असफल शासकको सत्ता मोह



काठमाडौं ।

तीन–तीनपटक सत्ताको कुर्सीमा बस्दा पनि असफल शासकका रूपमा दर्ज भएका प्रधानमन्त्री पुष्पकमल दाहालले असफल शासकका रूपमा उभिइरहेका छन्। केही दिनयता प्रधानमन्त्री दाहाल नेतृत्वमा रहेको सरकाले तीन जना होनहार युवा जनशक्तिको निर्ममताका साथ हत्या गरेको छ।

सर्वप्रथम हत्या गरिएका अछामका २२ वर्षे युवक वीरेन्द्र शाह, दैलेखका सुजन रावत र सर्लाहीका जयसंकर साहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु हाम्रो कर्तव्य हो। पटक–पटक सत्तारोहरण गर्दै र असफल बन्दै अनि अरूलाई विविध लाञ्छना लगाउँदै सत्ताबाट बाहिरिनु यी असफल शासकहरूको कार्यक्रम नै भइसकेको छ।

प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका १ वर्षको समय पूरा भएको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन पनि गरेका थिए। उनको सम्बोधनको भाषा हामीले २०५२ सालदेखि हजारौँ नेपाली युवालाई झुक्क्याएर हामी युद्ध जितेको खण्डमा सम्पूर्ण देश हाम्रै हुन्छ भन्ने झुटा आश्वासन दिएर भए पनि १७ हजार युवाको ज्यान लिन सकियो।

आफू ३ पटक सत्तारोहण गरेको भए पनि नेपाली जनतालाई झुक्याउने र विदेशी मालिकलाई रिझाउने काम अझै सम्पन्न हुन नसकेका कारण अझै पनि हाम्रो झुक्याइलाई विश्वास गरेर सत्ताको कुर्सीमा विराजमान हुन निर्बाध रूपमा दिइरहनु होला भन्नेजस्तो आशय प्रकट गर्दै थिए।

तीन तीन पटक प्रधानमन्त्री भएर पनि कुनै क्षेत्रको विकासको पूर्वाधार बनाउनु त परै जाओस् जेलमा सड्दै गरेको ज्यानमारा अपराधीलाई अनेक बहनाबाजी लगाएर जेलबाट मुक्त गर्ने र पुनः समाजमा आतङ्क फैलाउने जस्ता समाज विरोधी तथा जनविरोधी काम गरेर सबैतिरबाट असफल भइसक्दा पनि विदेशी मालिकले चाहेको मिसन पूरा नगरी नहुने भएकोले सत्ताको कुर्सीमा बसेर देश र जनतालाई केही दिनुको साटो हिंसा र हत्याको बाटो लिन थाल्ने सरकार सत्ताको कुर्सीमा किन टाँसिइरहनुको अर्थ छैन।

आफू र आफ्नो सत्ता चौतर्फी रूपमा असफल हुँदै जाँदा मात्र होइन अहिलेको राज्य सत्ताकले लाखौँ नागरिकको आलोचना सहनुपरेको छ। आलोचना सहन नसकेर यो सरकार कहिले सञ्चार माध्यममा प्रसारण हुने व्यंग्यात्मक प्रस्तुति टिकटकमाथि प्रतिबन्ध लगाएर आफू बँच्न खोज्छ, कहिले देशको एउटा सचेत युवाले सञ्जालमा गाएको गीतले आफूलाई मर्म पार्ने सोचेर कार्वाहीको नाममा अराजक व्यवहार गर्छ।

यति धेरै साँघुरो बिचार बोकेर देश चलाउन मात्रै त जसरी तसरी सकिएला तर देश र जनताले अर्काको आदेशको भारी बोक्ने सरकारबाट के आसा गर्नु र कसरी भरोसा लिन सकिएला ? देश र आफ्ना जनताको माया नभएको र विदेशी शक्तिको इसारा र योजनामा चल्दै गरेको सरकारले अलिकति नैतिकताको थोपो रहेको छ भने म असफल भएँ, अब कोही सफल बन्ने व्यक्तिले शासन चलाओस् भनेर राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ कि पर्दैन ?

आज देशमा डरलाग्दो रूपमा बेरोजगारीको संख्या बढेर गएको छ। शासकले आफ्ना मोज मस्तका लागि विदेशीसँग ऋण काढ्दै उडाउँदै गरेका छन् । त्यो ऋण तिर्नका लागि हामी आम नेपालीका टाउकामा साठ हजारभन्दा अधिक ऋणको भार थोपरिएको छ। भएका उद्योग धन्दाहरू कौडीका भाउमा बेचेर खाइसकेको अवस्था छ।

स्वदेशमा बाँच्न सक्ने खालको रोजगारीको अवसर हुन्थ्यो भने यति धेरै युवा विदेश जाने थिएनन्। हाम्रा युवाहरू विदेश गएर कमाएर पठाएको रेमिट्यान्सले देश चलिरहेको छ। आज आएर विदेश जान पाउँ भनेर आन्दोलन गर्दै गर्दाको क्रममा युवा जनशक्ति अनाहकमा मारिनुपरेको छ। कैयौँ युवा घाइते भएर उपचारको क्रममा रहेका छन्।

यदि, सरकार वा शासक नालायक हुँदैनथ्यो र देशपे्रमी हुन्थ्यो भने २०६२ सालदेखिको यो अवधिमा विकासका काम धेरै वटा सम्पन्न हुने थिए। तर, आज आएर अबका नेपाली जनतालाई झुक्याएर आफू शासनको मस्तीमा डुबिराख्न सम्भव हुने रहेनछ भन्ने कुरा प्रमाणित हुन जान्छ। तर, नैतिकताको थोपो पनि वास्ता नगर्ने हाम्रा शासकहरूको मनोदशा यस्तै विषादपूर्ण रहेको हुनाले हामीले धेरै समय अगाडिदेखि धेरै प्रकारका दुःख कष्ट खेप्दै वा झेल्दै आउनुपरेको छ।

शासकले आफ्नो देशका आम नागरिकलाई विभिन्न क्षेत्रमा उनीहरूका स्तरअनुसारका रोजगारीका अवसर सिर्जना गराउने हो । तर, प्रचण्ड सरकार तीन पटकसम्म शासकको कुर्सीमा विराजमान हुँदाका कालखण्डमा विभिन्न स्थानीय निकायमा केही हजार ९ बढीमा तीन हजारसम्मले, मन्त्री र प्रधानमन्त्रीको कार्यालहरूमा केही हजारले बाहेक कुन नयाँ उद्योग स्थापना गरेर कति हजारलाई रोजगारी प्रदान गर्न सकिएको छ ? हरेकपटक सरकार परिवर्तन हुँदाको समयमा यति हजारलाई रोजगारी प्रदान गर्ने भनेर झुटो आश्वासन बाँडिएको हुन्छ ।

तर, वास्तविकता भनेको तिनै मन्त्री वा प्रधानमन्त्री छोरा नाति वा आफन्त, स्थानीय निकायका ठेकेदार दलाल जनप्रतिनिधिका सन्तान वा आफन्तभन्दा अरूले घुस्रन पनि पाउँदैनन् । स्वदेशमा त रोजगारी दिन सकेनौ अब जसरी भए पनि बाँच्नका लागि विदेश जान्छौँ न त भनेर भएको जमिनको टुक्रो बेचेर हो कि, साहुसँग ऋण काढेर हो कि, पचास ओटा लफडा भिर्दै सबै कागजात तयार पारेर विदेश जान लाग्दा पनि सरकार स्वयम् बाधक बनेर कसैलाई यातना दिन्छ, त कसैलाई मार्छ पनि। सरकारको यस्तो बर्बर दमनकारी नीति आम नेपाली जनताले कहिलेसम्म सहेर बस्ने ?

यही पौष महिनाको १३ गते बालकुमारीमा युवाहरूले मन्त्री प्रकाश ज्वालाको गाडी जलाएर ध्वस्त बनाएका भए पनि मन्त्रीलाई सकुशल छोडेका थिए । युवा आवेग बढेर चरम उत्कर्षमा पुग्दै गरेका बेला र सरकारप्रतिको चरम उपेक्षा बढेका बेलामा उनीहरूले संयमित भएरै मानवीय क्षति नहोस् भनेर मन्त्रीलाई सकुशल पठाउनु र गाडीमा मात्र आगजनी गरेका थिए भने सरकार भनेको ती सबैको अभिभावक हो।

अभिभावकले अझै बढी संयम अपनाउनुपर्ने हो कि होइन ? गाडी जलाएको बदलामा त्यै पनि अभिभावकीय भूमिकामा रहेको सरकारको प्रहरीबाट भोलिका देशका होनहार, कर्णधार युवालाई आवेगका भरमा गोली ठोकेर मार्नु सरकार पक्षको सरासर गलत कदम मान्नुपर्छ । यस्तो गलत कामको सबैले भत्र्सना गर्नुपर्ने हुन्छ।

सत्ता चलाउने हुँ भन्ने शासकले जनदमन गरेर सत्ता चलाएर मात्रै पुग्दैन। जति धेरै मात्रमा जनदमन हुन्छ, त्यति नै ठुलो विद्रोहको डर रहन्छ । तैपनि शासक निष्पाप कर्मको रहेछ भने ऊप्रतिको सहानुभूति अलि धेरै राखेर विद्रोहलाई मत्थर पनि बनाउँला।

प्रधानमन्त्री दाहाल सरकारले अब पनि सुधारेर लैजान्छु भन्ने प्रतिबद्धता जाहेर गर्नु भनेको दालभात खाएसरहको भनाइ मात्र हो । यो भनाइ केवल केही दिन भए पनि सत्ता टिकाएर विदेशीले भनेको वा चाहेको मिसन पूरा गराउनका लागि मात्र हो ।

सरकारमा नेपालको हालको वास्तविक आवश्यकता के हो ? आफ्नो सरकारले ती आवश्यकतालाई कसरी सम्बोधन गरेर पूरा गर्ने दिशामा जान्छ भन्ने कुरा थोरै पनि आएको छैन । केवल विदेशी प्रभुलाई रिझाउनका लागि गरिने कुराको फेहरिस्त मात्र दर्साएका छन्।

भ्रष्टाचार उन्मूलन गर्छु भनेर प्रतिबद्धता जाहेर गरेका प्रधानमन्त्री प्रचण्डले एक/दुई जना भ्रष्टलाई समाउन लगाएर नेपालको मन जित्न खोजेकै हुन् । तर, जब पूर्व प्रधानमन्त्री पत्निलगायत पक्राउ पर्ने पालो आउँदै थियो त्यस कार्यक्रमलाई त्यहीँ पटाक्षेप गरेर मौनता साँधेर बस्न थाले ।

यदि, भ्रष्टाचारको उन्मूलन गरेरै छाड्थे भने विगतमा उनी स्वयमले भ्रष्टाचार गरेका थिए भने आफू पनि दोषी ठहरेर जेल जान र सजाय भोग्न तयार रहनुपर्ने हुन्थ्यो । त्यसैले असफल बन्दै गएको शासकको अन्तिम अस्त्र भनेको हत्या हिंसाको बाटो अपनाएर भए पनि सत्ता जोगाउन खोज्नु हो ।

प्रतिक्रिया दिनुहोस्