फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

0
Shares

हेटौँडा ।

 २०६३ जेठ १९ गते मकवानपुरको साबिक टिष्टुङ गाविस वडा–४ (हाल थाहा नपा वडा–१२) गैरीगाउँ बस्ने वर्ष ७२ का सानो लाहुरे तामाङलाई कुटपिट गरी हत्या गरेको घटनापश्चात् फरार रहेका २ जना पक्राउ परेका छन् ।

ती प्रतिवादीउपर अदालतबाट भएको फैसलाउपर लागेको कैद बेरुजु फर्छ्यौटका लागि इप्रका पालुङबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा फेला पारेर फैसला कार्यान्वयनका लागि अदालतमा पेस गरेको छ ।

साबिक टिष्टुङ गाविस वडा–४ (हाल थाहा नपा वडा–१२, गैरीगाउँं) बस्ने घटौरे, मोटे स्याङ्तान भनिने रामचन्द्र स्याङ्तान (४५) लाई कर्तव्य ज्यान मुद्दामा २०६७ असोज ८ गते २० वर्ष कैद तोकिएको थियो । उनीसँगै सार्की माइला भनिने कालु गोले पनि पक्राउ परेका छन् । वर्ष ५० का उनी  मकवानपुरको साबिक टिष्टुङ गाविस वडा–४ (हाल थाहा नपा वडा–१२, गैरीगाउँ) का स्थायीबासी हुन् । उनी पनि कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका अभियुक्त हुन् । उनीहरु घरबाट पक्राउ परेका छन् ।

जिल्ला अदालतबाट कैद तथा जरिवाना ठहर भई फरार रहेका प्रतिवादीहरुको खोजतलास गरी फैसला कार्यान्वयन गर्ने, दण्डहीनता अन्त्य र कानुनी तथा विधिको शासन स्थापित गर्ने उद्देश्यलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्राथमिकतामा राखी सोहीअनुरूप कार्यान्वयन गर्दै आएको बताएको छ ।