तरुल उत्पादन बढ्यो, व्यापार भने कम

0
Shares

नवलपरासी। 

 माघी अर्थात माघे संक्रान्तिमा खाइने विविध खाद्यवस्तु मध्ये तरुलको उत्पादनमा यस वर्ष वृद्धि भएको छ ।
पूर्वी नवलपरासीकाे नवलपुर क्षेत्रबाट करिब ६० टन तरुल  काठमाडौँ, पोखराका मुख्य बजारमा पुगेको व्यवसायी कृष्ण बहादुर सारूले बताए ।

यहाँका अरूणखाेला, झ्यालबास, कावासाेती, दलदलेका मुख्य बजारमा सङ्कलन गरी  व्यापारीले जिल्लामा उत्पादित तरुल स्थानीय तथा बाह्य बजारमा पठाउने गर्दछन् ।यस वर्ष यहाँका पहाडी बुलिङ्गटार, बाैदिकाली, हुप्सेकाेटका अर्खला, राईकाेट, धवादी, नरम, रूम्सी, मोहन डाँडा क्षेत्रमा तरुलको उत्पादन बढेको किसानहरू बताए ।

तरुलको उत्पादन बढे पनि ग्राहककाे क्रयशक्ति घटेका कारण बिक्रीमा कमीका  साथै मूल्यमा समेत गिरावट आएको तरुल व्यापारी सारूकाे कथन छ ।

तरुल र यसकाे स्वादका हिसाबले पन्जे तरुल सबै भन्दा मीठो हुने कावासोतीकी मञ्जु अधिकारीले बताइन् ।

यहाँको पहाडी र भित्री तराई  क्षेत्रमा पन्जे र मुढे च्याउकाे उत्पादन बढी हुने गरेको छ।
हिउँद लागेसंगै ठूलाे एकादशीदेखि बजारमा आउने सखर, पिँडालु र तरुल मध्ये पन्जे तरुल १ सय रुपैयाँ प्रतिकेजी खुद्रा बिक्ने गरेको फलफूल चोक हाट बजारका व्यापारी ईश्वर भण्डारीले बताए ।

कृषि  ज्ञान केन्द्र नवलपुरकाे तथ्यांक अनुसार गत वर्ष जिल्लाकाे ४ हेक्टर जमिनमा गरिएको व्यवसायीक तरुल खेतीबाट ५१ मेट्रिकटन उत्पादन भएको थियो ।