चितवनमा बोराभित्र भेटिएको दुवै शवको पहिचान

0
Shares

काठमाडौँ।

चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ स्थित मिलनचोकमा गत मंसिर ६ गते बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हत्या गरेर बोरामा शव पोको पारेर फालिएका पुरुष र महिला दुवै भारतीय नागरिक हुन् ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार विवाहेत्तर सम्वन्धका कारण उक्त घटना भएको पाइएको छ। विवाहेत्तर सम्वन्ध थाहा पाएपछि महिलाका श्रीमानले भरतपुर बसपार्क नजिकै दुवै जनाको हत्या गराएको प्रहरीको भनाइ छ ।

भारत मोतिहारीका उनीहरु चितवनको भरतपुरमा व्यापार गरेर बस्ने गरेका थिए । उनीहरुको हात, खुट्टा र घाँटी डोरीले बाँधेर हत्या गरी कल्भर्ट मुनि फालिएको अवस्थामा शव भेटिएको थियो ।

शवको पहिचान लामो समयसम्म नभएपछि प्रहरीले पहिलोपटक हुलिया र दोस्रोपटक उनीहरुको स्केच सार्वजनिक गरेको थियो ।

अनुसन्धानको क्रममा शवको ३ हप्ता अघि नै पहिचान खुलेको र हत्यामा संलग्न व्यक्ति भारतमै अर्को एक हत्यामा संलग्न भएको पाइएको चितवन प्रहरीले जनाएको छ । उनी भारतकै प्रहरी नियन्त्रणमा रहेकाले नेपाल ल्याउन नमिलेको प्रहरीको भनाइ छ । हत्यामा संलग्न व्यक्तिसँग बयान लिन नेपाल प्रहरीको एक टोली भारतको बिहार नै पुगेको थियो ।