर्घटना न्यूनीकरणमा ध्यान देऊ



काठमाडौं ।

गत शुक्रबार र शनिबार दाङको भालुवाङ तथा काठमाडौंको चन्द्रागिरिलगायत स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १७ जनाभन्दा बढी निर्दोष नागरिकले अकालमा ज्यान गुमाउनु पर्‍यो।

सडक दुर्घटनालाई प्राकृतिक प्रकोपका रूपमा लिने गरिए पनि मानवीय कारण मुख्य हो। दुर्घटना हुनुमा सरकारको गैरजिम्मेवारीपन र कुशासन पनि कारक मानिन्छ।

सरकारी निकायले सडकको अवस्थामा सुधार ल्याउन नसक्दा पनि सडक दुर्घटना हुने क्रम बढेको छ। ट्राफिक प्रहरीको लापारबाही र संवेदनहीनताका कारण पनि सवारी दुर्घटना बढिरहेको छ।

दाङमा चालकको कमजोरीका कारण बस दुर्घटना भएको हो। चालकले बसलाई राम्ररी परीक्षण नगरी तीव्र गतिमा हिँडाएका कारण बस दुर्घटनामा परेको देखिन्छ । जसले गर्दा निर्दोष १२ जनाले अकालमा ज्यान गुमाउनु पर्‍यो।

यस्तै, काठमाडौंको चन्दागिरि क्षेत्रमा भएको दुर्घटनामा एक डक्टरको सबै परिवार नै सखाप भयो। स्वदेशमा नै केही गरौँ भनेर बसेका डाक्टर आफूसहित आफ्ना छोराछोरी तथा ससुरा बुबा र ससुरा आमासमेत गरी सबैजना मृत्युवरण गर्नु परेको छ।

चन्द्रागिरिबाट चित्लाङ जाने बाटोमाा ढुंगा नै ढुंगाले भरिएको छ। शनिबार भएको चिकित्सक परिवारको मृत्यु अव्यवस्थित र भद्रगोल अवस्थामा रहेको सडककै कारण भएको प्रहरीले बताएको छ।

सो बाटोमा गतवर्ष भएको दुर्घटनामा २ जनाको मृत्यु भएको थियो। राजधानी नजिकै रहेको सो बाटोको अवस्था त त्यस्तो दयनीय छ भने अन्यत्रको अवस्था के होला भनेर सहजै अनुमान लगाउन सकिन्छ।

सडकको दूरवस्थालाई हटाउने र यात्रुलाई हिँड्न सहज बनाउने दायित्व सरकारी निकायको हो। तर हाम्रा सरकारी निकायहरू यो महत्वपूर्ण दायित्वबाट च्यूत भइरहँदा देशका होनाहार नागरिकले अकालमा ज्यान गुमाउनुपरेको छ।

हामीकहाँ सडकमा हिँड्दा निकै जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता छ। वर्षौंअघि बनेका सडकको उचित मर्मत सम्भार हुन सकेका छैनन्। बनेका सडक पनि वर्ष दिन नबित्दै भत्कने गरेका छन्। सरकारी निकाय र ठेकेदारको मिलेमतोमा कमिसनको खेल हुँदा सडकहरू गुणस्तरीय बन्न नसकेका हुन्।

निर्माण भएका सडकहरूको पनि उचित अनुगमन हुन सकेको छैन। सरकारले नेपालका विभिन्न ठाउँमा रहेका सडकको सशक्त अनुगमन र रेकर्ड राख्न सकेको छैन। जसका कारण बिग्रिएका र मर्मत हुनुपर्ने सडकहरू समयमा नै मर्मत हुन सकेका छैनन्।

सडकहरू समयमा नै मर्मत नहुँदा हिँड्ने यात्रुले निकै कष्ट मात्रै भोग्नुपर्ने होइन, सडक दुर्घटना हुँदा निर्दोष नागरिकले अनाहकमा ज्यान गुमाउनु परिरहेको पीडादायी अवस्था छ।

गृह मन्त्रालयका अनुसार मुलुकमा सडक दुर्घटनामा परी वार्षिक २५ सय मानिसले अकालमा मृत्युवरण गरिरहेका छन्। सरकारका विभिन्न सरोकारवाला निकाय तथा ट्राफिक प्रहरीले सडक दुर्घटना रोक्न विभिन्न सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको भए पनि ती कार्यक्रम प्रभावकारी हुन सकेका छैनन् । यातायात सञ्चालकको पनि कमजोरी देखिन्छ।

यातायात सञ्चालकले क्षमतावान चालक नराख्दा पनि दुर्घटना हुने गरेको छ। चालकमा पनि कुन बाटोमा के कसरी यातायातका साधन चलाउने भन्ने कुराको बोध हुनैपर्छ। कतिपय दुर्घटना चालकले अत्यधिक गतिमा गाडीहरू हुईंकाउने गर्दा पनि अनियन्त्रित भई दुर्घटना हुने गरेको छ।

सडक दुर्घटनालाई कम गर्न मुख्य रूपमा सरकारी निकायले देशभरका सडकहरूको उचित अनुगमन गरी मर्मत सम्भार गर्नुपर्छ। ट्राफिक प्रहरीले सवारी अनुगमनलाई प्रभावकारी बनाउनु पर्छ। चालकको अवस्थाका बारेमा पनि अनुगमन हुन आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्