यो वर्षको एसईई नयाँ पाठ्यक्रममा

उत्तीर्ण हुन ३५ प्रतिशत अंक ल्याउनुपर्ने



काठमाडौं ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नयाँ पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन गरिने भएको छ। अक्षराङ्क पद्धतिअनुसार परीक्षार्थीको मूल्याङ्कन गरिने परीक्षामा ३५ प्रतिशतभन्दा कम ल्याउने परीक्षार्थीको ग्रेडसिटमा ननग्रेडेड अर्थात् (एनजी) उल्लेख हुने भएको छ।

गत वर्षको परीक्षामा यो व्यवस्था थिएन। ई ग्रेड ल्याउनेले ग्रेडवृद्धि परीक्षा दिनुपर्ने व्यवस्था थियो । गत वर्ष जतिसुकै विषयमा जुनसुकै ग्रेड ल्याए पनि पुनः परीक्षा दिन पाइने व्यवस्था थियो।

यो वर्ष दुई विषयमा ननग्रेड (एनजी) ल्याउने विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षा दिने व्यवस्था हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्थाको कारण विद्यार्थीलाई मानसिक तनाव बढ्न सक्ने दाबी गर्नुभयो।

उहाँले नयाँ पाठ्यक्रममा नयाँ व्यवस्था हुने भएपछि विद्यार्थीमा मानसिक त्रास बढ्ने र परीक्षामा अमर्यादित क्रियाकलाप हुन सक्ने जिकिर गर्नुभयो।

परीक्षामा २ विषयमा ३५ प्रतिशत अंक ल्याउन ग्रेडवृद्धि परीक्षामा सहमागी हुन पाउनेछन्। तीन विषयमा ३५ प्रतिशत अंक ल्याए आउँदो वर्ष सबै विषयमा परीक्षा दिनुपर्ने हुन्छ।

बोर्डले यस वर्षको एसईई आगामी चैतको पहिलो साताबाट सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। मिति भने अझै तय भएको छैन। आगामी चैत ६ गतेबाट परीक्षा सञ्चालन हुन सक्ने तयारीमा रहेको छ।

जाजरकोट भूकम्पका कारण परीक्षा सर्न सक्ने आशंका थियो । बोर्डका अध्यक्ष महाश्रम शर्माले तालिकाअनुसार नै परीक्षा सञ्चालन हुने जानकारी दिनुभयो।

यसअघि रापबोर्डले जाजरकोट र रूकुमपश्चिममा भूकम्पका कारण पठनपाठन भएकाले परीक्षा सर्न सक्ने जनाएको थियो। बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा ती जिल्लाको स्थलगत अनुगमन गरेपछि भूकम्पका कारण परीक्षा सार्न नपर्ने स्पष्ट पार्नुभयो।

दुई जिल्लाको ६ स्थानीय तहअन्तर्गतका विद्यालय अनुगमन गरेपछि हिजो बुधबार राजधानी फर्किएका बोर्ड अध्यक्ष शर्माले तालिकाअनुसार नै परीक्षा सञ्चालन हुने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘ती स्थानीय तहका करिब २ हजार ८ सय विद्यार्थी प्रभावित भएका छन्, उनीहरूलाई व्यवस्थित गरेर परीक्षा दिने व्यवस्था गर्ने तयारी गरेका छौं।’

बोर्डका अनुसार जाजरकोटमा करिब २ हजार १ सय र रूकुम पश्चिममा करिब ७ सय विद्यार्थी प्रभावित भएका छन्। ‘जाजरकोट र रूकुमपश्चिममा भूकम्प जाँदा त्यहाँ बिदा थियो, त्यसैले कक्षा १० का विद्यार्थीलाई भूकम्पका कारण पठनपाठनमा निकै असर पुर्‍याएको देखिएन। पठनपाठन चालु छ । परीक्षा सानुपर्ने अवस्था देखिएन’ –उहाँको भनाइ थियो।

परीक्षामा करिब ५ लाख विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक पौडेलले यो वर्ष कोशी प्रदेशमा ३९ हजार, ६ सय ७५ छात्र र ४० हजार ४ सय ८४ छात्रा, मधेसमा ४२ हजार ४ सय ६ छात्र र ४० हजार ७ सय ७९ छात्रा, वागमतीमा ५३ हजार ३७ छात्र र ५० हजार ४ सय २० छात्रा, गण्डकीमा २१ हजार ६ सय ३६ छात्र र २० हजार ८ सय ५३ छात्रा सहभागी हुने जानकारी दिनुभयो।

लुम्बिनीबाट ४५ हजार २ सय २१ छात्र र ४५ हजार ८ सय ५२ छात्रा, कर्णालीबाट १६ हजार २ सय छात्र र १६ हजार ३ सय १८ छात्रा र सुदूरपश्चिम प्रदेशबाट २७ हजार ८ सय ९ छात्र र २८ हजार ७ सय १६ छात्रा सहभागी हुनेछन्।

बोर्डले प्रश्नपत्र निर्माण र परीक्षाफल प्रकाशित गर्नेछ। प्रदेश मन्त्रालयको सामाजिक विकास मन्त्रालयका सचिवको अध्यक्षतामा हुने परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले परीक्षा सञ्चालन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्