राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारको मनोनयन दर्ता



काठमाडौं ।

यही माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि आज सोमबार उम्मेदवारको मनोनयन दर्ता गरिने भएको छ। निर्वाचन आयोगका अनुसार सातवटै प्रदेशको सदरमुकाम रहेको जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गराउनुपर्ने छ।

बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिने छ । आयोगले उम्मेदवारको मनोनयन दर्ता गराउनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।

आयोगले उम्मेदवारको मनोनयन दाखिला गर्नका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा र १० हजार रुपियाँ धरौटी जम्मा गरेको रसिद वा भौचर समावेश गर्नुपर्ने छ। तर, महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुनेछ।

साथै आर्थिक रूपमा विपन्न भएको भनी सम्बन्धित स्थानीय तहले सिफारिस गरेको सिफारिसपत्र संलग्न हुनुपर्ने आयोगले जनाएको छ। त्यसै गरी दलको उम्मेदवारको हकमा उम्मेदवार मनोनयनको औपचारिक पत्र, राष्ट्रिय सभा सदस्य निर्वाचन पदको लागि दलित समूहबाट उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानुनबमोजिम अधिकार प्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पेश गर्नुपर्नेछ।

त्यसै गरी अपांगता भएका वा अल्पसंख्यक समुदायबाट उम्मेदवारी दिनेले नेपाल सरकारको अधिकार प्राप्त निकायले दिएको अपांगता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र अल्पसंख्यक समुदायको व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानुनबमोजिम अधिकारप्राप्त निकायले दिएको अल्पसंख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा संलग्न गर्नुपर्ने पनि आयोगले भनेको छ।

प्रस्तावक र समर्थकको नाम र तिनको मतदाता नामावली नाम भएको व्यहोरा खुल्ने कागजात, उम्मेदवारको सम्पत्ति विवरण, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने कुनै लाभको पदमा बहाल नरहेको भनी गरेको स्वघोषणा पत्र चाहिने भनिएको छ।

मतदाताको अन्तिम नामावली प्रकाशित

आइतबार सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ। प्रकाशित नामावलीअनुसार कोशी प्रदेशमा प्रदेश सभा सदस्यतर्फको मतदाता संख्या ९३ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतदाता संख्या २ सय ७४ गरी जम्मा ३ सय ६७ जना मतदाता कायम भएका छन् ।

सो अनुसार कोशी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४ हजार ९ सय २९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतभार ५ हजार २ सय ६ गरी जम्मा १० हजार १ सय ३५ मतभार कायम हुनेछ।

मधेस प्रदेशमा प्रदेश सभा सदस्यतर्फको मतदाता संख्या १ सय ७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता २ सय ६७ गरी जम्मा ३ सय ७४ जना मतदाता कायम भएका छन्।

सो अनुसार मधेस प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ५ सय ६ सय ७१ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतभार ५ हजार ७३ गरी जम्मा १० हजार ७ सय ४४ मतभार कायम हुनेछ ।

वागमती प्रदेशमा प्रदेश सभा सदस्यतर्फको मतदाता संख्या १ सय १० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतदाता संख्या २ सय ३७ गरी जम्मा ३ सय ४७ जना मतदाता कायम भएका छन् ।

सो अनुसार वागमती प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ५ हजार ८ सय ३० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ४ हजार ५ सय ३ गरी जम्मा १० हजार ३३ सय ३ मतभार कायम हुनेछ।

गण्डकी प्रदेशमा प्रदेश सभा सदस्यतर्फको मतदाता संख्या ६० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतदाता १ सय ७० गरी जम्मा २ सय ३० जना मतदाता कायम भएका छन्।

सो अनुसार गण्डकी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ३ हजार १ सय ८० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतभार ३ हजार २ सय ३० गरी जम्मा ६ हजार ४ सय १० मतभार कायम हुनेछ।

लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यतर्फको मतदाता संख्या ८७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतदाता २ सय १८ गरी जम्मा ३ सय ५ जना मतदाता कायम भएका छन्।

सो अनुसार लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४ हजार ६ सय ११ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतभार ४ हजार १ सय ४२ गरी जम्मा ८ हजार ७ सय ५३ मतभार कायम हुनेछ।

कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यतर्फको मतदाता संख्या ४० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतदाता १ सय ५६ गरी जम्मा १ सय ९६ जना मतदाता कायम भएका छन्।

सोअनुसार कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यको मतभार २ हजार १ सय २० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतभार २ हजार ९ सय ६४ गरी जम्मा ५ हजार ८४ मतभार कायम हुनेछ।

सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्यतर्फको मतदाता संख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतदाता संख्या १ सय ७६ गरी जम्मा २ सय २८ जना मतदाता कायम भएका छन्।

सो अनुसार कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यको मतभार २ हजार ७ सय ५६ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतभार ३ हजार ३ सय ४४ गरी जम्मा ६ हजार १ सय मतभार कायम हुनेछ।

कुल मतदातामध्ये प्रदेश सभाका सदस्यको प्रतिमतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रतिमतदाता मतभार १९ कायम गरिएको छ।

आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रदेश सभा सदस्यको कुल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार ४ सय ६२ गरी जम्मा ५७ हजार ५ सय ५९ मतभार रहेको छ।

प्रतिक्रिया दिनुहोस्