लमजुङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा भरतकुमार श्रेष्ठ 

0
Shares

लमजुङ। 

व्यवसायीहरूको छाता संगठन लमजुङ उद्योग वाणिज्य संघको अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन भएको छ । संघको अध्यक्षमा भरत वर्तमान  द्वितीय उपाध्यक्ष भरतकुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो ।

समितिको प्रथम उपाध्यक्षमा विकास श्रेष्ठ,  द्वितीय  उपाध्यक्षमा कृष्णजङ गुरुङ, तृतिय उपाध्यक्षमा प्रदीप बस्नेत चयन भएका छन् । त्यसैगरी खुल्ला सदस्य तर्फ विपिन श्रेष्ठ, मानकृष्ण आचार्य र भरतबहादुर कुताल विष्ट चयन भएका छन् भने महिला सदस्य तर्फ भवानी अधिकारी रिमाल र पुष्पकला मिश्र चयन भएका छन्।

लमजुङ उद्योग वाणिज्य संघ निर्वाचन समितिको निर्वाचन तालिका बमोजिम उम्मेदवारी मनोनयन पश्चात् उजुरीको समयावधिमा कुनैपनि उजुरी नपरेपछि दोस्रो पटक उम्मेदवारको नामावली प्रकाशन गरेको हो । कुनै दाबी विरोध नपरेकाले सर्वसम्मत समितिको नामावली प्रकाशन भएपनि निर्वाचन समितिले अन्तिम नामावली भने प्रकाशन गर्न बाँकी रहेको जनाएको छ ।

अघिल्ला अधिवेशनहरुमा संघको नेतृत्वका लागि महिनौ अघिदेखि चुनावी चहलपहल हुने गरेको भएपनि यसपटक भने संघमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । प्रत्येक तीन वर्षमा हुने संघको अधिवेशनमा नयाँ नेतृत्वका लागि महिनौ अघिदेखि उम्मेदवारको चर्चा हुने गरेको थियो । तर, यसवर्ष अधिवेशन आउन एक साता बाँकी रहँदै नयाँ कार्यकालका लागि सर्वसम्मति नयाँ नेतृत्व चयन भएको छ ।

लमजुङ उद्योग वाणिज्य संघको जिम्मेवारी, संघले गर्दै आएका काम कारबाहीका कारण पनि संघमा नेतृत्व लिन होडबाजीनै चल्ने गरेको थियो । तर, पछिल्लो समय मुलुकमा संघीयता कार्यन्वयन भएसँगै संघको कार्यक्षेत्र पनि घट्दै गएपछि संस्था नेतृत्वमा आकांक्षीहरु कम हुँदै गएको अग्रज व्यवसायीहरुको भनाई छ । संघको जिम्मेवारी तथा काम कारवाहि कम हुँदै गएको अवस्थामा अव संघको प्रतिष्ठालाई जिवित राख्न चुनावी भन्दा पनि सर्वसम्मत नेतृत्व चयन गर्न व्यवसायीहरुले सुझाव दिँदै आएका थिए ।

तीन वर्षे कार्यकाल रहेको समितिले यहि पुसको २६ गतेबाट औपचारिक रुपमा साधारण सभा एवं अधिवेशन गर्ने भएको छ । पुस २६ गते स्थापना दिवसको अवसरमा साधारण सभा एवं अधिवेशनको औपचारिक सुरुवात गर्ने संघले जनाएको छ ।

२०३२ पौष २६ गते स्थापना भएको लमजुङ उद्योग वाणिज्य संघ अन्तर्गत जिल्लाका विभिन्न स्थानमा गरी १० वटा इकाई रहेका छन् । बेसीशहर नगरपालिका, सुन्दरवजार र मध्यनेपाल अन्तर्गत दुई-दुईवटा, राईनास नगरपालिका र मर्स्याङ्दी गाउँपालिका अन्तर्गत एक-एक वटा इकाई रहेका छन् ।

सो बाहेक यसैवर्ष क्होलासाँथार र दोर्दीमा पनि नयाँ इकाई स्थापना भएका छन् । संघमा बस्तुगत र एशोसियट गरी दुईवटा सँस्थागत प्रतीतिनिधि छन् । दुधपोखरी गाउँपालिका अन्तर्गतका व्यवसायीहरु राईनास इकाईमा आबद्ध रहेको संघले जनाएको छ ।